अवैधानिक रुपमा विना कागजात बसिरहेका झन्डै ९ हजार नेपालीलाई अमेरिकाले एक बर्षभित्र देश निकाला गर्ने भएको छ । अमेरिकाको ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ को आन्तरिक दस्तावेजको हवाला दिँदै द वासिंटन पोष्टले अनलाईन संस्करणमा लेखेको छ ।
सन् २०१५ को विनाशकारी भूकम्पपश्चात अमेरिकाले ३ बर्षका लागि अनडकुमेन्टेड नेपालीलाई टेम्पोररी प्रोटेक्टस स्टाटस (टीपीएस) प्रदान गरेको थियो । ३ बर्षको सहुलियत अवधि सकिएसँगै अमेरिकाले अनडकुमेन्टेड नेपालीलाई घर फर्काउने योजना तयार गरेको हो ।
पोष्टका अनुसार अमेरिकाले जुनसम्ममा नेपालीलाई प्रदान गरेको टीपीएस कोटा खारेज गर्नेछ र स्वदेश फर्कनका लागि १ बर्षको समय दिनेछ । टीपीएसको अवधि जुन महिनासम्मका लागि भएपनि समय समाप्त हुनुभन्दा ६० दिन पहिले निर्णय गरिसक्नुपर्ने प्रावधानका कारण विभागले केही दिनमै टीपीएस खारेजीको निर्णय सार्वजनिक गर्न सक्नेछ ।
भूकम्पमा ज्यान गुमाएका आफन्तको अन्तिम संस्कार गर्न, पीडित आफन्त भेट्न र रोजगारीको राहत प्रदान गर्नका लागि अमेरिकाले नेपाली नागरिकलाई टीपीएस सुविधा दिएको थियो । करिब १५ हजार नागरिकले टीपीएस सुविधा लिएपनि हाल यस्तो सुविधा लिएका ९ हजार नेपाली मात्र अमेरिकामा रहेको तथ्यांक विभागसँग छ । यी मध्ये अधिकांश नागरिक न्यूयोर्क सहरमा बसिरहेका पोष्टले लेखेको छ ।
नेपालीलाई प्रदान गरिएको टीपीएस सुविधा खारेज गर्ने निर्णयमा विभागका सचिव क्रिश्जेन नेल्सनले हालसम्म हस्ताक्षर नगरेपनि आन्तरिक दस्तावेजको विश्लेषण गर्दा यो निर्णयलाई छिट्टै सदर गर्ने देखिएको छ ।
अमेरिका फस्ट नारा दिएर राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प प्रशासनले पछिल्लो पटक अवैद्य रुपमा बसोबास गरिरहेका आप्रवासीमाथि कठोर नीति अपनाएको छ । पछिल्ला महिनामा मात्रै अमेरिकाले साल्भाडोरका दुई लाख र हाईटीका ५० हजार नागरिकको बसोबास सुविधा खोसेको छ । निकारागुवा र सुडानका सैयौँ नागरिक पनि बसोबास सुविधा खारेजीको मारमा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया