उत्तर कोरियासँग वार्ता शुरू हुनासाथ बाहिरिन सक्छु : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको सम्भावित द्विपक्षीय वार्ताका सवालमा नयाँ धारणा सार्वजनिक गरेका छन् । उत्तर कोरियाली नेता किम जङ उनसँग  शिखर सम्मेलनका लागि तीन वा चार सम्भावित मितिबारे अमेरिकाले छलफल गरिरहेको छ । 

उत्तर काेरियाली नेता किमले नै वार्ता चाहेको जनाउँदै ट्रम्पले वार्ताक्रममा अाफु छलफल शुरू हुनासाथ बाहिरिन पनि सक्ने बताएका हुन् । फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले कोरियाली पक्षले अाफुसँग भेट्न चाहेको बताएका छन्, तर वार्ताको वीचबाटै उठेर हिँड्न सक्ने ट्रम्पको प्रतिक्रियाले कोरियाली प्रायद्विपमा शान्ती स्थापना र एकता प्रयासमा अमेरिकी चुनाैती अझै बाँकी रहेको देखिएको छ । 

ट्रम्पले भने, “कसले जानोस छलफल शुरूहुँदासाथ म बाहिरिने छु वा बैठक नै हुनेछैन ।”

ट्रम्पले फक्स न्यूजसँगको कुराकानीमा भने, “हामीले अझै शिखर सम्मेलनका लागि मितिको निर्णय गर्न बाँकी छ । हामीसँग तीन वा चार सम्भावित मितिका बारेमा छलफल भइरहेको छ र वार्ताका लागि विभिन्न पाँच स्थान निर्धारण गरिने छ । यो सम्भवतः नजिक ल्याइने छ ।”

अमेरिकी नेता ट्रम्पले यसअघि उत्तर कोरिया र दक्षिण कोरियाली नेताहरूबीच शुक्रबार हुने वार्ताको केही हप्ताभित्र अर्थात् आगामी मे महिनाको अन्त्य वा जुन महिनाको शुरूमा आफूहरू (ट्रम्प र किम)को भेटवार्ता हुने बताएका थिए। 

कोरियाली प्रायदीपमा देखिएको सङ्कट समाधानका लागि उत्तर कोरियाली तथा दक्षिण कोरियाली अधिकारीको विभिन्न चरणको छलफल पछि विश्व समुदायको चासोको बिषय बनेको उत्तर कोरियाली आणविक तथा क्षेप्यास्त्र परीक्षणको कार्यक्रम रोकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?