विश्वविद्यालयलाई समाजसँग कसरी गाँस्ने ?

लोकपथ
98
Shares

मैले उपकुलपतिको जिम्मेवारी सम्हालेको ६ महिना भयो । यस विश्वविद्यालयको म तेस्रो उपकुलपति हुँ । मलाई लाग्छ, पुस्ताको हिसाबमा पनि म तेस्रै पुस्ताको हुँ ।

मैले अग्रजहरुबाट धेरै कुरा सिक्ने मौका पाएको छु । यो डाँडो कोतर्दै संस्थापक उपकुलपति सुरेशराज शर्मासँगै विश्वविद्यालय छिरेको हुँ । यस विश्वविद्यालयको स्थापना कालको संघर्षदेखि नै म संलग्न भएकाले मैले यसको भावना र मर्म आत्मसाथ गरेको छु । सुरुका दिनमा यसलाई कसरी खुट्टा टेकाउने भन्ने नै थियो । अग्रज सुरेशराज सरले यही कुरामा निकै समय लगाउनुपर्यो ।

पछिल्लो दुई कार्यकाल डा. रामकण्ठ माकाजुले नेतृत्व गरिरहँदा म रजिष्टार थिएँ । उहाँ विश्वविद्यालयलाई संस्थागत र ‘सस्टेन्ट’गर्ने काममा लाग्नु भयो । अघिल्ला दुई उपकुलपतिले यस विश्वविद्यालयको स्थापना गर्ने, यसलाई संस्थागत गर्ने र यसलाई टिकाउने भूमिका खेल्नु भयो । अब मैले कता लाने विश्वविद्यालयलाई ? धेरैले सोध्ने प्रश्न पनि हो यो । यो प्रश्नको जवाफ मसँग छ । र, मैले सोही रणनीति अनुसार प्राप्त जिम्मेवारी निर्वाह गर्नु पर्दछ ।

यो विश्वविद्यालय स्थापना हुँदैगर्दा त्रिभुवन विश्वविद्यालयको विकल्पको रुपमा सोचिएको थियो । तर, त्रिभुवन विश्वविद्यालयलाई ‘माइनस’गर्ने गरी होइन कि, ‘कम्प्लिमेन्ट’ गर्नुपर्छ भनेर । सरकारी काम–कारबाही कहिलेकाहीँ चुस्त नहुने हुँदा विद्यार्थीले खोजेका र संसारमा विकाश भएका विषयहरु रोज्न नपाउने अवस्था थियो, त्यसबेला । यसका लागि लगानी र कार्यान्वयन क्षमता नहुँदा विद्यार्थीहरु अध्ययनकालागि बाहिर जाने ‘ट्रेन्ड’ सुरु भइसकेको थियो ।

खासगरी साइन्सका धेरै विषयहरु, इन्जिनियरिङ र मेडिसिन पढ्न खोज्नेहरु बाहिर जान थालेका थिए । त्यो यस्तो समय थियो जतिबेला त्रिभुवन विश्वविद्यालयमा प्राविधिक विषय १० प्रतिशतभन्दा कम थियो । हो त्यहीबेला यो विश्वविद्यालय स्थापना भएको हो ।

20210830_114109.jpg

त्यसबेलामा सरकारले गर्न नसकेका र गर्न नचाहेका कार्यक्रमहरु लिएर हामी अघि बढ्यौं । र, यसले एउटा नयाँ प्रयोग पनि भयो । सरकारको लगानी नभएपनि प्राविधिक विषय अध्ययन–अध्यापन सम्भव छ भन्ने प्रमाणित हुँदै गयो । विदेशिने युवाहरुलाई यहीँ अध्ययनकालागि आकर्षण पैदा गर्ने काम भयो ।

हुन त, हामीलाई कहिलेकाहीँ आरोप पनि लाग्छ, विदेशी विश्वविद्यालयका लागि ‘स्टुडेन्ट’ तयार गरिदिएको भनेर । तै पनि धेरैजसो त यहीँ छौं नि त । अर्को कुरा विदेशीहरु यहाँ पढ्न आउने वातावरण भयो । नेपालको विकाशकालागि आवश्यक जनशक्ति राम्रै नम्बरमा यहाँ नै उत्पादन भयो ।

विशेषगरी भुकम्पको समय र अहिलेको महामारीमा नेपालमा नै उत्पादीत इन्जिनियर, डाक्टर र अन्य प्राविधिकहरुले काम गरेको हो नि त । त्यो नहुने हो भने हामी सोच्नै सक्दैनौं ।

संसारका राम्रा भनिएका विश्वविद्यालयहरु कता जाँदै छन् ? हामीले पनि त्यो गोरेटोतिर लाग्नै पर्छ । अहिलेको हाम्रो चुनौती यो पनि हो । नयाँ विकास गरेर लाने र जाने कुरा सोच्न नसक्ने हो भने पुराना संस्थाहरु जस्तै निरन्तरताको काम गरेर बसे भैगो नि ।

अहिले विश्वविद्यालयले तीनवटा कुरामा जिम्मेवारी लिनुपर्छ । पहिलो हो, पठन पाठन र गुणस्तरीय शिक्षा । अर्थात, पढ्ने–पढाउने । तर, आजका दिनमा विश्वविद्यालयले पढ्ने र पढाउने काम गरेर मात्रै पुग्दैन । एउटा कलेज मात्र भएको भए पढ्ने–पढाउने कुरामा नै सीमित हुँदा हुन्थ्यो । विश्वविद्यालयले अनुसन्धान गर्नुपर्छ ।

अनुसन्धानले ज्ञानका नयाँ नयाँ ढोका खोल्छ । समस्याको समाधान बोल्छ । स्थानीय तहका समस्यादेखि उद्योग–ब्यवसाय र सरकारका पनि समस्याहरु हुन सक्छन् । ती सबैको समाधान हामीले पत्ता लगाउने हो । समस्या पत्ता लागेपछि समाधानको उपायमा जान सकिन्छ । त्यसकारण अनुसन्धान महत्वपूर्ण हुन्छ ।

शिक्षा र अनुसन्धान भइसकेपछि यो केका लागि भन्ने हुन्छ । विश्वविद्यालय समाजका लागि हो । र, हुनैपर्छ । विश्वविद्यालय कसरी समाजसँग गाँसिने ? यो मुल चुनौती हो । र, सबैभन्दा महत्वपूर्ण पक्ष पनि यही नै हो ।

एउटा उद्योग धरासायी भयो भने कसरी त्यस्तो भयो ? त्यसलाई उकास्ने उपाय के हो भनेर अव विश्वविद्यालयले भनिदिनु पर्ने भयो । स्थानीय तहसम्म पुगेर ल है हामीले यस्तो अनुसन्धान गरेका थियौं, यस्तो पाएका थियौं । अव लागु गर्नुहोस् भनेर भनिदिनु पर्ने अवस्था छ । यसकालागि हाम्रा सातवटै स्कूलहरुले त्यही दिशामा काम सुरु गरिसकेका छन् ।

अर्को कुरा अनुसन्धान गर्नेलाई आफैं ‘फि’ तिरेर पढ भन्नु त्यति ब्यवहारिक हुँदैन । त्यसैले हामीले पिएचडी गर्नेहरुमाथि लगानी गर्ने गरेका छौं । जसरी विदेशको एउटा प्रोफेसरले मसँग एउटा ‘फ्रि स्टुडेन्ट’का लागि ‘ग्रान्ड’ छ, तिमी पढ्न आऊ भनेर बोलाउँछ । त्यसैगरी यो विषयमा अनुसंधानगर्न आउ भनेर हामीपनि बोलाउन सक्ने भएका छौं । यतिधेरै ल्याब स्थापना गरेर बसेका छौं । त्यही अनुपातमा हामी अनुसन्धानका लागि विद्यार्थी बोलाउन सक्छौं ।

हामी ‘क्वालिटी एजुकेशन’को कुरा गरिरहेका छौं । अब ‘क्वालिटी एजुकेशन’का लागि धुलिखेल नै आउनु पर्ने भो त ? भनेर पनि आए । त्यसपछि हामीले के निश्कर्ष निकाल्यौं भने ‘क्वालिटी एजुकेशन’का लागि ‘क्वालिटी’को ‘टिचर’ मुख्य कुरा हो । त्यही भएर हामीले एउटा प्राविधिकलाई ‘टिचर ट्रेनिङ’ दिन थाल्यौं । एउटा प्राविधिकलाई ‘टिचर’ बनाएर पठाइदिने हो भने उसले प्राविधिक काम पनि गर्छ र पढाउने काम पनि गर्छ ।

अहिले हामी ‘ग्रीन हाइड्रोजन ल्याब’ स्थापना गरेर काम गरिरहेका छौं । यस्तो प्रकारका नयाँ र अनुसन्धान गर्न लायक विषय संसारमा कति छन् कति । अर्थात खोतल्नु पर्ने विषय धेरै छन् । विश्वविद्यालय यस्तै विषय विकास गरेर अघि बढ्ने कार्यमा छ ।

विश्वविद्यालय भनेको जहिल्यै पनि नयाँ–नयाँ विषयमा अनुसन्धान गर्ने र त्यसको निश्कर्ष समाजलाई हस्तान्तरण गर्ने कार्यमा हुन्छ र हुनुपर्छ । हामीले सोचेको र खोजेको विश्वविद्यालय पनि यस्तै नै हो ।

विश्वविद्यालयका कार्यक्रमहरु र यसको कार्यान्वयनमा सधैं तपाईंहरुको मायाको अपेक्षा गरेका छौं । र, आम विद्यार्थीलाई सूचित गराइदिनुहुन्छ भन्ने आशा पनि गरेका छौं । सँग–सँगै यहाँहरुको खबरदारी पनि हामीलाई आवश्यक हुन्छ भन्ने बुझेका छौं ।

(काठमाडौं विश्वविद्यालयका उपकुलपति थापाले सञ्चारकर्मी समक्ष दिएको मन्तव्यको सम्पादित अंश ।) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?