एजेन्सी, १ बैशाख । अमेरिका, फ्रान्स र बेलायतले सिरियामा केही सैन्य अड्डाहरुलाई लक्षित हमलाको सिरियामा चर्को विरोध भएको छ । आक्रमणको विरोधमा सिरियाको राजधानी दमास्कसमा सर्वसाधारणले प्रदर्शन गरेका छन् ।रासायनिक हमलाको कथित आरोप लगाउँदै सिरियामाथि गरेको सो हमलामा तीन जना सिरियाली सर्वसाधारण घाइते भएको सिरियाको सरकारी समाचार एजेन्सी सानाले जनाएको छ । अमेरिकासहितका राष्ट्रले रासायनिक हतियार भण्डारण गरेको आरोपमा ती सैन्य क्याम्पमा हमला गरेका हुन् । हमलाबाट दमास्कसस्थित शोध संस्थानको बारजेहस्थित शाखामा क्षति पुगेको छ ।हमलाको विरोधमा दमास्कसका सडकमा सिरियाली झण्डासहित सिरियालीले प्रदर्शन गरेका छन् । प्रदर्शनमा आम नागरिक सामेल छन् ।जुलुसमा महिला, पुरुष, बच्चा र वृद्धवृद्धासमेत सहभागी भएका छन् । उनीहरुले हातमा सिरियाको झण्डासँगै राष्ट्रपति बसर अल असदको फोटो समेत बोकेका छन् ।सिरियाली राष्ट्रपति असदले आक्रमणपछि आफ्नो ट्विटर ह्यान्डलमा पोस्ट गरेको छोटो भिडियोमा उनी कार्यालय जाँदै गरेको देखिएको छ । भिडियोमार्फत उनले आक्रमणबाट सिरिया सरकारलाई कुनै असर नपरेको सन्देश दिन खोजेका छन् ।रुसको रक्षा मन्त्रालयले सिरियाली सेनाले दशकौं पुरानो मेशिनको सहयोगमा अमेरिका नेतृत्वको गठबन्धनले हानेका मिसाइल असफल बनाइदिएको जनाएको छ ।रुसी समाचार एजेन्सी इन्टरफ्याक्टका अनुसार रुसी रक्षा मन्त्रालयले भनेको छ, ‘सिरियाली एयर डिफेन्स सिस्टम एस–१२५, एस–२००, बक र क्वाद्रटबाट मिसाइल हमला असफल पारिएको हो । यिनीहरु ३० वर्षअघि सोभियत संघमा बनेका हुन् ।’रुसले अमेरिकी मिसाइल रोक्नका लागि रुसका एयर डिफेन्स सिस्टमको प्रयोग नगरिएको पनि स्पष्ट पारेको छ ।सिरिया सरकारले यी सैन्य अड्डाहरु यसअघि नै खाली गराइसकेको थियो । एक अधिकारीले भने, ‘हामीलाई रुसका तर्फबाट हमलाको जानकारी पहिले नै प्राप्त भएको थियो । सबै सैन्य शिविर केही दिन पहिले नै खाली गराइएको थियो ।’अमेरिकाका लागि रुसी राजदूतले आफ्ना सहयोगी राष्ट्रमाथिको हमलाको जवाफ रुसले दिने चेतावनी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया