काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सही नेतृत्वबाटै पार्टी बलियो हुने बताएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा ११ दिनदेखि जारी अनसन कार्यक्रममा ऐक्यवद्धता जनाउन पुगेका उनले १४ औं महाधिवेशनबाट पार्टी कस्तो निर्माण गर्ने भन्ने निर्णय कार्यकर्ताको भएको बताए ।
‘कांग्रेस बलियो बनाउने तपाईंहरूको हातमा छ । चुक भए कांग्रेस फेरि कमजोर भएर जान्छ,’ उनले भने । उनले पार्टीलाई कमजोर हुन नदिन सही नेतृत्व निर्माणमा गर्नमा गम्भीर हुन कार्यकर्तालाई आग्रह गरे ।
नेता कोइरालाले पार्टीभित्रको आन्तरिक लोकतन्त्र संकटमा पुगेको बताए । उनले लोकतन्त्रमा विधि–विधान र नियमलाई टेकेर हिड्न सक्नुपर्ने बताए । उनले भने, ‘कमजोर भएको आन्तरिक लोकतन्त्र सुदृढ गराउन सबै लाग्नुपर्छ ।’
नेता कोइरालाले डडेल्धुराको आवाज केन्द्रले नसुनेको बताए । उनले भने, ‘सबैले अन्त्यमा जय नेपाल भनौँ, बालुवाटारमा बसेका शेरबहादुरजीले सुन्ने गरेर फेरि भनौँ ।’
अनशन स्थगित
क्रियाशिल सदस्य वितरण र वडा अधिवेशन स्थगितको माग गर्दै नेपाली कांग्रेसको असन्तुष्ट पक्षले डडेल्धुरामा गरेको अनशन स्थगित भएकोे छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी तरिकाले अधिवेशन गराएको भन्दै डडेल्धुराका सभापति कर्ण मल्ल पक्षीय नेता तथा कार्यकर्ता विगत ११ दिन देखी अनशनमा बसेका थिए । तर आइतवार नेपाली कांग्रेसका केद्रीय नेता डडेल्धुरा पुगेपछि भने अनशन स्थगित भएको हो ।
आइतवार कांग्रेस केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा. शेखर कोइराला र गुरुराज घिमिरे डडेल्धुरा पुगेका थिए । शिर्ष नेताहरुले माग सम्बोधन गर्नका लागि पहल गर्ने जनाएपछि तत्काललाई अनशन स्थगित गरिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया