नेपाल–भारत सैन्य अभ्यास पिथौरागढमा सुरु, दुवै देशका ६५० सैनिक सहभागी

काठमाडौं । नेपाल र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास सुरु भएको छ । भारतको पिथौरागढमा सोमबारबाट नेपाल र भारतबीच सैन्य अभ्यास सुरु भएको हो । नेपाल र भारतीय सेनाबीच हुने संयुक्त सैन्य अभ्यासलाई ‘अभ्यास (एक्सरसाइज) सूर्य किरण’को नाम दिइएको छ ।

भारतको उत्तराखण्डको पिथौरागढमा सुरु एक्सरसाइज सूर्य किरणको यो १५ औं संस्करण हो । सैन्य अभ्यास अक्टूबर ३ तरेखसम्म चल्नेछ । सैन्य अभ्यास प्रतिआतंकवाद र जंगल वारफेयरमा केन्द्रीत छ । अभ्यासको क्रममा भारतीय सेना र नेपाली सेनाको एक एक इन्फैन्ट्री बटालियनले प्रशिक्षण दिनेछन्।

अभ्यास सूर्यकिरण प्रतिआतंकवाद, युद्धकला, मानवीय सहायता, प्रकृतिक प्रकोप, पर्यावरण संरक्षणलगायतमा केन्द्रीत हुनेछ। यस अभ्यासले जंगली र पहाडी क्षेत्रमा विद्रोही गतिविधि र आतंकवादविरुद्ध लडन सहयोग पुर्‍याउनेछ ।

नेपाली सेनाको तर्फबाट प्रमुख सेनानीले नेपाली टोलीको नेतृत्व गरेको छ । नेपाली टोलीमा ३०० जनाको फौज छ । भारतीय सेनाको तर्फबाट ३ सय ५० जनाको फौज सैन्य अभ्यासमा सहभागी छ । नेपाली सेनाको टोली शनिबार पिथौरागढ पुगेको थियो ।

अभ्यास सूर्यकिरणमा नेपाली र भारतीय सेनाबीच टालियनस्तरको संयुक्त प्रशिक्षण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?