‘हामीले शानदार फुटबल खेलेर खेल जित्यौँ, रेफ्रीले न्याय गरेनन्’- प्रशिक्षक स्टिमाच

काठमाडौं। नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेलमा भारत २-१ गोलले विजयी भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आईतवार साँझ खेलिएको खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरीको खेल खेलेका थिए। पहिलो हाफमा निकै शानदार फुटबल खेलेको नेपालले गोल भने गर्न सकेको थिएन।

दोस्रो हाफको ६२औं मिनेटमा भारतले अग्रता लिएको थियो। भारतका लागि स्ट्राइकर फारुख चौधरीले गोल गर्दै आफ्नो टोलीको खाता खोलेका थिए। खेलको ८०औं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले पाहुना टोलीको अग्रता दोब्बर बनाए। क्षेत्रीले मैदानको मध्य भागबाट एक्लैले बल लगेर शानदार सोलो गोल गर्न सफल भएका थिए।

तर नेपालले खेलको ८७औं मिनेटमा तेज तामाङको उत्कृष्ट गोलमार्फत खेलमा फर्किने प्रयास गरेको थियो। खेलको अन्तिम मिनेटसम्म पनि छिमेकी राष्ट्र भारतमाथि दबाब कायम गरेको नेपालले बराबरी गोल भने गर्न सकेन। जित पछिको पोस्ट म्याच कन्फरेन्समा भारतका मुख्य प्रशिक्षक इगोर स्टिमाचले आफ्नो टोलीले शानदार प्रदर्शन गरेको बताए।

“हामीले शानदार प्रदर्शन गर्यौं, जित हाम्रै हुनु पर्ने थियो र त्यो नै भयो”, स्टिमाचले बताएका थिए। “नेपालले पनि आफ्नो खेलमा धेरै सुधार गरेको छ र हामीलाई पहिलो गोल गर्न केही समय लागेको थियो, त्यसमा रेफ्रीले पनि हामीलाई साथ दिएनन्”, स्टिमाचले थपे।

“हामी यहाँ रेफ्रीको गलत निर्णय हेर्न आएका होइनौं, हामी नेपालसँग प्रतिस्पर्धात्मक मैत्रीपूर्ण खेल खेल्न आएका हौं”, उनले भनेका थिए। उनले पहिलो खेलभन्दा मैदानमा केही सुधार आएको पनि बताए। “पहिलो खेल भन्दा मैदान पनि राम्रो थियो, त्यसले पनि साथ दिएको छ, हामीले साफ च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्न अझै धेरै राम्रो खेल्नुपर्ने हुन्छ”, स्टिमाचले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?