न्यूयोर्क, २ वैशाख । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद बैठकमा सिरियाविरुद्ध अमेरिका, बेलायत र फ्रान्सको मिसाइल आक्रमणको भत्र्सनाका लागि समर्थन जुटाउने रुसको प्रयास विफल भएको छ ।सिरियामाथि यी तीन राष्ट्रले गरेको आक्रमणलाई रुसले गुण्डागर्दीको संज्ञा दिंदै सुरक्षा परिषदको आपतकालीन बैठकमा यसको भत्र्सना गर्न समर्थन जुटाउने प्रयास गरेको थियो ।सिरियामा रसायनिक आक्रमणको जाँच चलिरहेको बेला तीन राष्ट्रले सिरियाको सरकारी अखडामा गरेको आक्रमण अन्तर्राष्ट्रिय कानुनको घोर उल्लंघन भएको रुसको ठहर छ ।उता, अमेरिकाले भने सिरियामा रसायनिक हतियार प्रयोग रोक्न सिरियामाथि फेरि आक्रमण गर्न तयार गरेको धम्की दिएको छ ।राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले सिरियाका राष्ट्रपति बसर अल असदलाई अब कुनै पनि हालतमा सिरियामा रसायनिक हतियार प्रयोग गर्ने अधिकार नभएको भन्दै यसमा रोक लगाइने बताइन् ।सिरियाली राजदूत बसर जाफरीले अमेरिका, बेलायत र फ्रान्सले अन्तर्राष्ट्रिय मापदण्ड विपरित आफनो देशमा आक्रमण गरेको भन्दै आपत्ति जनाए ।यसअघि, अमेरिका, बेलायत र फ्रान्सले सिरियाको राजधानी दमस्कस र त्यस वरिपरिको क्षेत्रका सरकारी भवनलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो ।चीनले हवाई आक्रमणको विरोध गर्दै सिरियाको समस्या सैन्य हस्तक्षेपबाट ननिस्कने प्रतिक्रिया दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया