काठमाडौं । सेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकले तोकेको सीमाको विरोध गर्दै लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् ।
सेयर धितो कर्जाको सीमाका कारण रुष्ट बनेका लगानीकर्ताहरुले आज (सोमबार) काठमाडौंमा भेला भई शंकरदेव क्याम्पस अगाडिबाट वृहत र्याली निकालेर नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय, बालुवाटार अगाडि प्रदर्शन गर्ने भएका छन् ।
उनीहरुले राष्ट्र बैंकले दिनभरमा उचित कदम नलिए देशभरका लगानीकर्ता एकजुट भई राष्ट्र बैंक घेराउ गर्ने समेत चेतावनी दिएका छन्।
रामकृष्ण ढकालको संयोजकत्वमा पुँजी बजार सुधार संघर्ष समितिले आज १८ बुँदे मागसहित विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।
उनीहरुले उल्लेखित मागहरु सम्बोधन नभएमा भदौ २३ गतेदेखि २९ गतेसम्म दैनिक दिउँसो ३ बजेदेखि ५ बजेसम्म नेपाल राष्ट्र बैंकको कार्यालय अगाडि रिले अनशन बस्ने घोषणा गरेका छन्।
उक्त दबाबका बाबजुद पनि लगानीकर्ताको माग सम्बोधन नभएको खण्डमा भदौ ३० गतेदेखि पुँजी संघर्ष समितिको नेतृत्वमा नेपाल राष्ट्र बैंक अगाडि आमरण अनशन बस्ने कार्यक्रम संघर्ष समितिले तय गरेको छ ।
नेपाल राष्ट्र बैंकले गत भदौ ८ गते मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिका जारी गर्दै सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सिमित गरेको थियो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिका सार्वजनिक गर्दै सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था गरेका थिए । यो सँगै सेयर बजार निरन्तर आरालो लागिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया