उपल्लो डोल्पामा नेपाल टेलिकमको सेवा शुरु

दुर्गम हिमाली जिल्ला डोल्पाको माथिल्लो क्षेत्रमा पर्ने धो बस्तीमा पहिलो पटक नेपाल टेलिकमको सेवा विस्तार भएको छ । 

डोल्पाको बुद्ध गाउँपालिकामा पर्ने उपल्लो डोल्पामा पहिलो पटक नेपाल टेलिकमको नमस्ते मोबाइल फोन सेवा शुरु भएपछि त्यहाँका बासिन्दाले मोबाइलबाट देश विदेशमा कुरा गर्न पाएका छन् । 

फोन सेवाको अभावमा वर्षौंदेखि सम्पर्कविहीन हुँदै आएको धोका बासिन्दा सञ्चार सुविधामा जोडिएपछि खुशी भएका छन् । 

धोमा नेपाल टेलीकमले माइक्रो विटियस नमस्ते टावर राखेसंगै वर्षौंदेखिको स्थानीयवासीको सपना साकार भएको दूरसञ्चार कार्यालयले जनाएको छ । 

माथिल्लो डोल्पाको डोल्पो बुद्ध गाउँपालिकामा पर्ने धो बस्तीमा माइक्रो बिटिएस जिएसएम मोबाइल टावर वैशाख ९ गतेदेखि सञ्चालनमा आएको हो । 

उक्त मोबाइल टावरबाट एक पटकमा १४ जनासम्मले मात्र कुरा गर्न सकिने टावर जडानका लागि डोल्पा पुग्नुभएका प्राविधिक खेमराजसिंह बोहोराले जानकारी दिए । 

पहिलो पटक माथिल्लो भोटमा परीक्षणका लागि पाँच वटामात्र च्यानल भएको रसियन (टाइम स्लोट) उपकरण जडान गरिएको हो । यो प्रविधि अत्यन्तै महँगो पर्ने बताइएको छ । 

उक्त टावरले धो, ताक्सीलगायत बस्तीको कुनाकुनासम्म नधान्ने तर थोरै भए पनि समस्या समाधान भएको डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङले बताए । 

जिल्लाको विकट क्षेत्र मानिने उपल्लो डोल्पा साल्दाङ, भिजेर, फोक्सुण्डो, छार्कालगायत दर्जनौँ बस्ती अझै पनि फोन सम्पर्कविहीन छन् । 

पूर्व शान्ति मन्त्री तथा वर्तमान सांसद सत्या पहाडीले उपल्लो डोल्पालाई सञ्चार पहुँचमा जोड्न विशेष पहल गरिरहेका छौँ, अब छिट्टै त्यहाँका गाउँबस्तीमा फोन सुविधा विस्तार गरेर जनतालाई घरआँगनबाटै विश्वसँग जोड्छौँ भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?