कंचनपुर- प्रधानमन्त्री के.पी. शर्मा ओली भारत भ्रमणबाट फर्किएको आधा महिना नपुग्दै भारतले फेरि नेपाली भूमी अतिक्रमण थालेको छ ।
भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले यो पटक कञ्चनपुरको पुनर्वासमा दादागिरी देखाउँदै नेपाली सिमाको तारबार भत्काईदिएको छ । नेपाल–भारत सीमा स्तम्भ नम्बर १९४ नजिकै नेपाली भुमिमै गाड्न थालिएका पोलहरु समेत एसएसबीले उखेलिदिएको छ ।
अन्तरराष्ट्रिय मर्यादा उलंघन गर्दै भारततर्फबाट ठूलो संख्यामा नेपाली भूमी प्रवेश गरेको एसएसबीको जत्थाले अत्याधिक बल प्रयोग गर्दै नेपाली संरचना भत्काएका हुन । नेपाली पक्षले पुनर्वासको बिचफाँटामा भारतीय निकुञ्जबाट नियमित आउने गरेका जनवारहरुलाई रोक्न तारवार गरी पोल खडा गरिरहेको थियो ।
नेपाल प्रहरीकै अगाडि भारतीय एसएसबीले विद्युतीय तारबारको पोल भत्काईदिएको हो । बुधबार भारतले भत्काईदिएको यो तारबारको लागत ६ लाख रुपैयाँ रहेको छ । भारततर्फबाट आउने जंगली हात्तीको आतंक रोक्न नेपाली पक्षले यो तारबार लगाउन खोजेको थियो ।
नेपाली भूमी अतिक्रमण गर्ने उद्देश्यका साथ बुधबार मध्यान्ह १२ बजेतिर भारतीय फौज नेपाल प्रवेश गरेका थिए । घोलास्थित एसएसबीको ३९ औं बटालियन क्याम्पबाट सैयौको संख्यामा आएका एसएसबीलाई नेपाल प्रहरीले रोक्न कोशिस गरेका थिए । तर, नेपाल प्रहरीलाई नै पेलपाल गर्दै भारतीय प्रहरीले नेपाली संरचना भत्काईदिएका छन् ।
नेपाली पक्षले कुनै विवादित क्षेत्रमा तारबार गरेको थिएन । नेपाल–भारत द्धिपक्षीय सम्झौताअनुसार तोकिएकै स्थानमा तारबार लगाएपनि भारतले बलमिच्याईँ गर्दै संरचना भत्काएको हो ।
पुनर्वास नगरपालिका ९ का वडाअध्यक्ष नारायण प्रसाद जैशीका अनुसार भारतीय दुधवा राष्ट्रिय निकुञ्जबाट नियमित नेपाली बस्तीमा प्रवेश गरि अन्नबाली र घरबास नष्ट गरिदिने गरेका बन्यजन्तुबाट बस्ती जोगाउनुपर्ने भएकाले भारतलाई सहमत गराएरै तारबार लगाईएको थियो । बस्ती सुरक्षाका लागि स्थानीयले उठाएको कोष र नगरपालिकाको बजेटबाट सो स्थानमा सौर्य उर्जामा आधारित विद्युतीय तारबार (सोलार ईलेक्ट्रो फेन्स) बनाइँदै थियो ।
सीमा क्षेत्रमा कुनै बिवाद वा समस्या देखिए दुबै देशको प्रशासन र सरकारसँग समन्वय गरि बिवाद सल्टयाउनुपर्छ । तर, भारतीय पक्षले प्रचलित नियम उल्लंघन गर्दै आएको छ । भारतीय पक्षले बारम्बार दोहो¥याउने यस्तो हर्कत अन्तरराष्ट्रिय कुटनीति विपरितको हो । तर, प्रधानमन्त्री के.पी. ओलीको मन्त्रीपरिषद्का परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पछिल्लो भारतीय हस्तक्षेपप्रति कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन ।
फेरि सिमास्तम्भ सार्ने भित्री योजना !
पछिल्लो सिमा हस्तक्षेपमार्फत भारतले फेरि सिमास्तम्भ सार्ने भित्री योजना बनाईरहेको बुझिएको छ । सिमा क्षेत्रमा दुई पक्षबीच विवाद हुँदा २९४ दिनमा दुई देशको संयुक्त सिमा सर्वे टोली घटनास्थलमा पुग्ने र सिमा निर्धारण गर्ने प्रचलन छ ।
तर, यही निहुँमा सर्वे टोलीले सिमास्तम्भ गाडिनुपर्ने स्थानभन्दा अन्यत्र भारतीय भूमीमा परेको भन्दै सार्ने गरेको छ । नेपाली पक्षले नै यस्तो प्रतिक्रिया दिँदा पछिल्ला दिनमा मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सुरक्षामा गम्भिर समस्या देखिन थालेको छ ।
सिमामा भारतीय ज्याजती भईरहँदा कञ्चनपुरका प्रशासन प्रमुख एवं राजनीतिक दलहरु भने मौन देखिएका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसँग यसबारे जिज्ञासा राख्दा उनले सामान्य विवाद रहेको र नेपाल–भारत सिमामा यसखाले विवाद देखिनु स्वाभाविक भएको प्रतिक्रिया दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया