दीपेन्द्र अधिकारी / काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शिक्षा ‘भगवान् भरोसे’ भएको बताएकी छिन् । शिक्षा पत्रकार सञ्जाल (इजोन) आबद्ध शिक्षा पत्रकारहरूसँग छलफलमा उनले भनिन्, ‘यो कुर्सीमा बसेर मैले यस्तो भन्न मिल्दैन होला तर वास्तविकता यही हो ।’
उनले बोल्दा आफ्नो अधिकांश समय नेपालको शिक्षा क्षेत्रमा झाँगिदै गएका विकृतिका बारेमा विवेचना गरिन् । दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय शिक्षा नीति बनाउनुपर्ने बताउँदै उनले भनिन्, ‘देशको शिक्षा नीति कस्तो हुनुपर्ने हो भन्नेबारेमा सोच्ने बेला आइसकेको छ ।’
उनले शिक्षा क्षेत्रमा दीर्घकालीन असर पर्ने भएकाले संघीय शिक्षा ऐन आवश्यक भएको उल्लेख गरिन् ।
राष्ट्रपति भण्डारीले नयाँ राष्ट्रिय शिक्षा नीति तयार गरेर पालिका, प्रदेश र संघको जिम्मेवारी तथा भूमिका स्पष्ट गरिनुपर्ने बताइन् । ‘पालिकामा एक जना शिक्षा अधिकारी खटाइएको छ, उनले अनुगमन गर्न सकेका छैनन् । विगतमा क्षेत्रीय शिक्षा निर्देशक, जिल्ला शिक्षा अधिकारी, विद्यालय निरीक्षक र प्रधानाध्यापकको चेन अफ कमान्ड थियो । अहिले त्यो भत्किएको छ । त्यसले कक्षाकोठाको सिकाइ राम्रो हुन सक्दैन ।’
उनले थपिन्, ‘देशभरि ३५ हजार विद्यालय छन् तर एक सयभन्दा बढी विद्यार्थी नभएका थुप्रै विद्यालय छन् कतिपय विद्यालयमा शिक्षक बढी छन् तर विद्यार्थी छैनन् । त्यहाँ स्रोतको दुरूपयोग भइरहेको छ । विद्यार्थी कम भएका विद्यालयमा राम्रो संरचना निर्माण गर्ने वा आवासीय व्यवस्था गरेमा विद्यार्थीको आकर्षण बढ्नसक्ने थियो । तसर्थ शिक्षामा राज्यको अर्जुनदृष्टि हुनुपर्दछ ।’
विदेशमा शिक्षा आर्जन गर्ने विद्यार्थीबाट वर्षेनी अर्बाैँ रुपैयाँ विदेशिएको र ती विद्यार्थीको नागरिक हक भएकाले उनीहरूलाई विदेश जानबाट रोक्न नमिल्ने बताउँदै विदेशमा उपलब्ध हुने स्तरको शिक्षा नेपालमै उपलब्ध हुनसके नेपाली विद्यार्थी विदेश जानबाट रोकिने उनको धारण थियो ।
असहमत हुने ठाउँ छैन : डा. बालचन्द्र लुइँटेल (शिक्षाविद्)
नेपालको शिक्षा ‘भगवान् भरोसे’ छ भन्ने कुरामा असहमत हुने ठाउँ नै छैन । भएकै त्यही हो । विद्यालय शिक्षा राम्रो बनाउन अहिलेको संविधानले परिकल्पना गरेअनुसार स्थानीय संरचनालाई नै बलियो बनाउनुपर्छ । एक जना अधिकारीले मात्र काम हुन नसक्ला त्यो स्वभाविक हो ।
स्थानीय तहमा शिक्षालाई निरीक्षण गर्ने निकाय चाहिन्छ, सुपरिवेक्षण केलाई गर्ने भन्ने पनि चाहिन्छ । शिक्षकलाई बढी जिम्मेवार बनाउने हो कि, प्रधानाध्यापकलाई जिम्मेवार बनाउने हो ? स्थानीय तहमा एक जनाले कक्षा कोठामा गएर हेर्दैमा शिक्षा सुध्रँदैन । प्रधानाध्यापकलाई जिम्मेवार बनाउनुपर्छ ।
संघीय शिक्षा ऐन छैन, ऐन नभएपछि विद्यालय शिक्षा साम्रोसँग सञ्चालन हुन सकेको छैन । २०२८ को ऐनमा विद्यालय चलाइरहेका छौँ, संविधान ७२ सालको छ । सार्वजनिक विद्यालयलाई स्रोत साधन सम्पन्न बनाउनुर्छ । शिक्षा विकासको महत्पूर्ण पक्ष हो भन्ने कुरा स्थापित हुन सकेको छैन ।
स्थानीय तहबाट झिकेर पनि त्यो गतिलो हुनेवाला छैन । त्यसलाई अनुगमन गर्न स्थानीय निकायलाई प्रभावकारी बनाउन पर्छ । ऐन आएको भए विद्यार्थी संख्या र भूगोल हेरेर के गर्ने भन्ने कुरा आउथ्यो । जन्मदर घट्छ, बसाइँसराइ हुन्छ त्यो अधारमा शैक्षिक संस्थालाई मर्ज गर्नुपर्ने, पुनस्र्थापना गर्नुपर्ने हुन्छ र ठाउँसारी गर्नुपर्ने हुन्छ ।
अपमान गरियो : लक्ष्मीकिशोर सुवेदी (महासचिव, नेपाल शिक्षक महासंघ)
‘भगवान् भरोसे’ भन्ने शब्दावली प्रयोग गर्नुभएको छ, त्यसले शिक्षा क्षेत्रमा इमानदरीपूर्वक काम गरेका शिक्षकहरू अन्य सरोकारवाला र विद्यार्थीहरूको अपमान गरेको छ । उहाँले मैले यो ठाउँमा बसेर बोल्न नहुने भन्नुभएको रहेछ, त्यो शब्द बेठीक छ । उहाँले भनेजस्तो छैन । शिक्षा क्षेत्रमा राम्रो छ । कतिपय कमीकमजोरी त होलान्, तर काम हुँदै छ सुधारिँदै गएको अवस्था छ ।
राष्ट्रिय शिक्षा ऐनको बारेमा हामी बोलिरहेका छौँ । शिक्षामा २० प्रतिशत लगानी हुनुपर्छ भनिरहेका छौँ । शिक्षालाई प्राथमिकतामा राखेर लगानी नबढाएसम्म शिक्षाको सुधार हुँदैन । भगवान भरोसे शब्द प्रयोग गर्नुभएको छ त्योप्रति बिमति प्रकट गर्छु ।
कहीँ कतै विद्यार्थीभन्दा शिक्षक बढी होलान् आम रूपमा त्यस्तो छैन । उहाँले कहाँको विद्यालय घुम्नुभएको छ र हेर्नुभएको छ ? कुन–कुन विद्यालय घुम्नुभयो राष्ट्रपतिको कार्यकालमा उहाँले ? उहाँको ठाउँबाट उहाँले त्यस्तो कुरा गर्न मिल्दैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया