बेनी । सम्पर्कविहीन भएकोे ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनर्मिलन भएको छ । घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय गङ्गाबहादुर गुरुङ (जङ्गबहादुर भनिने)को मङ्गलबारमात्रै आफन्तसँग भेट भएको हो ।
विसं २००३ मा जन्मिनुभएका गुरुङ सम्पर्कविहीन भएको करिब चार वर्षपछि कैलालीको चुरे गाउँपालिका–३ मस्यगाउँमा पुगेको खबर त्यतिबेला परिवारले पाएका थिए । त्यसपछि पनि उनी परिवारको सम्पर्कमा आएनन् । हालैमात्र स्थानीय युवाले सामाजिक सञ्जालमा गुरुङको तस्वीर राखेका र उनले बागलुङ, बेनी, तातोपानीको नाम लिएको जानकारी गराएका थिए । आफ्नो पुख्र्यौली थलो बेनी भएको र आफू त्यहाँ फर्कन चाहेको सन्देश राखेपछि नेपाल रेडक्रस सोसाइटी म्याग्दीले गुरुङको खोजी सुरु गरेको थियो ।
रेडक्रसअन्तर्गत रहेको खोज तथा उद्धार सेवा केन्द्रले गुरुङको अवस्था र जिल्लामा सम्भावित आफन्तबारे खोजी गरेको थियो । खोजीका क्रममा थामडाँडाबाट वर्षौँदेखि आफन्त हराएका परिवार सम्पर्कमा आएपछि गुरुङ र उनका आफन्तबीच टेलिफोनमा संवाद गराइएको थियो । आफन्तले झण्डै ६० वटा प्रश्नमार्फत आफन्तको नाम, तत्कालीन गाउँको अवस्था आदिबारे सोधेका प्रश्नमा उनले दिएको जवाफले उनको यकिन गरेका थिए ।
कैलालीमा स्थानीय प्रतिष्ठित एक व्यक्तिको सहारामा बसोबास गर्दै आएका गुरुङ थामडाँडाका बलवीर गुरुङका हराएका माइला छोरा रहेको पुष्टि भएपछि रेडक्रस म्याग्दीको समन्वयमा उनका भाइका परिवारसँग मङ्गलवार पुनःमिलन भएको छ । गुरुङका भाइका छोरा शेरबहादुर र छोरी विसु गुरुङले रेडक्रस म्याग्दीको समन्वयमा कैलाली पुगेर आफ्ना माइला बुबालाई उद्धार गरी ल्याएका हुन् ।
रेडक्रस म्याग्दीका सभापति लेखबहादुर हमाल र अधिकृत धनञ्जयकुमार श्रेष्ठसहित रेडक्रसकर्मीको उपस्थितिमा गुरुङको पारिवारिक पुनःमिलन गराइएको थियो । ‘‘पचास वर्षभन्दा बढी समयदेखि परिवारबाट हराएका व्यक्तिलाई आफन्तको जिम्मा लगाइएको छ”, रेडक्रस म्याग्दीका सभापति हमालले भने ।
साउन अन्तिम साता पूर्णानन्द पाण्डेले सामाजिक सञ्जालमा राखेको सन्देशका आधारमा खोजी गर्दै जाँदा असोज तेस्रो साता पारिवारिक पुनःमिलन भएको रेडक्रसले जनाएको छ । विभिन्न कारणले हराएका व्यक्तिको खोजी गर्ने काम रेडक्रसले गर्दै आए पनि विरलै यस्तो प्रकारको पुनःमिलन सम्भव हुने गरेको रेडक्रस म्याग्दीका शाखा अधिकृत श्रेष्ठले बताए ।
घरबाट हराएपछि भाँैतारिएका गुरुङ तत्कालीन समयमा अत्तरियादेखि डडेल्धुराको महेन्द्र राजमार्गमा काम गर्दागर्दै ठेकेदारले पारिश्रमिक नदिएपछि पैदलै हिँडेर कैलालीको मस्यगाउँमा पुगेको गुरुङले बताए । त्यहाँ पुगेपछि स्थानीयवासीसँग घुलमिल हुँदै स्थानीय एक जमिनदारको घरमा आश्रय लिएर जीविकोपार्जन गर्दै आएका उनले माछा मार्ने पेशा अँगालेका थिए । उनलाई लिन पुगेका आफन्तलाई गाउँलेहरुले भव्य सम्मानसहित बिदाइ गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया