काठमाडौं। स्पेनिश ला-लिगाअन्तर्गत साविक विजेता एथ्लेटिको मड्रिडले इस्पान्योललाई २-१ गोलले पराजित गरेको छ।
इस्पान्योलको घरेलु मैदानमा आईतवार भएको खेलमा एथ्लेटिकोका लागि स्टार खेलाडी एन्टोइन ग्रिजम्यानले दोस्रो डेब्यू गरेका थिए। यसै सरुवा बजारको अन्तिम दिन बार्सिलोनाबाट एथ्लेटिको फिर्ता आएका ग्रिजम्यानले खेलमा गोल भने गर्न सकेनन्।
पहिलो हाफमा घरेलु टोली इस्पान्योलले अग्रता लिएको थियो। खेलको ४०औं मिनेटमा घरेलु टोलीका राउल डे टोमसले गोल गरेका थिए। तर दोस्रो हाफमा एथ्लेटिको खेलमा फर्कियो। पाहुना टोलीका लागि यानिक करास्कोले खेलको ७९औं मिनेटमा बराबरी गोल गरेका थिए।
त्यसपछि खेलको इन्जुरी समयमा एथ्लेटिकोले अग्रता लिन सफल भयो। एथ्लेटिकोका लागि फरवार्ड थोमस लेमारले गोल गर्दै साविक विजेता टोलीलाई जित दिलाउन सफल भएका हुन्।
यस जितसँगै एथ्लेटिकोले शीर्ष स्थानमा रहेको रियल मड्रिड र भ्यालेन्सियासँग अंक बराबरी गरेको छ। एथ्लेटिकोको ४ खेलमा १० अंक रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया