काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँबराबरका नयाँ नोट सटही गरेको छ ।
राष्ट्र बैंकले दशैँका लागि ती नयाँ नोट सटही गरेको हो । राष्ट्र बैंक मुद्रा व्यस्थापन विभागका प्रमुख (कार्यकारी निर्देशक) रेवती नेपालले ठूला र साना दर गरी २० अर्ब रुपैयाँका नयाँ नोट सटही भएको बताए । उनका अनुसार साना दर ५, १०, २०, ५० र १०० दरका ८ अर्ब २५ करोड रुपैयाँ सटही भएका छन् ।
३५ अर्बभन्दा बढी सुकिला नोट बजारमा
राष्ट्र बैंकले दशैँलाई लक्षित गर्दै ३५ अर्ब रुपैयाँबराबरका नयाँ नोट बजारमा पठाइसकेको छ । सबै बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट नयाँ नोट लगिसकेका छन् । राष्ट्र बैंकले हरेक वर्षका दशैँ तिहारमा ५० अर्ब रुपैयाँको हाराहारीमा नयाँ नोट बजारमा पठाउँदै आएको छ । जसमध्ये सर्वसाधारणहरूका लागि मात्रै १५ अर्बको हाराहाराहरीमा नयाँ नोट सटही हुने गरेका छन् ।
नोट साट्न छैन समस्या
विगतका वर्षहरूमा नयाँ नोट सटही गर्न दिनभरि लाइनमा बस्नुपर्ने बाध्यता थियो । सर्वसाधारण दिनभरि अरु काम छोडेर नोट सटही गर्न लाइनमा बस्थे । तर यसपालि भने सर्वसाधारणलाई लामो समय लाइनमा बस्नुपर्ने बाध्यता छैन ।
कोरोना संक्रमणका कारण राष्ट्र बैंकले सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंकहरूलाई नयाँ नोट सटही गर्न निर्देशन दिएको छ । त्यसैले पनि राष्ट्र बैंकमा नयाँ नोट सटही गर्नेका चाप निकै कम भएको कार्यकारी निर्देशक नेपालले बताए । अहिले राष्ट्र बैंकका आधा घण्टाभित्र नयाँ नोट सटही गर्न सकिन्छ ।
कति हुन्छ नोटको आयु ?
नयाँ नोटको आयु त्यति लामो हुँदैन । नोटलाई जतन नगरी चलाउँदा कम समयमा नै प्रयोग गर्न नमिल्ने गरी मैला र झुत्रा हुने गर्छन् । त्यसकारण नोटलाई जतनपूर्वक चलाउनुपर्छ । राष्ट्र बैंकका अनुसार ५०० र १००० दरका ठूला नोटको आयु साढे तीन वर्ष अनुमान गरिएको छ ।
त्यस्तै, साना नोटको आयु दुईदेखि साढे दुई वर्ष हुने राष्ट्र बैंकको भनाइ छ । नोटको आयु छोटो हुने र छपाइमा महँगो पर्ने भएकाले जतनपूर्वक नोटको प्रयोग गर्न राष्ट्र बैंकले सबैलाई आग्रह गर्दै आइरहेको छ । सर्वसाधारणले जतनपूर्वक नचलाएकै कारण पनि नोट चाँडै मैला र झुत्रा हुनेगरेको राष्ट्र बैंकका अधिकारीहरूको भनाइ छ ।
यसरी गरौँ संरक्षण
नयाँ नोट हाम्रो सभ्यताको प्रतिक हो । त्यसैले नयाँ नोटको जतन गर्नु हामी सबैको दायित्व हो । हामीले दैनिक रूपमा किनमेल गर्दा जनपूर्वक पैसाको कारोबार गर्ने, पैसालाई नदोबार्ने, नखुम्च्याउने तथा स्टिच नलगाउने गर्नुपर्छ ।त्यसका साथै चाडकाडमा पैसामा टिका तथा रङ नलगाउने, पानीमा नभिजाउने तथा जतनपूर्व प्रयोग गर्ने गर्नुपर्छ ।
नोट जतन गर्ने सवालमा सर्वोच्च अदालतले समेत राष्ट्र बैंक, अर्थ मन्त्रालय र सरकारको नाममा बैंक नोटमा स्टिच नगर्न, केरमेट नगर्न, जथाभावी च्यात्न नपाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि नयाँ नोटमा केरमेट गर्ने, फोहोर गर्ने, मैलो बनाउने गर्न पूर्ण रूपमा बन्देज लगाइएको छ ।
नयाँ नोटमा केरमेट गर्नेलाई यस्तो छ कानुनी कारबाही
मुलुकी अपराध संहिता २०७४ को दफा २ सय ६३ मा नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न, लेख्ने वा कोर्न, केरमेट गर्न वर्जित गरिएको छ । यस दफाको उपदफा ३ मा कसुर गर्ने व्यक्तिलाई ३ महिनासम्म कैद र ५ हजार रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ । यही कानुनका आधारमा नोटको जतन नगर्नेलाई राष्ट्र बैंकले कारबाही गर्न सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया