माओवादीले टुंग्याउँदा अरुलाई मन्त्री छान्न सकस

काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनका लागि नेकपा माओवादी केन्द्रले मन्त्रीहरूको नाम टुंगो लाइसक्दा सत्ता गठबन्धनमा सहभागी अन्य दललाई भने मन्त्री छान्न हम्मेहम्मे परेको छ ।

माओवादीले बुधबार मन्त्री परिषदमा पठाउनका लागि शशि श्रेष्ठ, देवेन्द्र पौडेल, महेश्वर गहतराज र बोधमायाकुमारी यादवलाई छनोट गरेको थियो । माओवादीले मन्त्रीहरूको नाम टुंग्याए पनि सत्ता गठबन्धनका अरु दलहरू कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले भने नाम टुंगो लगाउन सकेका छैनन् ।

माओवादीले नाम टुंगो लगाए पनि अरुले टुंगो नलगाउँदा प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न अप्ठ्यारो परेको छ । देउवा सबै दलले मन्त्रीको लिष्ट दिएपछि मात्रै सरकारलाई पूर्णता दिने पक्षमा छन् ।

सबैभन्दा सकस कांग्रेसमा

मन्त्री छान्न सबैभन्दा बढी समस्या कांग्रेससलाई नै परेको छ । कांग्रेसभित्रको गुट उपगुटका नेताहरूले आ–आफ्ना मान्छेलाई मन्त्री बनाउन खोज्दा मन्त्री छान्न धौधौ परेको हो । कांग्रेसमा प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला प्रकाशमा सिंहलगायतका गुट रहेका छन् ।

प्रधानमन्त्री देउवा सकेसम्म आज बडा दशैँ सुरु भएको शुभदिनमै मन्त्रिपरिषद् विस्तार गर्ने पक्षमा छन् । गुटमार्फत कांग्रेसबाट मन्त्रीको लिस्टमा डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, तेजुलाल चौधरी, उमाकान्त चौधरी, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, अतहर कमाल, डा. राजन केसी, भीमसेनदास प्रधानलगायत रहेका छन् । तर सबैलाई मन्त्रीमा भाग नपुग्ने भएकाले उनीहरूमध्येबाटै छानिनेछन् ।

नेकपा एकीकृत समाजवादीमा पनि उस्तै

एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले ४ मन्त्री र १ राज्यमन्त्री पाउने सहमति भएको छ । तर उसलाई पनि मन्त्री छान्न सकस भएको छ । देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपालको ठूलो भूमिका छ । एमाले छोडेर आएका सांसदलाई चित्त बुझाउनुपर्ने भएकाले एकीकृत समाजवादीले पनि औपचारिक रूपमा मन्त्रीको नाम दिएको छैन ।

एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री, मेटमणि चौधरी, किसान श्रेष्ठ, विरोध खतिवडा, भवानी खापुङ, जीवनराम श्रेष्ठ र प्रेम आले मन्त्री बन्ने सम्भावना छ । एकीकृत समाजवादीले मन्त्री छान्ने जिम्मा अध्यक्षा माधव नेपाललाई दिएकाे छ ।

जसपालाई हम्मेहम्मे

जनता समाजवादी पार्टी (जसपा)ले ४ मन्त्री र १ राज्यमन्त्री पाउनेछ । जसपाबाट मन्त्री हुने लाइनमा महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, रेणु यादव, मृगेन्द्र यादवलगायत रहेका छन् ।

तर यी नामका बारे बढी चर्चा भए पनि औपचारिक रूपमा पनि उसले नाम छनोट गरिसकेको छैन । महन्थ ठाकुरलाई छोडेर जसपामा बसेका धेरै सांसदलाई चित्त बुझाउनुपर्ने बाध्यता जसपालाई रहेको छ ।

सत्ता गठबनधनमा रहेको राष्ट्रिय जनमोर्चाले भने सरकारमा नजाने प्रतिपक्षमै बस्ने बताइसकेकाले उसलाई मन्त्रालय भाग लगाउनुपर्ने छैन ।

सत्ता गठबन्धनका शीर्ष नेताहरूले आजै मन्त्रिपरिषद् विस्तार हुनसक्ने बताए पनि अझै टुंगो भने लागिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?