प्रचण्डसँग त्यो स्याटेलाइट फोन, यसरी ढल्यो राजतन्त्र

(लोकतन्त्र दिवसको सन्दर्भ (वैशाख ११) का लागि लोकपथ टिमले २०६२–६३ को जनआन्दोलनमा नेपाली काँग्रेसको उपत्यका संघर्ष समितिका संयोजक समेत रहनुभएका नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुन नरसिंह केसीलाई उहाका अनुभव र यथार्थका आधार लेख लेखिदिन पटकपटक आग्रहपछि तत्कालिन समयको यथार्थ समेटिएको लेख । ) 

नेपालको राष्ट्रिय राजनीतिमा ०६२–६३ को जनआन्दोलन युगान्तकारी र आमूल परिवर्तनको संवाहकका रुपमा आयो, जसको राष्ट्रिय जीवनमा दूरगामी एवम् अतुलनीय प्रभाव रहेको छ । यही जनआन्दोलनले २ सय ४० वर्षदेखिको राजतन्त्रको अन्त्य गर्‍यो । वि.सं. २००७ सालको क्रान्तिले निर्दिष्ट गरेको संविधानसभाको निर्वाचन र नयाँ संविधान निर्माण भयो । माओवादी १० वर्षे हिंसात्मक द्वन्द्व परित्याग गर्नुका साथै बन्दुक फालेर शान्तिपूर्ण लोकतान्त्रिक राजनीतिको मूलधारमा समाहित भयो । यस्तो महत्वपूर्ण आन्दोलन, जसमा म आफैं काँगेसको तर्फबाट उपत्यका संघर्ष समितिको संयोजकका रुपमा आन्दोलनको समन्वय र परिचालनमा लागेको थिएँ, यो महत्वपूर्ण सन्दर्भमा केही लेख्न सम्झाउने र घच्घच्याउने लोकपथ डटकमलाई धन्यवाद छ ।

नेपालका लोकतान्त्रिक आन्दोलनहरूका आ–आफ्नै कथा, गाथा र गरिमा छन् । आजसम्म लोकतन्त्रका लागि ठूला–साना गरी १४ वटा राष्ट्रिय आन्दोलनहरू भए । यी सबै आन्दोलनहरूको नेतृत्व नेपाली काँग्रेसले नै गरेको छ । यो सौभाग्यले हामीलाई गौरवान्वित बनाएको छ भने नेपाली काँग्रेसको इतिहासलाई गरिमामय बनाएको छ । एकछिन विचार गरौँ, नेपाली काँग्रेसको इतिहासमा १४ वटा ती राष्ट्रिय आन्दोलनलाई झिकेर नेपालको इतिहास हेर्दा के बाँकी रहन्छ ? अर्थात्, नेपालको लोकतान्त्रिक आन्दोलन नेपाली काँग्रेसको इतिहासमा आधारभूत पहिचान बोकेको अभिन्न अंगका रुपमा आउँछ ।

म यहाँ २०६२–६३ को जनआन्दोलनका सन्दर्भमा केन्द्रित हुन लागेको छु । त्यस आन्दोलनमा कसरी सहभागिता भयो भन्ने सन्दर्भमा जान चाहन्छु । इतिहासमा उल्लेखित अध्यायलाई बढी प्रकाश पार्न चाहन्न । 

२०६२–६३ को जनआन्दोलन जसरी सम्पन्न भयो, त्यसमा लागेको मिहिनेत, संघर्ष र खतराको बाटो, आन्दोलनकारीहरूको निष्ठा, समर्पण र त्यागमा लुकेको यथार्थ, मैले प्रत्यक्ष देखेका र भोगेका आधारमा उल्लेख गर्न चाहन्छु । पछिल्लो जनआन्दोलनमा ८४ वर्षकी छायादेवी पराजुली, विद्यार्थी फाँटमा आफै गणतन्त्रको आन्दोलन बनेर आएका गगन थापा, गुरु घिमिरे, अनेरास्ववियूकी रामकुमारी झाँक्रीजस्ता विद्यार्थी नेताहरू, मानवअधिकारवादी नेता कृष्ण पहाडी, नागरिक समाजका अगुवा दमननाथ ढुङ्गाना, पद्मरत्न तुलाधर, डा. देवेन्द्रराज पाण्डे लगायत धेरै सहभागीहरू, १० वर्षे बालक रुविन गन्धर्व, घाइते आन्दोलनकारीहरूको निःशुल्क र निःशर्त उपचार गरिदिने अमेरिकी चिकित्सक ब्रायन कबलगायत चिकित्सक, कानुन ब्यवसायी, पत्रकार, साहित्यकार, शिक्षक तथा प्राध्यापक, कलाकार, महिला आदिको विशेष भूमिकालाई सम्झिनु अनिवार्य छ । पार्टी विशेषसँग नजोडिएका जनआन्दोलनका यस्ता थुप्रै पात्रहरूको योगदान सम्झिनु आवश्यक छ ।

पछिल्लो जनआन्दोलनमा २५ जना नागरिकले शहादत दिए । उमेशचन्द्र थापा, दर्शनलाल यादव, भीमसेन दाहाल, तुलसी क्षेत्री, शिवहरि कुँवर, विष्णु पाण्डेय, हिरालाल गौतम, सेतु सुनार, सुरज विश्वास, राजन गिरी, वासुदेव घिमिरे, सगुन ताम्राकार, दिपक वि.क, यमलाल लामिछाने, गोविन्दनाथ शर्मा, प्रद्युम्न खड्का, महम्मद जहाँगिर, चन्द्र बयलकोटी, अनिलकुमार लामा, देवीलाल पौडेल, ताहिर अन्सारी, चक्रराज जोशी, लालबहादुर विष्ट, हरिराज अधिकारी, होरिलाल राना चौधरी जनआन्दोलनका शहीद थिए । बनेपाका मुकेश कायस्थ जिउँदा शहीद हुन्, जो जनआन्दोलनमा गोली लागी बेहोस भएकोमा आजसम्म पनि तन्दुरुस्त हुन सकेका छैनन् । 

जनआन्दोलन सफल हुँदासम्ममा देशभरि कुल घाइतेको संख्या ६ हजार १ सय ६८ पुग्यो । यो निर्णायक जनआन्दोलन ५ मूख्य दलहरूले ४ वर्षसम्म अनवरत रुपमा गरेको संघर्षको जगमा सफल भएको हो । त्यो आन्दोलनमा पनि कुल ५ सय १० जना घाइते भएका थिए । तीमध्ये १ सय ५९ जना सख्त घाइते भए । २०६१ माघ १९ गतेको शाही घोषणापछि मुलुक झन् अस्तव्यस्त र सञ्चार सम्पर्क पूरै विच्छेद भएर अन्धकार छाएको थियो । तत्कालीन पाँच मुख्य राजनीतिक दलहरूले परिस्थितिलाई आन्दोलनको पक्षमा लैजाने अठोट गरेपछि काँग्रेसको सह–महामन्त्री तथा प्रवक्ताको जिम्मेवारीको रुपमा रहेकोमा सोही साल फागुन ५ गते दिउँसो २ बजे पार्टी कार्यालय सानेपा पुगेँ । त्यो अवस्थामा पार्टी सभापति गिरिजाप्रसाद कोइराला नजरबन्दमा हुनुहुन्थ्यो भने हामी भूमिगत रुपमा कार्य सञ्चालन गर्दै थियौँ ।

आन्तरिक सर्कुलर जारी गरेर पार्टी कार्यालयमा आउन आह्वान गरेअनुरुप अन्य ५०/६० जना साथीहरू पनि पार्टी कार्यालय आइपुगेका थिए । साथीहरूलाई सम्बोधन गरिसकेर आफ्नो कार्यकक्षमा गई फुटेर बनेको ‘काँग्रेस (प्रजातान्त्रिक)’ लाई पनि साथैमा लिएर संयुक्त आन्दोलनमा जानुपर्छ भन्ने, पार्टीबाट सर्वप्रथम मैले विचार दिएर पत्रकारहरूसँग कुरा गर्दागर्दै प्रहरीले पक्राउ गर्‍यो र ललितपुर जिल्ला प्रहरी कार्यालयमा बन्दी बनाएर राख्यो । केही दिनपछि कनकमणि दीक्षित र स्व. चिरञ्जीवीनिधि तिवारीलाई पनि एकदुई दिनका लागि मसँगै राखियो । मलाई प्रहरीले पहिले ३ महिना बन्दी बनायो र एक्लै त्यस स्थानमा राखिएको थियो । अरु ३ महिना म्याद थप गरी नजरबन्दमा राखियो ।

त्यो समयमा सबभन्दा लामो नजरबन्दमा राखिएकामा नेपाली काँग्रेसबाट शायद म र नरहरि आचार्य थियौँ । तत्कालीन शाही सत्ताले मलाई विशेष विरोधी व्यक्तिका रुपमा देख्नुलाई मैले सकारात्मक अर्थमा लिएको छु ।

वास्तवमा नेपाली काँग्रेसले संवैधानिक राजतन्त्रको आफ्नो मान्यतामा पुनर्विचार गर्नुपर्छ भन्ने चेतना जागृति २०६० सालमै नुवाकोट जिल्लाबाट लिएको हो । सो वर्ष मंसिर २० र २१ गते नुवाकोट नेपाली काँग्रेसको कार्यसमिति बैठकले एक प्रस्ताव पारित गर्‍यो । नुवाकोट काँग्रेस जिल्ला सभापति जगदीश्वर नरसिंह के.सी. ले पार्टीको बैठकमा राखेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो । पारित एजेण्डामा भनिएको थियो, ‘आजको सन्दर्भमा सिङ्गो विश्व नै पूर्ण प्रजातन्त्रको दिशामा अगाडि बढिरहेको र अधिनायकवादी शासनहरू पनि ढलेर प्रजातान्त्रिक दिशामा गइरहेको २१ औँ शताब्दीको स्थितिमा नेपालमा राजसंस्थाले जहिले पनि प्रजातन्त्र मासेर जनता र राष्ट्रमाथि कुठाराघात गर्दै आएको हुनाले नेपाली जनता यस्तो तानाशाही अत्याचारलाई मान्ने पक्षमा छैनन् । अतः नेपाली काँग्रेसले साबिकमा संवैधानिक राजतन्त्र मानेको भए तापनि अब नेपालमा राजतन्त्रको औचित्य र सान्दर्भिकताका विषयमा व्यापक विवाद उठिरहेको हुनाले पार्टी (काँग्रेस) को महाधिवेशनदेखि तल्लो निकायसम्म राजतन्त्रको औचित्य र सान्दर्भिकताबारे खुला बहस चलाएर संविधानसभाका लागि हुने निर्वाचनका आधारमा राजतन्त्रको अस्तित्वबारे टुङ्गो लगाइनु पर्छ ।’ 

उक्त पारित प्रस्ताव समकक्षी ७५ वटै जिल्ला पार्टी समितिहरू समक्ष पठाई समर्थनको आह्वान समेत गरेको थियो । काँग्रेसका करिब आधा दर्जन जिल्ला समितिहरूले तत्कालै यसको समर्थन गरे । साथै २०६१ मा काठमाडौँमा सम्पन्न काँग्रेसका ५२ जना जिल्ला सभापतिहरूको भेलामा प्रवेश पाएर ४९ जना सभापतिहरूको प्रचण्ड बहुमतले पारित गरेपछि यो विषय पार्टीको एघारौँ महाधिवेशनको महत्वपूर्ण एजेण्डाको रुपमा स्थापित भएको हो ।

नेपाली काँग्रेस राजाका गतिविधिबाट आजित भएर संवैधानिक राजतन्त्रप्रति निराश हुन थालेको र माओवादी सशस्त्र हिंसा र द्वन्द्वबाट समाधान सम्भव नदेखेर शक्ति सन्तुलनको यथार्थ स्वीकार गर्दै नेपाली काँग्रेससँग सम्बन्ध बढाउने आवश्यकतातिर क्रमशः अग्रसर थियो । त्यसको लागि तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गिरिजाबाबुसँग सम्पर्क गर्न चाहन्थे, तर सम्भव भइरहेको थिएन । यसै अवस्थामा हाल माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ का साथै माओवादी नेता लीलामणि पोखरेलसँग गोप्य रुपमा व्यक्तिगत हैसियतले मेरो भेटघाट आन्दोलनबारे कुराकानी भइरहन्थ्यो ।

नारायणकाजी श्रेष्ठ मेरो भाइ डा. केदारनरसिंहका मेडिकल कलेजका सहपाठी र घनिष्ठ साथी पनि थिए । नारायणकाजी नेकपा (मसाल) का महासचिव भएकोले हामीबीच धेरै चरणमा सल्लाह र परामर्शपछि मेरो घरमा आउने व्यवस्था मिलाउन र उहाँसँग भेट्न काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला मेरो आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिने गरी मेरै घरमा भेट्ने र त्यहीँबाट स्याटेलाइट फोनमार्फत प्रचण्डसँग पहिलो सम्पर्क स्थापित गर्न सफल भएको हो । माओवादीसँग १२ बुँदे समझदारी सम्पन्न गर्ने आधार यहीँबाट शुरू भएको हो । यस कार्यमा नारायणकाजीजी र लीलामणिजीको महत्वपूर्ण भूमिका रहेको छ ।

संयुक्त जनआन्दोलन संयोजन समितिमा काँग्रेसका तर्फबाट म र कृष्णप्रसाद सिटौलाजीले प्रतिनिधित्व गरेका थियौँ । तर अन्तिमतिर उहाँ बाहिर गएपछि मैले मात्र जिम्मेवारी सम्हाल्नुप¥यो । जनआन्दोलनका लागि हाम्रो तयारी अगाडि बढ्न थालेको, र अन्तिम चरणको आन्दोलनमा काङ्ग्रेसबाट मलाई जनआन्दोलन परिचालन समितिमा काठमाडौँ उपत्यकाको संयोजक (कमाण्डर) समेत चयन गरेको र सात दलले चैत ६ गते (२०६२) ‘जनआन्दोलन संयोजन समिति’ गठन गरी निर्णायक जनआन्दोलन गर्ने निर्णय गरेको अघिल्लो राती १० बजे ‘गोंगबु क्षेत्रबाट आतङ्ककारीबाट ५० किलोग्राम विष्फोटक पदार्थ बरामद गरिएको’ भन्ने बिल्कुल असत्य र उत्तेजनात्मक प्रपोगण्डा फैलाएर जनतालाई आतङ्कित पार्ने र आन्दोलनप्रति वितृष्णा फैलाउने प्रयास गरिएको थियो । तर माओवादीेले ‘आफ्नो पार्टीबाट गोंगबु क्षेत्रमा कुनै खाले विष्फोटक पदार्थ भण्डारण नगरेको’ भनी प्रपोगण्डालाई कडा शब्दमा खण्डन गरेपछि स्थानीय जनताको भावना, सत्ताको घृणित षड्यन्त्र एवं आन्दोलनको औचित्यबोध गरेर हाम्रो पक्षमा दृढ भएर परिचालित भएको थियो ।

जनआन्दोलनको घोषणा भएर उपत्यकामा देशका विभिन्न भागबाट जनआन्दोलनकारीको प्रवेश हुन थालेको बुझेपछि नुवाकोटमा त्रिशुली, ककनीको पाँचमाने, तीनपिप्ले, मुड्खु भज्याङ्ग, थानसिङ्, गुरुङ्गगाउँ, धादिङका भीमढुङ्गा र नागढुङ्गा, मकवानपुरका मार्खु, मातातीर्थ, कुलेखानी, त्रिखण्डी हुँदै काठमाडौँका दक्षिणकाली, फर्पिङ्ग, छैमले, रामचे, कोटडाँडा, बेतिनी, गिम्दी, काभ्रेको विमिरेचौर, लामीडाँडा, पनौती, खोपासी, ललितपुरको लाँकुरीभञ्ज्याङ्ग, सिन्धुपाल्चोकको पाटीभञ्ज्याङ्ग, मूलखर्क, सुन्दरीजल, चिसापानी, भोटेचौर, काठमाडौँकै नाङ्लेभारे, साँखु, मूलपानी जस्ता आवागमनका सबै गौँडामा सेना र प्रहरीको बाक्लो परिचालन गरियो । जनसहभागिता रोक्न राज्यले आतङ्कपूर्ण स्थिति सृजना गर्‍यो ।

शाही सत्ताले चक्रपथभित्र आन्दोलन, जुलुस, हड्ताल जस्ता कार्यक्रम गर्न नदिने भन्दै निषेधाज्ञा जारी गरेपछि आन्दोलनकारीले निषेधाज्ञा तोडदै जुलुश, धर्ना र हड्ताल गर्ने काम अगाडि बढायो । उपत्यकाका पाँचवटै नगरपालिका र गाविसहरू, उपत्यका बाहिर जिल्ला सदरमुकाम, नगरपालिका तथा शहरी क्षेत्र र राजमार्ग आसपासका गाउँहरूमा समेत आन्दोलनको ज्वार उर्लेर आयो ।

प्रहरी यति दमनकारी भइसकेको थियो कि कटबाँसका लठ्ठीले आन्दोलनकारी तह लागेनन् भनी ककनीबाट चैत २६ गते खँदिलो रूखका काँचा लौरा नेपाल बन्द भए पनि भरियालाई बोकाएर काठमाडौँ ल्याएको जानकारी हामीले पायौँ । ती लौरा गोंगबु क्षेत्रको दमनमा उपयोग भयो । आन्दोलनकारीलाई यसरी लाठीचार्ज गर्नु ता कि ऊ फेरि उठेर आउन नसकोस् भन्ने निर्देशन प्रहरीलाई दिइएको सूचना पनि हामीले पाएका थियौँ ।आन्दोलन दबाउन दिनभर गोली हानिएको, अश्रुग्यास विष्फोटका कारणले टायरको धुँवा, गगनभेदी नारा,सडक इँटा र ढुङ्गाको बगरजस्तो वा युद्ध मैदानजस्तो भएको थियो । काठमाडौँ उपत्यकामा पनि रिङरोड बाहिर चावहिल, महाराजगञ्ज, बसुन्धरा, गोंगबु, बालाजु, स्वयम्भु हुँदै कलंकीसम्म र कीर्तिपुरमा जनआन्दोलन निकै चर्किरहेको थियो भने गौशाला, कोटेश्वर, ग्वार्को, सातदोबाटोतिर आन्दोलनले गम्भीर रुप त लिएको थियो तर तुलनात्मक कम थियो । वास्तवमा गोंगबु काठमाडौँभित्रको जनआन्दोलनको केन्द्र भएको थियो भने मेरा निवास जनआन्दोलनको अफिसमा परिणत भएको थियो । समग्र परिवार नै यो जनआन्दोलनमा होमिएको थियो । मेरो घर जनआन्दोलनकारीहरूलाई चिया–खाजा खाने र आन्दोलनबारे सरसल्लाह गर्ने सम्पर्कस्थल नै बनेको थियो । बसपार्क समेत नजिकै भएकोले गोंगबु क्षेत्रमा आन्दोलनकारीहरूको तुलनात्मक अधिक सहभागिता र उत्साह देखिन्थ्यो र सरकारी दमन पनि गोंगबु क्षेत्रमा चर्को भयो ।

समग्र प्रयास र आन्दोलनकारीहरुको समर्पणयुक्त बलिदानी संघर्षले २०६२—६३ को जनआन्दोलनमा गोंगबु आन्दोलनको मुख्य एपीसेण्टर नै भयो । मेरो गृहजिल्ला नुवाकोटबाट समेत धेरै आन्दोलनकारीको सहभागिता रह्यो । गोंगबु क्षेत्रमा स्थानीय जनताको उत्साहपूर्ण सहभागिता बनाइराख्न अथक मिहिनेत गर्नुपरेको थियो । गोंगबु क्षेत्रमा जनआन्दोलनका लागि नेपाली काँग्रेसको विशेष तयारी पनि थियो । काङ्ग्रेसबाट म, डा. शशाङ्क कोइराला, दिपक गिरी, जगदीश्वरनरसिंह लगायत एमालेबाट प्रकाश ज्वाला, राजेन्द्र लोहनी र माओवादीका ऋषि जमकटेल पनि थिए । गोंगबुमा मात्र प्रहरी दमनका कारण सयभन्दा बढी घरका सिसा चकनाचुर भए । आन्दोलनको नेतृत्व गर्न आएका साथीहरू आन्दोलन सकिएपछि यस क्षेत्रमा प्रहरी दमनका क्रममा भएको नागरिकको निजी सम्पत्तिको क्षतिको हर्जाना दिलाउन जनआन्दोलनपछि मलाई अर्को चुनौती थपिएको थियो ।

चैत २९ (०६२) का दिन गोंगबुस्थित मेरो घरभित्रै पसेर प्रहरीले अश्रुग्याँस प्रहार गरी घरमा भेला भएका आन्दोलनकारीहरूलाई तितरबितर पार्ने जुन दुस्साहस ग¥यो, आँगनमा बर्सिएको अश्रुग्याँसको गोलाले गर्दा दमको विमारी ७७ वर्षीय मेरी आमा बेहोस भएर ढल्नुभयो । धेरैबेरको उपचारपछि उहाँले आँखा त हेर्नुभयो, तर त्यसपछि झन् सिकिस्त हुनुभयो । बुबालाई समेत त्यसले ठूलो असर पुर्‍यायो । केही वर्षदेखि उहाँ दमको बिमारले गर्दा निकै कमजोर हुँदै जानुभएको थियो । त्यसमाथि गोंगबु क्षेत्रमा प्रहरीले प्रत्येक दिन हानेको अश्रुग्यासको पीरो घर–आँगन कोठाभरिसम्म फैलिएको हुन्थ्यो । त्यो दिन त घरभित्रै अश्रुग्यास बर्सेपछि बुबाआमालाई त्यसले मरणासन्न असर गर्‍यो । घरमै भएकी मेरी छोरी डा. अन्जनाबाट तत्काल गरिएको उपचारले उहाँलाई केही राहत त पुर्‍यायो, तर त्यसको दीर्घकालीन असर हराउन सकेन । त्यो घटना नै उहाँको आयु छोट्याउने कारक बन्यो । अश्रुग्यासको कारण विरामी बुबाआमाको हेरचाह र आन्दोलनकारीलाई खाजा खुवाउनु श्रीमती प्रतिमा केसीको दैनिकी ने बनेको थियो ।  

ती दिनहरूमा गोंगबु क्षेत्रमा अश्रुग्याँसको पिरो खारयुक्त वायु सधै बहिरहन्थ्यो । कमजोर मानिसलाई सास फेर्न पनि गाह्रो हुने त्यसबेला बुबा–आमा घरमा बस्न नसकेर अर्को भाई डा.केदारनरसिंहको घरमा बस्न जानुप¥यो । त्यसबेलासम्म दिनको दुईचार घण्टा अक्सिजन लिँदा पुग्ने आमालाई त्यो घटनापछि चौबिसै घन्टा अक्सिजन छोड्न नसक्ने अवस्थामा पु¥यायो । उहाँ त्यसपछि क्रमशः पूरै ओछ्यान पर्दै जानुभयो । हामी सबैको चाहना र भरमग्दुर कोशिश थियो, आमा अझै केही वर्ष बाँचिदिए हुन्थ्यो । तर कुनै उपाय लागेन । उक्त अश्रुग्यास काण्डले आमाको निधन नजिक ल्यायो र २०६६ असोज १३ गते सोमबार घटस्थापनाको अघिल्लो दिन उहाँको दुःखद देहावसान भयो ।

जनआन्दोलन शुरू भएको पहिलो दिन चैत्र २४ गते पेशागत संघ–संगठनहरूले चलाएको आन्दोलनमा ऐक्यबद्धता जनाउन बिहान ७ः३० बजे घरबाट निस्केका मेरो भाई डा. केदारनरसिंह के.सी.लाई शरीरभरि लाठीचार्ज गरी घुँडामा रबरका गोली लागेर अपरेसन गर्नुपर्नेसम्मको घाइते बनायो । जनआन्दोलन समाप्त भएपछि उनले २३ सदस्यीय ‘जनआन्दोलन शहीद परिवार तथा घाइते समन्वय केन्द्रीय समिति’ को अध्यक्षको कार्यभारसमेत सम्हालेका थिए । 

आन्दोलन उत्कर्षतिर बढिरहँदा एउटा जासुस विमान गोंगबु, कलङ्की कीर्तिपुर क्षेत्रमा घुमेर निगरानी गर्न थाल्यो । त्यसमा पूर्वयुवराज पारस बसेका छन् पनि भनियो । तर त्यही विमानबाटै आन्दोलनकारीहरूलाई निर्भिकतापूर्वक दमन गर्ने भन्ने वायरलेसबाट जोडदार निर्देशन आएको भनी प्रहरी अधिकृतहरूले पछि सुनाए । जागिरको दायित्व भएपनि जनआन्दोलनर हामीप्रति आस्था र सहानुभूति राख्ने धेरै प्रहरी अधिकृत तथा जवानहरू थिए । पार्टीका झण्डा बोक्ने र आन्दोलनको अगुवाइ गर्नेहरू सबै प्रहरीको निर्मम लाठीचार्जमा परेका थिए । म आफै पनि त्यस्ता घटनामा धेरै पटक परेको थिएँ ।शान्तिपूर्ण आन्दोलनमा सरिक भएकै सिलसिलामा जगदीश्वरनरसिंह के.सी.लाई पक्राउ गर्न प्रहरीले धेरै कोशिश गर्‍यो । तर आन्दोलनकारीहरूले उनलाई प्रहरीको गिरफ्तारी हुन दिइरहेका थिएनन् । २०६२ चैत्र २९ गते गोंगबु गणेशथानबाट आएको आन्दोलनकारीको जुलुसको नेतृत्व गरेको अवस्थामा प्रहरीले उनीमाथि क्रुरतापूर्वक लाठी चार्ज गर्‍यो र देब्रे हात भाँचिदियो । प्रक्राउ हुनबाट घेरा हाली बचाउने हुँदा ११ जनाआन्दोलनकारीहरूका हात–खुट्टा र करङ् भाँचिने गरी घाइते भएछन् । घाइते अवस्थामै जगदीश्वरले आन्दोलनको अगुवाइ गरे ।

विश्वकै विशालतम् र ऐतिहासिक जनविद्रोहको सूचीमा पर्ने २०६२–६३ को जनआन्दोलन २०४६ सालको जनआन्दोलन सम्पन्न हुने उत्कर्षको दिन चैत्र २४ गते शुरू भएको थियो । २०४६ को जनआन्दोलनकै उपलब्धिको धरातललाई टेकेर पछिल्लो जनआन्दोलन सम्पन्न भयो भने यसले २००७ सालको जनक्रान्तिले लिएको परमलक्ष्य, जननिर्वाचित संविधानसभा गठन गरी त्यसैलाई संविधानको स्रोत बनाउने संकल्पलाई समेटेको थियो । २००७ सालको जनक्रान्ति सम्पन्न भएपछि राजा त्रिभुवनले आफ्नो जीवनकै दोस्रो ‘शाही घोषणा’ मा,“….हाम्रा प्रजाको शासन अबउप्रान्त निजहरूले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानअनुसार होवस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएको….”  भनेका थिए । भनिरहनु नपर्ला, उक्त शाहीघोषणाको मस्यौदा नेपाली काँग्रेसका नेताहरूले नै गर्नुभएको थियो । ००७ सालमा लिइएको त्यो राष्ट्रिय संकल्पलाई पूरा गर्ने कटिबद्धताका साथ २०६२–६३ को जनआन्दोलनले युगान्तकारी परिवर्तन बोकेर आयो र राज्यका साथै प्रत्येक राजनीतिक दल र सार्वजनिक जीवनमा रहेका हामी सबैलाई अनिवार्य अभिभाराका रुपमा निश्चित म्यान्डेट बोकाएर टुङ्गिएको थियो । यसप्रकार तीनैवटा ऐतिहासिक जनआन्दोलनहरूको तर्कसंगत अन्त्य र परिवर्तनको कदम टेक्ने धरातल नेपाली काँग्रेसले नै दिँदै आएको छ ।

सुझबुझ र हेक्का राख्नुपर्ने कुरा के छ भने, इतिहासका उक्त तीनवटै जनआन्दोलनहरू एकअर्काका विपरीत होइन, परस्परका पूरक हुन् । तर २०६२–६३ को जनआन्दोलनलाई ‘दोस्रो जनआन्दोलन’ वा ‘जनआन्दोलन–२’ भनेको सुन्दा मलाई आश्चर्य लाग्छ । हामी तीनवटामध्ये कुन जनआन्दोलनलाई उपेक्षा गर्न वा गुमाउन उद्दत हुँदैछौँ ?

२०६२–६३ को जनआन्दोलन १९ दिनसम्म चलेर विघटित प्रतिनिधिसभाको पुनःस्थापना गरेर पूरा भएको थियो, जुन पुनःस्थापनाको बटमलाइनलाई नेपाली काँग्रेसका तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोइरालाले दृढतापूर्वक उठाउँदै आउनु भएको थियो । अरु कुनै दल र नेताहरूलाई उक्त बटम लाइन उपलब्धीपूर्ण हुन्छ भन्नेमा विश्वास त के, आसा पनि थिएन । सोही जनआन्दोलनले माओवादीलाई खुला राजनीतिमा आउन लोकतन्त्रको धरातल प्रदान ग¥यो भने राजतन्त्रको शान्तिपूर्वक अन्त्य र गणतन्त्रको स्थापना गर्न मार्ग प्रशस्त गर्‍यो ।

अर्को शब्दमा, यो जनआन्दोलनमा माओवादी संसदीय लोकतन्त्रको धरातलमा आउने र सात राजनीतिक दलहरू गणतन्त्रको धरातलमा पुग्ने परिस्थिति निर्माण भयो । २०६२ मंसिर ८ गते सात दल र तत्कालीन माओवादीवीच भएको १२ बुँदे समझदारीपत्रमा हस्ताक्षर उक्त नयाँ सहयात्राको संहिता थियो । त्यसैले पछिल्लो जनआन्दोलनको प्रसंग आउँदा ४ वर्षसम्म सात राजनीतिक दलहरूले चलाएको शान्तिपूर्ण अनवरत आन्दोलन नै मूल आधार हो भन्ने यथार्थलाई बिर्सन मिल्दैन । दलहरूको त्यही आन्दोलनले माओवादीलाई पनि न्यूनतम सहमतिको बिन्दुमा ल्याइ पुर्‍याएको हो । यी सबैमा नेपाली काँग्रेसको भूमिका नेतृत्वदायी, समन्वयकारी र दिग्दर्शकको रुपमा रहेको, अब इतिहासमा अंकित भइसक्यो । 

आन्दोलनकारीहरूमध्ये हेर्दाहेर्दै शहीद भएको, कतिपयका आँखा फुटेको, हातखुट्टा भाँचिएको वा अङ्गभङ्ग भएको, चारतला माथि बसेको बालकलाई छतबाट खसालिदिएको, रातदिनको अश्रुग्याँसको पिरो, आमालाई त्यही अश्रुग्यासले थला पारेर ज्यान लिएको आदि सम्झिँदा अहिले ती महाकठोर दिन कसरी पार लगाइयो भन्ने यादले शरीर सिरिङ्ग हुन्छ । जनआन्दोलनमा शहीद, जिउँदा शहिद, अङ्गभङ्ग र घाइते भएकाहरूको सजीव चित्रले नै हामीलाई कर्तव्य पथमा हिँडाइरहेको छ ।

Email :[email protected]

 

अर्जुननरसिंह के.सी.
सदस्य, केन्द्रीय कार्यसमिति
नेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?