काठमाडौं । केन्द्रिय तथ्यांक विभागले चालू आर्थिक वर्षको अन्त्यसम्ममा करिब ६ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ ।
चालू आर्थिक वर्षको ६ महिनासम्मको आर्थिक क्षेत्रहरुसँग सम्बन्धित सूचना तथा आँकडाहरुको आधारमा तयार पारेको तथ्यांकमा यस वर्ष मुलुकको आर्थिक वृद्धिदर करिब ६ प्रतिशत अर्थात् ५ दशमलव ८९ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको हो ।
विभागले चालू आर्थिक वर्षको हालसम्म प्रतिकुल मौसमका कारण कृषि उत्पादनमा भने ह्रास आएको पनि स्पष्ट पारेको छ । त्यसैगरी रेमिटयान्समा पनि गिरावट आएको पवभागका महानिर्देशक सुमनराज अर्यालले बताए । विभागले पर्यटकहरुको आगमनका भएको वृद्धि तथा विद्युत आपूर्तिमा भएको सहजताका कारण पनि मुलुकको अर्थतन्त्र सहज देखिएको पनि जनाएको छ ।
त्यस्तै पुनर्निमाणको कामले गति लिएकाले मुलुकको आर्थिक वृद्धिदर सकारात्मक देखिएको महानिर्देशक अर्यालले जानकारी दिए । उनले जलविद्युत, अन्तर्राष्ट्रिय विमानस्थललगायतका निर्माण कार्यले पनि आर्थिक वृद्धिदरलाई अघि बढाउने देखिएको विभागको भनाई छ ।
त्यस्तै विभागले मुलुकको शैक्षिक, स्वास्थ्य लगायत सामाजिक सेवाहरुमा पनि क्रमिक रुपमा प्रगति हुने देखिएको पनि अनुमान गरेको छ ।
चालू आर्थिक वर्षको कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रले २७ दशमलव १० प्रतिशत, गैर कृषि क्षेत्रले ७२ दशमलव ९० प्रतिशत योगदान दिने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया