वैशाख ११ को दिनाँकमा देश लोकतन्त्र जिन्दावादको नारा घन्काएर गाउँ घरका सडक किनारा वा शहरका चोक–चोकमा उत्सव मनाउन आतुर थियो, तर दुर्भाग्य वर्ष ०७५ को वैशाख ११ मा छैन नेपाली क्यालेण्डरमा लोकतन्त्र दिवसको तिथि । अरु कसैले होइन, वामसत्ताका नाइके केपी ओली सरकारको मन्त्रीपरिषदले लोकतन्त्र दिवसको विदा कट्टा गरेर लोकतन्त्र दिवसमाथि भद्धा ठट्टा गरेको महिना दिन पनि बितेको छैन ।
नेपाली जनमत सहनशील छ । हरेक मन नपरेका सरकारी कदमलाई नोटिसमा राख्छ, तत्काल प्रतिक्रियात्मक बन्दैन । त्यसको लाभ लिएर लोकतन्त्र दिवस लगायतका नेपाली मौलिक बिदाहरु काटिदिने ओली सत्ता भन्दैछ, देशमा अब विकास र सम्वृद्धिको मूल फुट्दैछ । वाम सरकारका मन्त्रीदेखि प्रधानमन्त्रीसम्मका हर दिनका प्रवचन सुन्दा लाग्छ, देश त जुरुक्कै उठिसक्यो, लम्किसक्यो प्रगति र उन्नतिको पथमा ।
तर भू–धरातलीय तीतो यथार्थ यही हो की जनआन्दोलन २०६३ का दौरान घाइते भएका बनेपाका मुकेश कायस्थको अचेत शरीर जस्तो छ, नेपाल नामक देशको अवस्था लगभग उस्तै उस्तै छ । छैन भन्दा मुकेशको ज्यान छ, शरीर छ, मतिष्क छ, सबथोक छ, तर जीवनको गति र बोली केही छैन, शिवाय एक फिस्स मुस्कान ।
हो, नेपाली लोकतन्त्र दिवसको औचित्य र बिदा कटौतीको ओली सत्ताको घामड निर्णयले नेपाली लोकतन्त्रलाई, लोकतन्त्र दिवसलाई यस वर्ष जानीबुझीकन मात्रै ज्यूँदा शहीद मुकेश कायस्थको अर्को प्रतिमूर्ति बनाइदिएको छ । यस अर्थमा लोकतन्त्र दिवसको वर्ष ०७५ को संस्करण घायल अवस्थामा छ, ज्यूदा शहिद मुकेश कायस्थको ओछ्यान परेको १२ वर्षे शिथिल जीवन जस्तै ।
यस अर्थमा देशमा छ भन्ने गरिएको लोकतन्त्र, संविधानमा लिपिवद्ध लोकतान्त्रिक गणतन्त्र र जनजनलाई मन्त्रोच्चारण गराइएको लोकतान्त्रिक व्यवस्था असली अर्थमा जनताको जीवन दैनिकीको पर्याय बन्न सकेको छैन । यही नै हो हाम्रो नेपाली लोकतन्त्रको हाँसो होईन, अट्टाहास ।
२०६३ को वैशाख ११ मा तत्कालीन राजा ज्ञानेन्द्रले शान्तिपूर्ण रुपमा जनताको नासो जनतालाई फिर्ता दिएर श्रीपेच त्याग्ने निर्णय नलिइदिएका भए के हुन्थ्यो? राजहठको प्रदर्शनमा तत्कालीन राजा ज्ञानेन्द्र उत्रिएको भए के नेपाल अहिलेको सिरीया सरह १२ वर्ष अघि नै भैदिन्थ्यो कि? यी र यस्ता धेरै प्रश्नहरु त अहिले फगत कल्पना मात्रै लाग्न सक्छन् ।
तर तीतो सत्य यही हो की १२ वर्ष अघिको वैशाख ११ मा जनताको सडक शक्ति र तत्कालीन राजा ज्ञानेन्द्रको शान्तिपूर्ण सत्ता हस्तान्तरणको जुन बलिदानीपूर्ण लेनदेनमा टुंगिएको थियो, त्यसको मर्म र भावनाको परिपूर्तिमा नेपाली लोकतन्त्रका मसिहाहरू इमानमा खरो उत्रिएनन् । त्यसले लोकतन्त्रलाई सत्ताको बैसाखीमा सीमित गरिदियो, शब्दमा सीमित गरिदियो ।
र, तत्कालीन गृहमन्त्री कमल थापाले सत्ता उन्मादमा जसरी २ दर्जन बढी निर्दोष नागरिकलाई अनाहकमा शहीद बनाएका थिए, त्यसको हिसाब पनि यस बीचमा मिल्न मिलाउन सकेन नेपाली लोकतन्त्रले । उल्टो कमल थापालाई नै सत्तामा पुर्याउने जुन भुल गरयो नेपाली सत्ता राजनीतिले, त्यही हो नेपाली लोकतन्त्रको ठूलो राजनीतिक मजाक र सत्ता केन्द्रित राजनीतिको नैतिक मूल्यको स्खलन । भलै चुनाव ०७४ ले कमल थापा पन्थीहरुलाई झापाका एक थान माननीय बाहेकमा धुलोमा मिलाइदिएको छ, तर त्यो पनि समुल समाप्ती र पर्याप्त शोधभर्ना होइन नै वैशाख ११ २०६३ को ।
अहिले लोकतन्त्रवादी जनताले लोकतन्त्र लगायतका कटाइएका बिदाहरुको माग गरेर माइतीघर मण्डलामा प्रदर्शन गर्नु पर्ने जुन दरिद्रता सडकमा पोखिएको छ, त्यही हो यहाँका लोकतन्त्रका ठेकेदारहरुको शासकीय कमजोरी र सत्ता दम्भको लालबुझक्कड पटमुख्र्याईं । लोकतन्त्र दिवस लगायतका परम्परागत सरकारी बिदाको कटौति गर्ने तर दिनभर सरकारी मन्त्री र प्रधानमन्त्री रिबन काटेर, भाषण छाटेर दिन कटाउने पञ्चायती संस्कृतिलाई उन्नत पारिरहँदा नै लोकतान्त्रिक पद्धति, संस्कृति र भावनाको खिल्ली उडाइरहेका छन । त्यसैले त लोकतन्त्रको असली बोध आफूलाई मात्रै परिवर्तनका मसिहा ठान्ने वाम दलको तीन चौथाईको बहुमत सत्ताले पनि जनतालाई गराउन चुकेको छ ।
लोकतन्त्रको असली बोध आफूलाई मात्रै परिवर्तनका मसिहा ठान्ने वाम दलको तीन चौथाईको बहुमत सत्ताले पनि जनतालाई गराउन चुकेको छ ।
अब वाम सत्तालाई लोकतन्त्रको गीता पाठ गरेर लाकतान्त्रिक मसिहा कहलिने छुट बाँकी छैन । ओली र उनको सत्तामण्डलीलाई भाषण र उदघाटन गरेर, सम्वृद्धिका उधारा आश्वासन बाँडेर समय घर्काउने र विरोधी तर्साउन समय र छुट छैन । लोकतन्त्रप्रतिको वाम प्रतिवद्धता कुराले होइन, कामले सिद्ध गर्न एक पल पनि ओली सत्ता चुक्छ भने निश्चित छ, हिजो ज्ञानेन्द्र सत्ताका विरुद्ध उर्लेको २०६३ को जनसागर अब ओली सत्ताको हावा गफको प्रतिवादमा उत्रन बेर लाग्ने छैन ।
सत्ताले अब त्रास होइन, आश, गफ होइन काम, भाषण होइन, रासन दिन एक निमेष मात्रै ढिला गर्यो भने यही वैशाख ११ कै वरपर जनताले ओलीसत्ता मुर्दावादको नारा घन्काउने दिन नआउला भन्न सकिन्न । किनभने राजसंस्था छाया परेर हुर्केको १२ वर्षे लोकतन्त्र अब आश्वासनमा घिसीपिटी घस्रेर मात्रै अघि बढ्ने छैन ।
लोकतन्त्र महंगी घटाएर जनताको घर दैलोबाट कहिले भित्र छिर्छ? लोकतन्त्र सडक चिल्ला पारेर कहिले सडकमा धूवाँ धूलोरहित बन्छ? लोकतन्त्र कहिले छिमेकसँग टिमेक नझिकी र लम्पसारवादी आत्मसर्मण विना नै उच्चो शिरमा अन्र्तराष्ट्रिय मन्चमा उभिन्छ? यी र यस्ता धेरै प्रश्नहरुको व्यवहारिक उत्तरमा वैशाख ११ ले जनभावनाको सम्बोधन गर्न सक्नै पर्छ । होइन भने एकथान श्रीपेचधारी राजालाई नागार्जुन रवाना दिएर श्रीपेच विनाका नयाँ छोटे राजाहरुको कुशासनको शिकार भएर नेपाली जनमनले लोकतन्त्र जिन्दावादको नक्कली नारा कम्तिमा अब लगाउन सक्ने छैन ।
शासकहरुले जनतालाई भ्रम बाँडेर सत्ता आयु लम्ब्याउने षडयन्त्रको अन्त्य उहिल्यै १२ वर्ष पहिल्यै भएको हो । त्यो चेतबाट जागृत भएर ओली सत्ताले कर्मसिद्धि गर्नु नै लोकतन्त्रको असली पर्वोत्सव होला कि?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया