काठमाडाैं । असोज १ बाट स्वास्थ्य मापदण्ड पालना गर्दै उपत्यकामा स्थानीय तहहरूले डीसीसीएमसीसँग समन्वय गरेर विद्यालय खोल्ने निर्देशनअनुसार अधिकांश विद्यालय भर्चुअल कक्षालाई निरन्तरता दिई तिहारपछि विद्यालय खोल्ने योजनामा रहँदा केही विद्यालय भने नियमित पढाइ तथा परीक्षा सञ्चालन गरिरहेका छन् ।
दशैँको मुखमा २० दिनको लागि विद्यालय खोल्ने निर्णय गरेर प्रशासन र महानगरपालिकाले शुल्क उठाउन सहजीकरण गरिदिएको अभिभावकको आरोप छ ।
अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘शुल्क उठेन, भौतिक रूपमा विद्यालय खोल्दा विद्यार्थी विद्यालय जान्छन्, अभिभावक शुल्क उठाउन बाध्य हुन्छन् भन्ने मनोपविज्ञानको कारणले विद्यालय खोलिएको हुनसक्छ । नत्र १०–१२ दिनको लागि किन विद्यालय खोल्न पथ्र्यो । हामीले विद्यालय खोल्न हुन्न भनेका होइनौँ ।’ दशैँपछि वस्तुस्थिति बुझेर मात्र विद्यालय खोल्नुपर्नेमा उनको जोड छ ।
तर, विद्यालय सञ्चालकहरू भने सो कुरा मान्न तयार छैनन् । काठमाडौंस्थित न्यूटन हाइस्कुलका प्रधानाध्यापक राम केसी, शुल्क उठाउनका लागि मात्र विद्यालय नखोलेको बताउँछन् ।
उनी भन्छन्, ‘शुल्क वृद्धि गरेको अवस्था छैन, उहाँहरूको समस्यालाई पनि बुझेर अनावश्यक रूपमा प्रेसर गर्ने यतिबेला नै देऊ भनेको अवस्था पनि छैन । स्वभाविक रूपमा विद्यालयमा बालबालिका पढाइसकेपछि उहाँहरूले लाग्ने दायित्व तिर्नुपर्छ, त्यो कुरामा उहाँहरू पनि जानकार हुनुहुन्छ । शुल्कलाई मात्र आधार बनाइएर विद्यालय खोलेको होइन ।’
भौतिक रूपमा पठपाठन हुँदा विद्यालयलाई विद्यार्थीको सिकाइ उपलब्धि हाँसिल गर्न सहज भएको छ । ‘भौतिक रूपमा पठनपाठन हुँदा २ सिफ्टमा चलाइरहेका छौँ । यसले गर्दा विद्यार्थीलाई भौतिक दूरी कायम गर्ने, नियमन गर्न सजिलो हुने अवस्था छ । कोभिडको समयमा पनि हामीले विद्यालय एक ढंगले चलाइरहेका थियौँ । कोरोनाअघिको सिकाइ उपलब्धि हाँसिल गर्न हाम्रो विद्यालयलाई गाह्रो छैन ।’
टंगाल माविका प्रधानाध्यापक राजेन्द्र अधिकारी बताउँछन् । न्यूटन हाइ स्कुलका प्रधानाध्यापक राम केसी भन्छन्, ‘भौतिक रूपमा परीक्षा गर्दा विद्यार्थीहरूले पनि सहभागिता जनाउन सक्ने, विद्यालय खोल्दा छुटेका कोर्षहरू पनि रिभिजन गर्न मिल्ने भएकाले शैक्षिक माहोल छ । कति विद्यार्थीले विद्यालयमा आएर अध्ययन गर्न सक्छन् भन्ने थाहा हुन्छ । डेढ घन्टाको परीक्षा अनलाइबनट अब्जेक्टिभ र भाइबाबाट लिन्छौँ डेढ घन्टाको परीक्षा भौतिक रूपमा लिन्छौँ । विद्यार्थी संख्या एकिन गर्न सहज हुन्छ ।’
विद्यालयबाहिर पर्याप्त सावधानी अपनाइएको पाइँदैन । विद्यालयसम्म पुग्न सवारीसाधन र सार्वजनिक स्थलमा लापरबाहीका कारण कोरोना सरिहाल्छ कि भन्ने त्रास विद्यार्थीमा छ । डरैडरमा विद्यालय पुगेका विद्यार्थीलाई शैक्षिक सत्र नै खेर जाने पो हो कि भन्ने चिन्ता पनि छ । भौतिक रूपमा पढ्न पाउँदा विद्यार्थी भने खुसी छन् । यद्यपि उनीहरूमा आफ्नो कारणले घरका वृद्धवृद्धामा संक्रमण फैलन्छ कि भन्ने त्रास भने बाँकी नै छ ।
‘आफ्नो इयर लस हुने डर त भैहाल्छ नि, भौतिक रूपमा कक्षा खुल्यो उत्साही छौँ । फेस टु फेस पढ्न पाइन्छ, नबुझेको कुरा सोध्न पाइन्छ । समूहमा छलफल गर्न पाइन्छ खुशी लाग्छ’, प्रसंशा कार्की आफ्नो अनुभव सुनाउँछिन् ।
अर्का विद्यार्थी छत्रबहादुर श्रेष्ठ भन्छन्, ‘कक्षामा बस्दा पनि कोरोना होलाजस्तो लाग्छ । भैहाल्यो भने पनि हामी त अलि योङ छौँ, गाह्रो नहोला त्यति । घरमा हजुबा हजुरआमा वृद्धवृद्धम हुनुहुन्छ उहाँहरूलाई हामीले गर्दा सर्ने हो कि भन्ने डर छ । हाम्रो लागि पनि भ्याक्सिन लगाइदिए हुन्थ्यो ।’
शुल्कको लेनदेन र नाफाघाटाको हिसाबकिताब पछि मिलाउन सकिन्छ । तत्कालको लागि विद्यार्थीमा देखिएको मनोवैज्ञानिक भय हटाउन अभिभावक, विद्यालय र शिक्षक एकताबद्ध भएर लाग्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया