सेयर बजारमा व्यापक उतारचढाव : पुँजीबजारको सुधारमा सरकार नै गैरजिम्मेवार

लोकपथ
63
Shares

काठमाडौं । पछिल्लो समय सेयर बजारमा व्यापक उतारचढाव आइरहेको छ । केही समययता मात्र दिनहुँजसो नयाँ रेकर्ड राख्दै आएको बजारमा पछिल्लो ठूलै उतारचढाव देखिन थालेको हो ।

नेपाल राष्ट्र बैंकले गत भदौ ८ गते मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिका जारी गर्दै सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सीमित गरेको थियो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिका सार्वजनिक गर्दै सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था गरेका थिए । योसँगै सेयर बजार निरन्तर आरालो लागिरहेको थियो ।

केहि दिनदेखि निरन्तर ओरालो लागिरहेको बजारमा हिजो (आइतबार) र आज व्यापक उतारचढाव आएको छ । आइतबार १०८.२६ अंकले घटेर २८१८.७२ विन्दुमा पुगेको बजार आज १६१.९४ अंकले बढेर २९८०.७९ विन्दुमा पुगेको छ । यसरी २ दिनलाई हेर्ने हो भने सेयर बजारमा व्यापक र अस्वाभाविक उतारचढाव आएको छ । बढ्नु र घट्नु बजारको प्रकृति नै हो । एउटा विन्दुमा पुगेपछि बजारमा करेक्सन आउँछ नै । तर एक दिनमै नेगेटिभ सर्किट लाग्नु र अर्को दिनमै पोजिटिभ सर्किट लाग्नुले चाहिँ बजारमा ठूलै चलखेल भएको लगानीकर्ताहरु बताउँछन् ।

सुझबुझपूर्ण लगानीको अभाव भएकोले नै बजारमा उतारचढाव आएको युवा लगानीकर्ता तथा नेपाल पुँजीबजार विकास अभियानका संयोजक तिलक कोइराला बताउँछन् ।

धरै लगानीकर्ताहरु चाहिँ ठूला लगानीकर्ताको इसारामा चलेकै कारण बजार उतारचढाव उनको तर्क छ । हल्लाकै भरमा लगानी गर्नु नै बजारमा बारम्बार उतारचढाव आउनुको कारण हो । उनी भन्छन्, “अहिलेको बजारमा म्यानुपोलुसन बढिरहेको छ । केहि व्यक्तिहरुले चलखेल गर्ने र धरै लगानीकर्ताहरु उनीहरुकै इशारामा चल्ने गरेको कारण नै हिजो र आजको अवस्थामा फरक परेको हो । हिजो आत्तिएर बेचिहाल्नुपर्ने र आज मात्तिएर किनिहाल्नुपर्ने अवस्था पनि होइन । बजारमा सुझबुझपूर्ण लगानीको अभाव छ । कल्बहाउस, सामाजिक संजाल, विभिन्न अनलाइनहरुजस्ता माध्यमहरु र मुखामुख माध्यमबाट केहि सीमित व्यक्तिहरुले जसरी सूचना प्रवाह गर्छन्, त्यहि आधारमा धेरै लगानीकर्ताहरु बहकिदाको परिणामलाई हिजो र आजको रुपमा लिन सकिन्छ ।”

बजारमा उतारचढावको आउनुको अर्को कारण राष्ट्र बैंक भएको कुराहरु पनि बाहिर आएको भन्दै पुँजीबजारलाई सुधारमा ल्याउने जिम्मा अर्थमन्त्री, अर्थमन्त्रालय र धितोपत्र बोर्ड र नेप्सेको भएकोले राष्ट्र बैंकलाई दोष दिनु र राष्ट्र बैंकको थाप्लोमा यो जिम्बेवारी सुम्पिनु अर्थमन्त्रालयको गल्ति भएको उनले बताए ।

“वाणीज्य बैंक, ब्रोकर लाइसेन्स, ठूला ब्रोकर कम्पनी, व्यक्तिगत अथवा संस्थागत ठूला ब्रोकर कम्पनीलाई लाइसेन्स, प्रतिस्पर्धात्मक ब्रोकर कमिसन, मार्जिन ट्रेडिङको व्यवस्था लगायतका बजार व्यवस्थापन गर्ने लगायत बजारमा जति कुरा चाहिने हो, जति कुरा ल्याउँछौ भनेर अर्थमन्त्रालयले ३ वर्ष अगाडि भनेको थियो त्यो कुरा चाहिँ सिन्को नभाँच्ने अनि पुँजीबजार सुधार गर्न कदम चाल भनेर चाहिँ राष्ट्र बैंकलाई आदेश दिने ?” उनले भने यी कुराहरुले बजारलाई स्वचालित र साना लगानीकर्तालाई सुरक्षित नबनाउने पनि उनले बताए ।

बजारलाई क्षणिक रुपमा खेलाडीहरुले खेल्ने माध्यम बनाए पनि बजारको दिर्घकालिन स्थायित्वमा केहि फरक नपार्ने उनको तर्क छ । राष्ट्र बैंकले तोकेको सेयर धितो कर्जा सीमाले केहि ठूला लगानीकर्तालाई प्रभाव परेकै हुन् तर सेयर धितो कर्जाले मात्र बजार चल्छ भन्नु ठूलो भ्रम भएको पनि उनले बताए ।
सेयर बजारलाई सेयर धितो कर्जा भन्दा पनि ब्रोकरमार्फत हुने मार्जिन ट्रेडिङको व्यवस्था गर्न सकियो भने सेयर बजारको स्थायित्वमा ठूलो भूमिका खेल्ने उनको भनाइ छ ।

बजारलाई चलायमान बनाउनको लागि कारोबार रकमलाई निरन्तर राख्नका लागि मार्जिन ट्रेडिङ एकदम महत्वपूर्ण रहेको पनि उनले बताए ।
जुन निकायले सेयर बजारको नियन्त्रण गर्नुपर्ने त्यतातिर नलागेर अर्थमन्त्रालयले यो जिम्बेवारी राष्ट्र बैंकको टाउकोमा राख्नु अर्थमन्त्रीको गैरजिम्मेवारीपना भएको उनले बताए।

एकैदिन बजार घटाउने अनि बढाउने गर्यो भने बजार जोखिमपूर्ण रहने उनले बताए । यो विषयमा सम्बन्धित निकायको गैरजिम्मेवारीपाना रहेको उनको भनाइ छ ।

पुँजीबजारको सुधारमा अर्थमन्त्रालय आफैं गैरजिम्मेवार बनेको राष्ट्र बैंकको थाप्लोमा दोषको भारी थुपारेको कोइरालाको आरोप छ ।

साथै कम्पनीको अध्ययन गरेर मात्र लगानी गर्न समेत उनले लगानीकर्तालाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?