पुटिनले लिए अमेरिकालाई चेतावनी, ‘सिरियामा फेरि हमला भए बबाल हुन्छ’

मस्काे, ३ बैशाख ।  सिरियाको विषयलाई लिएर अमेरिका र रुसबीच चलिरहेको जुहारी अझै बढ्ने संकेत देखिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले पुनः सिरियामा सैन्य कारबाही गरेमा संसारभरमा अराजकता मच्चिने चेतावनी दिएका छन् । सिरियाको राजधानी दमास्कस नजिकै रहेको पूर्वी गुटाको डुमामा रासायनिक हमला भएको भन्दै अमेरिका, बेलायत र फ्रान्सले सरकारी सैन्य अड्डामा हमला गरेका थिए । सिरियामाथि भएको हमलाको यसअघि देखि नै विरोध गरिरहेको रुसका राष्ट्रपति पुटिनले नै यो आक्रमणको विषयलाई लिएर अमेरिकालाई चेतावनी दिएका हुन् । रुसका राष्ट्रपति कार्यालयले जारी गरेको बयानमा भनिएको छ, ‘भ्लादिमिर पुटिनले जोड दिएर भन्नु भएको छ कि यदि संयुक्त राष्ट्र संघको चार्टरको उल्लंघन गरेर यसप्रकारको कारबाही भए निश्चित रुपमा अन्तर्राष्ट्रिय सम्बन्धमा अराजकताको स्थिति पैदा हुनेछ ।’ विज्ञप्तिका अनुसार पुटिन र इरानका राष्ट्रपति हसन रुहानीबीच फोनवार्ता भएको छ । सो क्रममा पुटिन र रुहानीबीच आक्रमणपछि सिरियाको संघर्षको राजनीतिक समाधानको बाटोमा धेरै क्षति पुगेकोमा सहमत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?