अब पाल्पाका कुमाल बालबालिका खाजा खाँदै, पढ्दै

कुमाल समुदायका बालबालिकालाई नियमितरुपमा विद्यालय ल्याउने उद्देश्यका साथ पाल्पाको रिब्दीकोट गाउँपालिकाले दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । रिब्दीकोट गाउँपालिका–१, जोगिथुमस्थित कालिका आधारभूत विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन हुने भएको हाे । 

आर्थिकरुपमा अति विपन्न कुमाल समुदायका बालबालिका कक्षा छाडेर श्रम गर्न जान थालेपछि विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरी बालबालिकालाई विद्यालयमा टिकाउन खोजिएको हो । 

नयाँ शैक्षिकसत्रमा बाल कक्षादेखि कक्षा ८ सम्म १२९ बालबालिका विद्यालयमा भर्ना भएका छन् । बालकक्षामा २०, कक्षा १ मा १६, कक्षा २ मा १०, कक्षा ३ मा १८, कक्षा ४ मा १४, कक्षा ५ मा १३, कक्षा ६ मा १३ कक्षा ७ मा १० र कक्षा १६ जना बालबालिका विद्यालयमा नयाँ शैक्षिक सत्रमा भर्ना भई अध्ययन गर्दै आएका छन् । 

ज्येष्ठ १ गतेदेखि यहाँको कालिका आधारभूत विद्यालयमा दिवा खाजा सञ्चालन हुनेछ । विद्यालयको भर्ना अभियानका क्रममा समेत तीनजना बालबालिका भर्ना गरिएको छ । गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले दिगो विकासको लक्ष्यसहित सन् २०३० सम्म कुपोषण अन्त्य गर्न दिवा खाजा कार्यक्रम सञ्चालन गर्न लागेको बताए। 

गाउँपालिकाले प्रतिविद्यार्थी प्रतिदिन रु २० बराबरको आर्थिक सहयोग दिने प्रशासकीय अधिकृत अनिल पौडेलले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठगबहादुर कुमालले दिवा खाजा कार्यक्रमपछि कक्षा छाड्ने बालबालिकाको संख्यामा कमी आउने बताए। स्थानीय तह र विद्यालयबीच दिवा खाजा कार्यक्रम सम्झौता भएको छ । 

गाउँपालिका अध्यक्ष जिसीले रु १२ हजार आर्थिक सहयोग गरेपछि ठूलो मात्रामा आर्थिक सहयोग जुटिसकेको छ । यस्तै, रिब्दीकोट-१ का वडाध्यक्ष विष्णुप्रसाद गैरेले रू २० हजार र स्थानीयहरू व्यक्ति तथा संघ-संस्थाले सहयोग गर्ने क्रम जारी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?