गीत चोरीको तनावः प्रेम बिहे गर्ने एउटा, बूढी उडाउने अर्को

काठमाडौं । केही वर्ष भयो, कुनै गीत हिट भयो कि, त्यो गीतमा आधारित दर्जनौं गीत गाइन्छन्, रेकर्ड गराइन्छन् । यसलाई हामीले कभर गीत भनेर बुझ्दै आएका छौं । यसरी कभर गीत गाएर चर्चामा आएका कैयन् गायकले आफूलाई अरुका गीत गाएरै हिट बनाएका छन् । केही उदाहरण त यस्ता पनि छन् कि, एउटै गीतले वास्तविक स्रष्टाभन्दा कभर गीत गाउने गायकलाई दर्शकले बढी चिन्छन् ।

कभर गीत गाउँदाका केही फाइदा छन् – रिस्क कम, शब्द लेख्ने र संगीत सिर्जना गर्ने झण्झटबाट मुक्त, चलेको गीत गाउँदा दर्शकले रुचाउने सम्भावना बढी आदि आदि ।
त्यसरी गाइएका गीतमा, अझ कतिपय अवस्थामा त ओर्जिनल स्रष्टाको नाम पनि राखिएको हुँदैन । गीत गाइन्छन् । गीत सुन्ने कति दर्शकले ओर्जिनल स्रष्टालाई चिन्दैन तर कभर गीत गाउनेको ठूलो फ्यान सङ्ख्या भइसकेको हुन्छ ।

तर, के यसरी गीत गाइनु जायज हो? नयाँ र पुराना गीत गाइनु यो ट्रेन्डले ओर्जिनल स्रष्टालाई असर पार्ला या घाटा पार्ला? यसमा सबैको आ–आफ्नै मत भएपनि धेरैले यसरी कभर गीत गाइने पछिल्लो प्रवृत्तिले, धेरैले अरुका गीत गाएर गायक बन्ने सपना बोक्न थालेको धारणा राख्छन् ।

‘माझी दाइ पोखरा फेवातालको’ गाएर चर्चामा आएका गायक मिलन लामाले नेपालमा अरुको सिर्जनालाई प्रयोग गर्ने सम्बन्धमा कुनै नियम नभएकाले यसरी गीत गाइएको बताउँछन् । पहिले वास्तविक स्रष्टालाई सोधेर गीत गाइने गरेपनि पछिल्लो केही वर्ष यता नसोधी गीत गाइने गरेको उनी बताउँछन् । 

‘एउटा गीत तयार पार्न बच्चा जन्माउनुजस्तै गाह्रो हुन्छ, तर यहाँ चलेको गीत सोध्दै नसोधी गाइदिने चलन छ’, मिलन थप्छन्, ‘विकसित देशमा अर्काको गीत गाउँदा पनि रोयल्टी तिर्नुपर्छ, तर यहाँ मनपरी गीत गाइएको हुन्छ ।’

कुनै प्रतिस्पर्धामा कुनै गीत गाउनुलाई भने उनी सामान्य रुपमा लिन्छन् । प्रतिस्पर्धामा गाउँदा आर्थिक रुपमा फाइदा नपुगेपनि उनै गीत गाएर देश तथा विदेशमा गीत गाइन्छन् भने त्यसरी गीत गाइएमार्फत ओर्जिनल स्रष्टाले पनि केही रकम पाउनुपर्ने लामाको धारणा छ । 

‘यदि कसैले अनुमति लिएर पुराना गीत रेकर्ड गर्छ भने ठीकै छ, अनुमति दिने र नदिने पनि स्रष्टाको जिम्मा हो’, लामा भन्छन्, ‘म आफै पनि सर्जक हुँ, गीत तयार पार्न कति गाह्रो छ, बुझेको छु, हामीकहाँ जे गरेपनि हुने कानून छ, नियमन हुन सकेको छैन ।’

पुराना स्रष्टा पनि गीत गाएरै आफ्नो जीवन धान्ने अवस्थामा छैनन् । तर, ती गायकका गीत व्यावसायिक प्रयोजनका लागि पनि कभर गायकले गाइदिने तर त्यसवापत् रोयल्टी तिर्ने गरेका छैनन् । स्टेज पनि उनैले पाएका हुन्छन् ।

यस्तो प्रवृत्तिलाई वरिष्ठ गायक कुमार बस्नेतले पुराना कलाकारलाई सबैले हेयको दृष्टिले हेरेको बताउँछन् । ‘अर्काका गीत चोर्नु पाप हो, हामीलाई जुम्रा मारेसरह मारिएको छ’, कुमार अगाडि थप्छन्, ‘हाम्रा गीत अरुले गाएर हिट भएका छन्, हामीलाई कसैले बिरामी हुँदा पनि हेर्दैनन्, कस्तो देशमा जन्मिएछु भन्ने लाग्छ ।’

एउटा गीत निकाल्नलाई वर्षौंसम्म लाग्ने तर गीत चोर्ने र तोडमोड गरेर कभर गीत गाउनेले दुई मिनेटमै ओर्जिनल स्रष्टालाई मार्ने गरेको उनी बताउँछन् । पूरै संगीत क्षेत्रमा परेको समस्या कसलाई सुनाउने भनेर पनि अहिलेसम्म कुनै मेसो नआएको बताउँछन् बस्नेत ।

‘दुई मिनेटमै भाका चोर्ने, गीत चोर्ने यहीँ छन्, हामीलाई त्यही गीत तयार पार्न वर्षौं वर्ष लाग्थ्यो, फेरि नाम उनीहरुले कमाउँछन्, हामीलाई मार्छन्’, बस्नेत आक्रोश पोख्दै थप्छन्, ‘यो त कस्तो भएको छ भने दश वर्ष प्रेममा परेर बिहे गर्ने, अर्कोदिनबाट श्रीमती अर्कैले लगिदिने जस्तै भएको छ, हामीलाई ज्युँदै मारिएको छ ।’

नेपालमा भिडियोका लागि सबैभन्दा धेरै हेरिने साइट युट्युबमा हेर्ने हो भनेपनि एउटा पुरानो गीतमा कभर भन्दै गाइएका गीत र भिडियोको रिजल्ट धेरै आउने गर्छ । तीमध्ये केही गीत व्यक्तिगत प्रयोजनका लागि हुन्छ भने केही गीत व्यावसायिक प्रयोजनका लागि समेत हुन्छन् । तर, यसबारेमा स्रष्टालाई न खबर गरिएको हुन्छ, न स्रष्टा केही बोल्छन् ।

दुई मिनेटमै भाका चोर्ने, गीत चोर्ने यहीँ छन्, हामीलाई त्यही गीत तयार पार्न वर्षौं वर्ष लाग्थ्यो, फेरि नाम उनीहरुले कमाउँछन्, हामीलाई मार्छन् ।

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्, कहिले तिम्रो पछ्यौरीमा अल्झें लगायतका दर्जनौं सदावहार गीतमा संगीत दिएका संगीतकार आलोक श्री अहिलेका धेरै संगीतकार तथा गायकमा सिर्जनशीलताको कमी हुँदा अरुका गीतबाट प्रभावित हुने गीत गाएको÷रचना गरेको बताउँछन् । पछिल्लो समय गीतमा लाचारीपन बढ्दै गएको उनी बताउँछन् । ‘पहिले कुनै स्रष्टाले एउटा गीत तयार पार्न ६ महिना लाग्यो भन्ने गर्नुहुन्थ्यो, तर अहिले यताको गीत उता पारेर ६ घण्टामा गीत तयार पारेका हुन्छन्, यसले ओर्जिनल स्रष्टालाई असर पारेको छ’, आलोक थप्छन्, ‘मेरो भन्दा पनि नातिकाजी, रञ्जित गजमेर लगायतका गीत सुन्नुस्, कस्ता थिए, आफै थाहा पाउनुहुन्छ ।’

उनी अहिलेका धेरैजसो संगीतकर्मीमा सिर्जनाको कमी हुँदा गीति क्षेत्रमा यस्तो समस्या आएको बताउँछन् । एउटाको गीत, शब्द अर्कोमा ल्याइदिने, मेलोडी पनि अर्को बिटबाट चोरिदिने गर्दा संगीतमा उत्कृष्टता नआएको उनी बताउँछन् ।

‘अहिलेका चल्तीका भनिएका केही संगीतकार केही समयपछि हराएर जानेछन्, वास्तविक स्रष्टाहरुको खोजी हुने समय आउनेछ, अहिले अर्काकै गीत गाउने कलाकार पनि रुचाइएजस्तो देखिएका छन् ।’, उनी भन्छन् ।

साथै उनी चोरको कुनै अस्तित्व नहुने र केही समयमै मेटिएर जाने बताउँछन् । भन्छन्, ‘हामीले संगीतको सिर्जनशीलतामा नै जोड दिन जरुरी  छ ।’

पछिल्लो समयको संगीत बजारलाई हेर्ने हो भने के देखिएको छ भने नयाँ कलाकार संगीतको नयाँ स्वादसँग त आएका छन् तर धेरै कलाकार पुराना कलाकारका गीत गाएर चर्चामा पुगेका छन् । यसरी आफ्ना गीत गाएर पनि तिनै स्रष्टालाई नचिनेझैं गर्दा गीत जन्माउने कलाकारको मन दुखाइ भइरहेको छ । आफ्नै गीत गाएर हिट हुने कलाकारले पनि नचिनेझैं गर्दा आफूलाई अन्याय गरेझैं लाग्ने कुमार बस्नेत बताउँछन् । भन्छन्, ‘वर्षौं लगाएर हामीले तयार पारेका गीत गाएर हिट हुने गायकले त हामीलाई चिन्दैनन् भने अरुको त के आशा भयो र?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?