सेयर बजारमा भारी गिरावट, ‘हल्ला र चलखेलले लगानीकर्ता आत्तिए’

लोकपथ
112
Shares

काठमाडौं । पछिल्लो समय सेयर बजारमा ठूलै उतारचढाव आउन थालेको छ । साताको पहिलो दिन १०८.२६ अंकले घटेको बजारमा सोमबार ‘बाउन्स व्याक’ आएको थियो । सोमबार बजारमा १६१.९४ अंकको वृद्धि भएको थियो । सोमबार मात्र १६१.९४ अंकले बढेको बजारमा आज (मंगलबार) पुनः करेक्सन देखिएको छ ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक ४४.१८ अंकले घटेर २९३६.६० अंकमा पुगेको छ ।

यता सेन्सेटिभ परिसूचक ५.०५ अंकले घटेर ५४८.३५ बिन्दुमा पुगेको छ । आज कुल २२२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ३५ कित्ता सेयर खरिदबिक्री गर्दा ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १६१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । आज कारोबार रकममा पनि गिरावट आएको छ ।

आइतबार कुल १३ उपसमूहमा २ वटा उपसमूहको सेयरमूल्य बढेको छ, भने बाँकी ११ वटा समूहको सेयर घटेको छ ।

नेपाल राष्ट्र बैंकले गत भदौ ८ गते मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिका जारी गर्दै सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सीमित गरेको थियो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिका सार्वजनिक गर्दै सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था गरेका थिए । योसँगै सेयर बजार निरन्तर आरालो लागिरहेको छ।

हल्ला र चलखेलका कारण सेयर बजारमा अस्वाभाविक उतारचढाव आइरहेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए । बजार हल्लाकै भरमा चलिरहेको कारण आइतबार, सोमबार र मंगलबारको स्थीति सिजर्ना भएको उनको तर्क छ । नेपाल राष्ट्र बैंकले जारी गरेको सेयर धितो कर्जा सीमाको कारण ठूलो लगानीकर्तामा असर परेको र उनीहरु सेयर बेच्नै पर्ने दवाबमा रहेका कारण पछिल्लो समय सेयर बजार घटिरहेको उनले बताए ।

राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति र नियामक निकायको गैरजिम्मेवारीपनाले गर्दा बजारमा बजारमा छाएको हल्ला र अन्यौलताले गर्दा लगानीकर्ता आत्तिँदा बजारमा ठूलो प्रभाव देखिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?