काठमाडौं। नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेलमा भारत २-१ गोलले विजयी भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आईतवार साँझ खेलिएको दोस्रो खेलमा भारतका फारुख चौधरी र कप्तान सुनिल क्षेत्रीले गोल गरेका थिए। नेपालका लागि मिडफिल्डर तेज तामाङले उत्कृष्ट सान्त्वना गोल गरेपनि नतिजा भारतको पक्षमा गएको थियो।
खेल पछिको पोस्ट म्याच कन्फरेन्समा नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाली खेलाडीहरुले शानदार प्रदर्शन गरेको बताए। “यो परफेक्ट खेल हो, हामीले शानदार प्रदर्शन गरेका थियौँ, हो, नतिजा हाम्रो पक्षमा आउन सकेन, तर म आफ्नो टिमसँग एकदमै खुशी छु”, अल्मुताइरीले भने।
उनले नेपालले पाएको मौकाको सदुपयोग गर्न नसकेको पनि बताए। “हामीले पाएको मौकाहरुलाई उपयोग गर्न सकेनौँ, पहिलो हाफमा भारतले चार पटक गल्ती गरेको थियो, हामीले सो मौकामा गोल गर्न सकेनौं”, उनले थपे। “खेलाडीले राम्रो खेलेका हुन्, उनीहरूप्रति रुष्ट नहुनु, हामीले खेलमा राम्रो प्रदर्शन गरेका हौं”, अल्मुताइरीका शब्द थिए।
उनले नतिजा आफ्नो पक्षमा नआएपनि आफू सन्तुष्ट रहेको बताए। “तपाईँ नतिजालाई बिर्सिदिनुहोस्, नेपालको खेल मनपर्यो ?” उनले पत्रकार सम्मेलनमा सोधेका थिए। “हाम्रो टार्गेट साफ च्याम्पियनसिप हो, र हामीले साफ कप उपाधि जित्ने लक्ष्य बोकेका छौं”, प्रशिक्षक अल्मुताइरीले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया