काठमाडौं । हिन्दू नारीहरुको महत्वपूर्ण चाड हरितालिका तीजको आजबाट सुरु भएको छ । तीजको पहिलो दिन आज दर खाने प्रचलन रहेको छ । भोलि व्रत भएकोले दिउँसोभरि नाचगान गर्दै नारीहरुले पीडा पोख्दा चर्को घाममा उनीहरुलाई समस्या नहोस् भनेर दर खाने प्रचलन रहेको छ ।
हरितालिका तीजको अघिल्लो दिन दर खाएर भोलिपल्ट व्रत बसी पूजाआजा, नाचगान तथा दिदीबहिनी भेटघाट गर्ने चलन छ । काठमाडौं उपत्यका लगायत शहरी बेगमा भने एक महिना अघिदेखि तीजको रमझम सुरु हुने गर्छ ।
अहिले भने विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको उत्पन्न विषम परिस्थितिका कारण तीजको चहलपहलमा कमि आएको छ । कोरोनाले निम्त्याएको महामारीका कारण पछिल्लो समय विगतका वर्षहरुमा जस्तो तीजको रौनकता नदेखिएको हो ।
तर स्वास्थ्य मापदण्ड पनि दिदीबहिनीहरु एकै ठाउँमा भेला भएर तीजलाई रमाइलो बनाउन सकिन्छ । तीजमा दिदीबहिनीहरु एकै ठाउँमा भेला भएर नाँचगान गर्नुको मज्जा नै छुट्टै छ । आज हामी तपाईहरुलाई तीजमा मिठो दर कसरी बनाउने सोबारे जानकारी दिन गइरहेका छौँ ।
दर के हो ? कसरी पकाउने ?
तीजमा पकाइने दर एक विशेष प्रकारको दूधजन्य खाना हो । आफ्नो इच्छा र चाहनाअनुसार अन्य समयमा खाए पनि हरितालिका तीजको पहिलो दिन भने ‘दरखाने दिन’ कै नामले प्रख्यात छ ।
यसरी बनाउनुस् मीठो दर
आवश्यक सामग्री
(१) चामल (आवश्यकताअनुसार, परिवार सदस्यको आधारमा निर्धारण गर्नुहोस्)
(२) दूध (आवश्यकताअनुसार, चामलको मात्रा हेरेर, लगभग आधा केजी चामलबराबर ३ लि.)
(३) घ्यू (तयार गरिएको चामल भुट्न पुग्नेगरी)
(४) मरमसला (नरिवल, काजु, बदाम, छोकडा, ल्वाङ, सुकमेल, मरिच, जाइदानो जाइफलको धुलो)
(५) चिनी (आवश्यकता र स्वादअनुसार)
(६) कराइ (उपलब्ध भएसम्म किटको नत्र अलि बाक्लो पिँध भएको ठूलो कराइ)
(७) काक्रोको अचार
(८) आलु र करेला तथा बोडीको तरकारी
पकाउने तरिका
(१) कराई राम्रोसँग तताउनुहोस् ।
(२) तातेको कराइमा घ्यू राख्नुहोस् ।
(३) घ्यू राम्रोसँग ततेपछि चामल राख्नुहोस् ।
(४) सानो आगो पारेर चामललाई राम्ररी खैरो हुने गरी भुट्नुहोस् ।
(५) चामल खैरो भइसकेपछि घ्यूबाट छुट्याएर कुनै भाँडामा खन्याउनुहोस्, चामल डढ्न नदिनुहोस्, कराइलाई आगोबाट निकाल्नुहोस् र सेलाउन दिनुहोस् ।
(६) यो समयमा आवश्यक मरमसला तयार गर्नुहोस् । स्वादअनुसार नरिवल, काजु, बदाम, छोकडालाई कोरेसोमा कोरेर वा मसिनो गरी काटेर तयार गर्ने । ल्वाङ, सुकमेल, मरिच, जाइदानो (जाईफल) लाई भने पिसेर धुलो बनाउने ।
(७) निकालेको चामल सेलाई सकेपछि पुन कराईमा राखेर आगोमा बसाउने ।
(८) अब दुध आवश्यकताअनुसार राख्ने र राम्रोसँग चलाई रहने ।
(९) दुध सुक्न लागेपछि चिनी राख्ने र राम्रोसँग चलाउने । (चिनीलाई दूध सुक्न नपाई कहिले पनि नहाल्नुहोस् यसो गर्दा चामल डढ्छ)
(१०) अब तयार गरेको मरमसला सबैतिर पुग्नेगरी माथिबाट छर्नुहोस् र राम्रोसँग चलाउनुहोस् ।
(११) दुध राम्रोसँग सुकिसकेपछि कराईलाई आगोबाट निकाल्नुहोस् । केहीबेर सेलाउन दिनुहोस् तर नछोप्नुहोस् ।
(१२) अब दर तयार भयो आवश्यकता र उपलब्धताअनुसार तरकारी र अचार राखेर खानुहोस् । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया