काठमाडौं । तत्कालीन नेकपा (नेपाल कम्युनिस्ट पार्टी)ले भीष्मराज ढुंगानालाई २०७६ भदौमा नेपाल धितोपत्र बोर्डको विज्ञ सदस्यको रुपमा भित्र्याएको थियो । त्यतिबेला नयाँ गभर्नर नियुक्तिको गृहकार्य भइरहेको थियो ।
ढुंगाना बोर्डको विज्ञ सदस्य नियुक्त हुनुभन्दा पहिले उनी पनि गभर्नर बन्ने चर्चा थियो । तर गभर्नरमा ढुंगानालाई नल्याउने पक्का भएपछि सरकारले बोर्डको अध्यक्ष बन्ने गरी विज्ञ सदस्यमा नियुक्त गरेको थियो । सोहीअनुसार पूर्वअध्यक्ष रेवतबहादुर कार्कीको कार्यकाल २०७६ कात्तिक १ मा सकिएपछि बोर्डको अध्यक्षको रुपमा ढुंगानालाई सरकारले नियुक्त गर्यो ।
त्यसपछि सुरु भयो बोर्डको काम कारबाही । उनले ब्रोकरको कमिसन ३३ प्रतिशतले घटाएका थिए । बोर्डको काम कारबाही सामान्य रुपमा चल्दै थियो । उनले पुँजी बजारका लागि केही राम्रा काम गरे पनि उनको पछिल्लो कामका कारण उनी विवादित मात्रै हुनु परेन, बर्खास्तसम्म भोग्न बाध्य भए ।
अध्यक्ष ढुंगानाले सर्वसाधारण लगानीकर्ताको लगानी जोखिममा भएको भन्दै गैरकानुनी रूपमा विभिन्न ५१ वटा कम्पनीको नाम सार्वजनिक गरे । यो नै सबैभन्दा ठूलो भुल थियो ढुंगानाको ।सर्वसाधारणको लगानी जोखिमा भए पनि वैकल्पिक उपायको अवलम्बन गर्नुको सट्टा सेयर बजार नै प्रभावित हुनेगरी कम्पनीहरुको नाम सार्वजनिक गरेको भन्दै उनको सर्वत्र आलोचाना भयो । बोर्डकै नेतृत्व भ्रष्टाचारमा मुछिएपछि सेयर बजार त्रसित मात्रै नभएर प्रभावित नै भयो ।
५१ वटा कम्पनीको गैरजिम्मेवारपूर्ण ढंगले नाम सार्वजनिक गरेको घटना सेलाउन नपाउँदै बोर्डका अध्यक्ष ढुंगानाले १ अर्ब ३८ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अुनसन्धान आयोगमा उजुरी पर्योे । उनले गत असार १ मा लगानीकर्ताको लगानी जोखिममा भएको भन्दै विभिन्न ५१ वटा कम्पनीहरूको नाम सार्वजनिक गरेका थिए ।
उनले ती कम्पनीहरूले लगानीकर्ताको लगानीमाथि खेलबाड गरेको भन्दै ती कम्पनीहरूलाई कारबाही गरिछाड्ने समेत बताएका थिए । अध्यक्ष ढुंगानाले मोटो रकम कमिसन लिएर ती ५१ वटा कम्पनीहरूको नाम सार्वजनिक गरेको आरोप लागेको थियो । उनले सेयरका ठूला लगानीकर्तासँग ३५ करोड रुपैयाँ उठाएको दाबी उजुरीमा गरिएको थियो ।
त्यस्तै, उनले ब्रोकर कम्पनीहरू प्रत्येकबाट २ करोडका दरले १ अर्ब रुपैयाँ कमिसन खाएको आरोप लागेको थियो । त्यति मात्रै नभएर पहिलो पटक बुक बिल्डिङको माध्यमबाट साधारण सेयर जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको गोल्डेन सेयर अमेरिका बस्ने छोरीको नाममा खरिद गरेपछि ढुंगाना बढी विवदित भएका हुन् ।
सर्वोत्तमले ६० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको थियो । जसको मूल्य प्रितिकित्ता ७५० रुपैयाँ थियो । ढुंगानाले अमेरिका बस्ने आफ्नी छोरी रेबिका ढुंगानाको नाममा १० हजार कित्ता सेयर किनेको फेला परेको थियो । ढुंगानाकी छोरी रेबिकाले सेयर खरिद गरेपछि सर्वोत्तमले बोनस सेयर समेत दिएको थियो । गैरकानुनी रुपमा छोरीको नाममा गोल्डेन सेयर खरिद गरेपछि उनी विवादको शिखरमा पुगे ।
यसपछि ढुंगानाविरुद्धमा उजुरी पुगेपछि अर्थ मन्त्रालयले छानबिन थाल्यो । मन्त्रालयले एक छानबिन समिति नै बनाएर छानबिन सुरु ग¥यो । करिब एक महिना लगाएर गरेको अध्ययनले ढुंगानालाई दोषी ठहर गर्दै प्रतिवेदन बुझाएको थियो ।
ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न भदौ १६ मा समिति गठन भएको थियो । सो समितिले असोज ५ मा अर्थमन्त्री जनार्दन शर्मासमक्ष प्रतिवेदन बुझाएको थियो ।सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा समिति गठन गरेको थियो ।
सो समितिले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्डसम्बन्धी नियमावली २०६४ को नियम ११ बमोजिम गठित सो समितिले तोकिएको समयभित्रै प्रतिवेदन बुझाएको थियो । त्यसलगत्तै गत मंगलबार मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई बर्खास्त गरेको छ । बर्खास्तसँगै ढुंगाना आफूलाई अन्याय भएको भन्दै न्याय खोज्न अदालत जाने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया