अब अभिभावक नै शिक्षक, तर शिक्षकलाई बेवास्ता गरियो : शिक्षाविद्

लोकपथ
49
Shares

दिपेन्द्र अधिकारी
शैक्षिक वर्ष २०७७ मा कोर्ष पूरा गर्न ३० प्रतिशत पाठ्यभार घटाइयो । कोरोनाको चपेटामा परेको शिक्षालाई थोरै समयमा सिकाइ उपलब्धि हाँसिल गर्नको लागि पाठ्यक्रम विकास केन्द्रले पाठ्क्रम समायोजना गरेको थियो ।

विद्यार्थी पठन–पाठनबाट वञ्चित छन्, सिकाइ उपलब्धि कसरी हाँसिल हुन्छ ? केन्द्रका प्रवक्ता गणेश प्रसाद भट्टराईको उत्तर थियो, ‘अब विद्यार्थीले घरबाट सिक्छन् । पहिलो पाठशाला घर हो र घर नै सिकाइको विश्वविद्यालय हो ।’ ६४ प्रतिशत विद्यार्थी वैकल्पिक कक्षाको पहुँचबाहिर छन्, ग्रामीण भेगमा विद्यार्थी खेतीपातीमा व्यस्त छन् । तिनीहरूलाई शिक्षाको मूलधारमा कसरी ल्याउने ? भट्टराईको उत्तर थियो, ‘जनजीविकासँग जोडिएको र स्वावलम्बी सीप सिक्नु अझै ठूलो उलब्धि हो । विद्यालयमा पुस्तक पढेरभन्दा जीवनउपयोगी सीप विद्यार्थीले सिकिरहेका छन् ।’ उसो भए विद्यार्थीले विद्यालयबाहिर सिकेका ज्ञानलाई उनीहरूको प्रमाणपत्रमा कसरी ल्याउने ? अब त्यसलाई व्यवहारिक बनाउनुपर्ने उनको जवाफ थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना २०७७ मा ‘होम स्कुलिङ’को अवधारणा ल्याएको थियो । सो अवधारणा ल्याएको एक वर्षपछि मात्र कार्यान्वयन कार्यदिशा मन्त्रालयले ल्याएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘गृह विद्यालय व्यवस्थापन सहजीकरण सामग्री २०७८’मा गृह शिक्षकबाट नै बालबालिकाको पठनपाठन गराउने बाटो खुलाएको छ । अब, पढाउन सक्ने अभिभावकले विद्यालय र शिक्षकसँग समन्वय गरेर बालबालिकालाई घरमै पढाउन सक्नेछन् ।

सहजीकरणमा भएका व्यवस्था
गृह शिक्षक छनोट
बालबालिका अध्ययन गर्ने विद्यालयका प्रधानाध्यापक र शिक्षकको सहयोगमा गृह शिक्षक तोक्ने छन् । ‘गृह शिक्षक तोक्दा सकेसम्म उक्त घरमा माथिल्लो तहमा अध्ययन गरेको व्यक्तिलाई तोक्नु उपयुक्त हुनेछ । सम्भव भएसम्म विद्यार्थीको आमा, बुबा र सो नभए दाजु, दिदी, काकाकाकी, बाजेबज्यै वा परिवारका अन्य सदस्य जो पनि हुन सक्छन्,’ सहजीकरण सामग्रीमा उल्लेख छ ।

गृह शिक्षक अभिमुखीकरण
शिक्षक छनोट भएर मात्र हुँदैन उसलाई आवश्यक तालिम समेत दिइनेछ । गृह शिक्षकले तालिम लिएर बालबालिकाको सिकाइमा सहजीकरण गर्नुपर्ने हुन्छ । ‘आमनेसामने वा वैकल्पिक विधि अपनाएर गृह शिक्षकलाई २–३ घण्टाको अभिमुखीकरण प्रदान गर्नुपर्ने हुन्छ,’ केन्द्रले जारी गरेको सामग्रीमा उल्लेख गरिएको छ ।

पठन–पाठन स्थानको छनोट तथा पढाइ कुनामा व्यवस्थापन
हरेक घरमा बिहान, दिउँसो र बेलुकी पढाइ गर्ने स्थानको यकिन गर्न भनिएको छ । ‘उक्त स्थानमा बालबालिकाहरूका पुस्तक, स्थानीयस्तरमा निर्माण गरिएका सामग्रीहरू व्यवस्थापन गर्ने, बालबालिकाहरूका पढ्ने सामग्रीहरू सबै त्यहीँ मिलाएर राख्ने । तोकिएको गृह शिक्षकले त्यहीँ गएर हरेक दिन बालबालिकाको पठनपाठनमा सहयोग गर्ने,’ सामग्रीमा उल्लेख गरिएको छ, ‘पढाइ कुनामा बालबालिकाले निर्माण गरेका चित्रहरू, पत्रपत्रिका, कथा, कविताका पुस्तकहरू, पाठ्यपुस्तक, कापी तथा पठनपाठनका सामग्री व्यवस्थापनमा सहयोग गर्ने ।’

दैनिक कार्यतालिका निर्माण
बालबालिकाले दिनभर गर्ने क्रियाकलाप समेटी गृह शिक्षकले दैनिक कार्यतालिका बनाउन सहयोग गर्नुपर्ने हुन्छ । त्यस्तै, दैनिक कार्यतालिकामा सिकाइ क्रियाकलापका साथै खेलकुद, मनोरञ्जन र घरायसी कार्यमा सहयोगका लागि निश्चित समय छुट्याउनुपर्ने हुन्छ ।

सिकाइ सामग्रीको व्यवस्थापन र प्रयोग
विद्यालयसँग समन्वय गरी सबै बालबालिकालाई पाठ्यपुस्तक उपलब्ध गराउन भनिएको छ । ‘आवश्यक तथा उपलब्ध हुनसक्ने पत्रपत्रिका, कथा, कविता, पुस्तकहरू, चित्र, कक्षागत पुराना किताबहरू आदिको व्यवस्थापन गर्ने’, सामग्रीमा भनिएको छ ।

सञ्चारमाध्यमको पहुँच हुने स्थान भएमा जुन साधनको प्रयोगबाट सिकाइ हुने हो, त्यहाँ प्रसारण हुने कार्यक्रमको तालिकाअनुसार बालबालिकाको समय व्यवस्थापन गर्ने र बालबालिकालाई अध्ययनमा संलग्न गराउन भनिएको छ ।

कुनै पनि सूचना तथा सञ्चारका साधनको पहुँच नभएका बालबालिकालाई स्थानीय वा स्थानीय गैरसरकारी संस्थासँग समन्वय गरी घरमै आधारित स्वअध्ययन सामग्रीहरू उपलब्ध गराउन भनिएको छ ।

सम्भव भएको ठाउँमा विद्यालयबाट दैनिक रूपमा सिकाइ चौतारीमा भएको टेलिफोनमार्फत घरमा नै गराउन सकिने पाठ्यक्रममा आधारित क्रियाकलाप डाउनलोड गरेर टेलिफोनमार्फत शिक्षकले गृह शिक्षकलाई उपलब्ध गराउन केन्द्रले भनेको छ ।

सिकाइ सहजीकरण
घरमा सबै बालबालिकालाई तोकिएको सिकाइ कुनामा बसाएर दैनिक कार्यतालिकाबमोजिम सिकाइमा संलग्न गराउनुपर्ने हुन्छ ।
सहजीकरण सामग्रीमा आफूले सिकाउन सक्ने विषयवस्तु आफैँले सहजीकरण गर्ने वा माथिल्लो कक्षाका बालबालिकाले तल्लो कक्षाका बालबालिकालाई सिकाउने व्यवस्था गर्न भनिएको छ ।

बालबालिकालाई सिकाउनका लागि गृह शिक्षकले नसक्ने वा माथिल्लो कक्षाका दाजु दिदी नभएमा स्वअध्ययनमा अभिप्रेरित गर्ने वा अनलाइन कक्षाको पहुँच भएमा सोको माध्यमबाट सिकाइ सहजीकरण गर्ने र शिक्षकलाई सम्पर्क गरी बालबालिकाको सिकाइमा सहयोगका लागि अनुरोध गर्न भनिएको छ । स्थानीयस्तरमा उपलब्ध पत्रपत्रिका, कथा÷कविताका पुस्तकहरू पढ्न सहयोग गर्न पनि भनिएको छ ।

शिक्षकसँगको सहकार्य
बालबालिकाले पढ्ने विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूको सम्पर्क नम्बर एउटा छुट्टै कापीमा वा पढाइ कुनामा बालबालिकालाई र गृह शिक्षकलाई सजिलै उपलब्ध हुने गरी राख्नुपर्ने हुन्छ ।

यदि गृह शिक्षक वा घरका अभिभावकलाई सम्पर्क नम्बर छ भने शिक्षकलाई पनि उपलब्ध गराई आवश्यकताअनुसार बालबालिकाको सिकाइ सहजीकरणका लागि सम्पर्क गर्ने कुरा पनि बताउनुपर्ने हुन्छ ।

बालबालिकाको घरमै सिकाइ सुनिश्चतताका लागि विद्यालयले तोकेको शिक्षक तथा आफ्नै समुदायमा भएको शिक्षक तथा स्थानीय तहले परिचालन गरेको स्वयंसेवक शिक्षकसँग सहकार्य गर्नुपर्ने हुन्छ ।

बालबालिकाको अभिलेखीकरण
तोकिएको शिक्षकले बालबालिकाहरूले गरेका क्रियाकलापका बारेमा घरमै भेटी वा वैकल्पिक माध्यमबाट जानकारी लिने र त्यसको अभिलेखीकरण गर्ने सामग्रीमा उल्लेख गरिएको छ । सिकाइमा कमजोर देखिएका बालबालिकालाई सम्बन्धित शिक्षकले थप सहयोग गर्न केन्द्रले भनेको छ ।

विद्यार्थी मूल्यांकन
बालबालिकाले घरमा सिकेका विषयवस्तु समेत समेटेर विद्यालयले विद्यार्थीको निरन्तर मूल्यांकनको व्यवस्था गरिएको छ । ‘महामारीका कारण बालबालिकाको फेस टु फेस पढाइ नहुने अवस्थामा अभिभावकले सहजीकरण गर्न सकिन्छ । अभिभावकले विषयगत रूपमा सहजीकरण गर्ने वा पढाइको तालिका बनाइदिने हो ।

‘जिम्मेवार शिक्षक कि कर्मचारी ?’
प्रा.डा. विद्यानाथ कोइराला शिक्षाविद्
यो काम शिक्षकको हो कि यिनिहरूको (कर्मचारी) हो ? एउटा समूह बनाउने त्यसको गतिविधि जनाउ गर्ने, छिमेकीले छान्ने त्यो नचाहिने नचाहिने प्रक्रिया चाहिने हो ? कि शिक्षलाई भन्ने हो तपाईंले के गर्ने भनेर ?, पारिश्रमिकको कुरा पनि छैन । अभिभावकले छान्न सक्ने कुराकानी छ, त्यसलाई संस्थागत गर्नुपर्ने हो कि शिक्षकलाई जिम्मेवार बनाउनुपर्ने हो ? त्यो त शिक्षकले खोज्ने हो नि कसरी पढाउने ? अभिभावकमार्फत पढाउने हो भने म कसरी पढाउन सक्छु, शिक्षक नै जानुपर्ने भए म कसरी जान सक्छु, प्रविधि प्रयोग गर्ने भए कसरी प्रयोग गर्न सक्छु ? यो काम शिक्षकको हुनेपर्ने अब किन बनाइरहेका छन् ? संघीय सरकारका कर्मचारी किन यसरी नचाहिने कुरामा लागिरहेका छन् ? शिक्षकले बाटो निकाल्नुपर्ने हो । सधैँ विद्यालय जाने विद्यार्थी र शिक्षक हुन् । विद्यार्थीले काम गर्दैनन्, ऊ गइदिएको मात्र हो । गर्ने त शिक्षकले हो । सहजीकरणको प्रबन्ध गर्ने काम शिक्षकको हो । गृह शिक्षा भनियो यो पश्चिमा शिक्षासँग पनि मिल्दैन । उनीहरूको म घर बस्छु भने मेरो नातिनातिनालाई मैले पढाउने हो । अहिले नेपालीकरण गरिएको होला । नेपालीकरण गर्दा पिँढी शिक्षा थियो सरदार भीमबहादुर पाण्डेको पालमा जस्तो । पिँढीमा बस्ने, ५–७ जना जम्मा पार्ने छिमेकीले पढाउने त्यसलाई गृह शिक्षा भन्ने नाम राखे । त्यो परिस्थिति हो कि होइन भन्ने शिक्षकले गर्ने काम हो । पढाउने पद्धति, परिचालन गर्नुपर्ने व्यक्तिहरू कसरी खटाउने भन्ने कुरा शिक्षक वा शिक्षक महासंघलाई दिइएको भए विभिन्न डिजाइनले आउँथ्यो । तर, कर्मचारीले बनाइदिए, आदेश दिए । त्यो काम शिक्षकले गर्छन् कि गर्दैनन् भन्ने कुरा हो । अहिले ट्यूटोरियल सेन्टर बनाइदिए ।

कहाँबाट सुरु भयो होम स्कुलिङ ?
युरोप अमेरिकामा भने यसअघि नै होमस्कुल प्रचलित छ । १९७० को दशकमा ‘डि स्कुलिङ सोसाइटी’ भन्ने अभियान चलाइयो । त्यो अभियानमा अब स्कुल भत्काऔँ र त्यसको साटो नेटवर्क बनाऔँ भन्ने हो । सिकाइको कुरा समूहमा हुनेबित्तिकै लर्निङ नेटवर्क हुन्थ्यो । घरमा शिक्षित बुबाआमा हुन्छन् । उनीहरूले आफ्नो बच्चालाई घरमै पढाउन सक्छन् । यही अवधारणाका साथ होम स्कुलिङको सुरुवात भएको हो ।

अमेरिकाको आमिस जातिका मानिसहरू टेलिभिजन हेर्न चाहँदैनन्, मोबाइल नबोक्ने, जुत्ता नलगाउने, गाडी घरमा नलैजाने गर्छन् । उनीहरूले आफ्ना बालबालिकालाई विद्यालयमा पढाउन पनि पठाउँदैनन् । आफ्ना बालबालिकालाई घरमै पढाउँछन् । आफ्नो धर्म, कला, संस्कृति घरमै सिकाउँछन् ।

दोस्रो डिजाइन भनेको घरमा सिकाए पनि जाँच भने विद्यालय प्रणलीमा लिन लगाउँछन् । अभिभावकले घरमा नै विद्यालय शिक्षा पढाउँछन् । अर्को समकक्षता पढाउँछौँ र समकक्षता स्वीकार गर्ने भन्ने डिजाइन होम स्कुलिङ चलेको हुन्छ ।

गृह विद्यालय व्यवस्थापन सहजीकरण सामग्रीको पूर्णपाठ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?