काठमाडौं । प्रतिनिधि सभाको नवौँ अधिवेशन आजबाट सुरु हुँदैछ ।
सरकारले गत साउन ३२ गते मध्यराति हठात रुपमा संसद अधिवेशन अन्त्य गरेको थियो । संसद अधिवेशन अन्त्य गर्दै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको अवस्थामा आज बस्न लागेको बैठकमा केही असहजता देखिने भएको छ ।
एक त सरकारले अध्यादेश ल्याएसँगै प्रतिपक्षी दल फुटेको भन्दै एमाले सरकारसँग रुष्ट छ । अर्कोतिर एमालेले १४ सांसदलाई गरेको कारबाही सदर नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटासँग समेत एमाले रुष्ट बनेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सार्वजनिक कार्यक्रमहरुमा सरकार र सभामुखप्रति आक्रोश व्यक्त गरिरहेका छन् ।
गत साउन २५ मा तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदहरुलाई एमालेले कारबाही गरेको पत्र संघीय संसद सचिवालयमा पठाएको थियो । तर सभामुखले अध्ययन गरेर निर्णय लिने भन्दै आलटाल गरे । यता १४ सांसदहरुको कारबाहीलाई छिटो सदर गर्न एमालेका सांसदहरुले सभामुखको कार्यकक्षमै धर्ना दिन पुगेका थिए । सो क्रममा एमाले सांसद र सभामुखबीच बाझाबाझ समेत भएको थियो ।
त्यतिबेला नयाँ दल खोल्ने मनस्थितीमा रहेका माधवकुमार नेपाल समुहई कारबाही गरेमा संसदीय दलमा २० प्रतिशतको बाटो टुंगिने र नयाँ दल खोले पनि सांसद नभएका कारण सरकारमा जान नसक्ने भन्दै एमाले सांसदहरुले धर्ना दिए । तर सभामुखले भने माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल गठन भई निर्वाचन आयोगले मान्यता दिएपछि (भदौ ९) मात्रै भदौ १३ मा कुनै पनि सांसदलाई कारबाही नहुने बताए । त्यसको विरोधमा ओलीसहितका नेताहरुले सभामुखको विरोध मात्रै गरेका छैनन्,सभामुखले एमाले फुटाउन भूमिका खेलेको भन्दै दायर गरेको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको छ ।
यसो त आज बसेको एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्र्दै ओलीले आफूहरुले कारबाही गरेका १४ सांसदहरु उपस्थित भएमा संसद चल्न नदिने चेतावनी दिएका छन् । नयाँ दलको हैसियतमा माधवकुमार नेपालसहितका सांसदहरु आज पहिलो पटक संसद भवन प्रवेश गर्दैैछन् । तर ओलीले नेपालसहितका १४ सांसदहरुलाई गैरसांसदको संज्ञा दिँदै उनीहरु संसद प्रवेश गरे आफूहरुले संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिइसकेका छन् । सभामुखको खरो विरोध गरिरहेका ओलीले सभामुख पदलाई तल्लो तहमा गएर समेत टिप्पणी गरिरहेका छन् । संसदीय राजनीतिमा प्रतिनिधि सभाको प्रमुख अभिभावक मानिने सभामुखलाई ओलीले पार्टी कार्यकर्ताको संज्ञा दिँदै आइरहेका छन् । साथै ओलीले तीनै कुराहरुलाई आधार मानेर सभामुखलाई यथास्थितीमा स्वीकार गरेर आफूहरु अघि बढ्न नसक्ने समेत बताएका छन् ।
त्यसकारण एमालेले बाहिर मात्रै नभइ संसदमै सभामुखविरुद्ध नबोल्ला भन्न सकिन्न । यसअघिका इतिहास हेर्ने हो भने विभिन्न बहानामा एमालेले लामो समय संसद अवरुद्ध गरेका इतिहासहरु छन् । एकपटक २०४९ र ०५६ साललाई फर्किएर हेर्ने हो भने एमाले सांसदहरुले संसदमै विपक्षीलाई गालामा हानेको र जुत्ता प्रहार गरेको पाउन सकिन्छ ।
अहिले पनि यदि एक पक्ष लचिलो नहुने हो भने एमाले र सभामुखको झगडाले संसद नै चल्न नसक्ने अवस्था नआउला भन्न सकिन्न ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया