तेह्रथुम, ५ वैशाख । जिल्लाका सर्वसाधारण आफूलाई एचआइभी रहे-नरहेको परीक्षण गर्नै नमान्ने गरेका चिकित्सकले बताएका छन् । जिल्ला अस्पतालसहित अन्य स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये अधिकांशले एचआइभी परीक्षण गर्नु पूर्व जानकारी दिँदा परीक्षण गर्नै नमान्ने गरेका हुन् । जिल्लाभित्र ल्याब सेवा रहेको जिल्ला अस्पतालसहित वसन्तपुर र सक्रान्ति प्राथमिक स्वास्थ्य केन्द्रमा एचआइभी परीक्षण गर्ने सुविधा छ । त्यसबाहेक हालैमात्र जिल्ला जनस्वास्थ्य कार्यालयको निर्देशनबमोजिम सबै स्वास्थ्य संस्थामा एचआइभी भए-नभएको परीक्षण गर्न गर्न थालेपनि जिल्लाका स्वास्थ्य संस्थामा आउने बिरामीले परीक्षण गर्नै नमान्ने गरेका जिल्ला जनस्वास्थ्य प्रमुख डा मुक्तिनारायण शाहले बताए । “एचआइभी भन्ने सुन्नासाथ नकारात्मक सोच जन्मिएर होला, कसैले पनि परीक्षण गर्न मान्दैनन् ।” उनले भने, लाज, डर र त्रासका कारण परीक्षण गराउन नमान्ने गरेका होलान । ” जिल्लामा गर्भवती महिलाको भने अनिवार्य एचआइभी परीक्षण हुने गरेको छ । अन्य व्यक्तिमा भने शंका लागेमामात्र परीक्षण गर्ने गरिएको छ । कार्यालयले हालै शुरु गरेको सेवाबाट विशेषगरी गर्भवती महिलामा एचआइभी भाइरस पोजेटिभ रहे-नरहेको प्रारम्भिक जानकारी हुनेछ । सो सुविधा जिल्ला अस्पतालसहित ३२ वटै स्वास्थ्य चौकीमा शुरु भएको डा शाहले बताए । जिल्ला अस्पतालको ल्याबमा हरेक दिन सयौँ बिरामी आउँछन् । धेरैजना बिरामीको रगत परीक्षण भइरहेको हुन्छ तर ती बिरामीको रगत परीक्षण गर्दा एचआइभी परीक्षण गर्न सुझाव दिए परीक्षण नै गर्न नमान्ने गरेका कार्यालयका सूचना अधिकारी लभरेञ्ज शाहले बताए । एचआइभीको भाइरसले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा क्रमशः ह्रास ल्याउँदै मृत्युसम्म पु¥याउन सक्छ । यसको संक्रमणबाट जीवनभर मुक्त हुन सकिँदैन तर प्रारम्भिक अवस्थामै रोग पत्ता लगाई रोकथामका उपाय अपनाउन सके केही समयसम्म सहजै बाँच्न सकिने स्वास्थ्यकर्मी बताउँछन् । यो भाइरसबारे सर्वसाधारणमा चेतना नभएका कारण यस्तो भएको जिल्ला जनस्वास्थ्य प्रमुख डा शाहले बताए । यो रोगबारे चेतना वृद्धि गर्न सरकारले वर्षेनी करोडौँ रुपैयाँ लगानी गरिरहे पनि त्यो लगानी नागरिकको तहसम्म पुग्न सकेको छैन । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३-७४ मा ४६४ जनाले एचआइभी परीक्षण गराएका छन् । यो संख्या आव २०७२÷७३ मा १०९ मात्रै थियो । जिल्लामा अहिले नागरिकलाई त्यस्तो रोगको संक्रमणबाट बचाउन चेतनामुलक कार्यक्रम थालिएको डा शाहले बताए । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार हाल जिल्लामा पाँचजना एचआइभी रोगी छन् तर एचआइभी रोगीले सेवन गर्ने औषधि भने जिल्लामा पाइँदैन । जिल्लाका बिरामीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एआरटी सेवन गर्दै आएका कार्यालयका पोषण तथा एचआइभी कार्यक्रमका स्रोत व्यक्ति जितेन्द्र श्रेष्ठले बताए । जिल्ला अस्पतालमा यौन रोगीलाई परामर्शका लागि छुट्टै कक्ष अर्थात् भिसिटी सेन्टरको व्यवस्था गरिएको छ । अस्पतालमा आउने यौन रोगीमा गरिएको परीक्षणबाट रोग पत्ता लागेकासंग परामर्श गरी औषधि सेवनका लागि पठाइने गरिएको छ तर यौन रोग लागेर परामर्शका लागि आउने बिरामीमध्ये धेरैले परीक्षण गर्नै नमान्ने गरेको उनले बताए । परीक्षण गर्दा एचआइभी पोजेटिभ देखिए सार्वजनिक हुने त्रासका कारण कमैले मात्र परीक्षण गर्न सहमति दिने गरेको स्रोत व्यक्ति श्रेष्ठको दाबी थियो । एचआइभी रोगीलाई औषधि सेवनका लागि सहज होस् भन्ने ध्येयले सरकारले त्रैमासिक रुपमा रु दुई हजार सहयोग गर्दै आएको छ । नेपालमा सन् १९८८ देखि देखिएको एचआइभीबाट हाल ५० हजार २८८ जना संक्रमित छन् । विशेषगरी रगतको माध्यमबाट एकबाट अर्को व्यक्तिमा सर्ने भएकाले यो रोगको संक्रमण असुरक्षित यौन सम्पर्कबाट फैलिने गरेको चिकित्सक बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया