माधव नेपालको पार्टीमा प्रवेश गर्ने को हुन् भानुभक्त जोशी ?

सुदूरपश्चिममा एमालेलाई धक्का

काठमाडौं । नेकपा एमालेका सुदूरपश्चिम अध्यक्ष भानुभक्त जोशी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस) पार्टीमा प्रवेश गरेका छन् ।
जोशीले आजै एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिएर एकीकृत समाजवादी रोजेका हुन् ।
समाजवादी पार्टीको स्थायी कमिटीको सातौँ बैठकमा जोशी एमाले छोडेर नेकपा एसमा गएका हुन् ।

एमाले विवाद हुँदा नेपाल समूहमा रहेका उनी विभाजनमा भने नेकपा एसमा नगई एमालेमै बसेका थिए । पार्टी विभाजनपछि नेकपा एमालेबाट नेकपा एसमा जाने जोशी सुदूरपश्चिममा सबैभन्दा प्रभावशाली नेता हुन् ।

एमालेमा १० बुँदे सहमति कार्यान्वयन नभएको भदै उनी असन्तुष्ट थिए । जोशी गत भदौ २३ मा एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किनुअघि तत्कालीन नेकपाको सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज थिए ।

जोशी पूर्व सांसद एवं मन्त्री हुन् । उनले एमाले नीति, सिद्धान्तबाट विचलित भएकाले आफूले एकीकृत समाजवादीमा आबद्ध हुने निर्णय लिएको बताएका छन् ।

जोशी २०५१ मा नेकपा एमालेका तर्फबाट बझाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । त्यसैगरी पहिलो संविधानसभामा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
उनी झलनाथ खनाल नेतृत्वको सरकारमा वन तथा भू–संरक्षण मन्त्री थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?