यस्ता छन् भारतीय ५ बाबाका कर्तुतको नालीबेली

मुम्बई – हालैमात्र भारतीय  विशेष अदालतले  विवादास्पद गुरु आसाराम बापुलाई किशोरी बलात्कारमा दोषी ठहर गर्दै आजीवन काराबासको सजाय सुनायो । बलात्कार र यौन दुव्र्यवहारको आरोपमा भारतमा पक्राउ पर्ने र अदालतबाट दोषी ठहर हुने कथित गुरुमा आसाराम पहिलो भारतीय होइनन्, केही समय अघि रामरहिम पनि यही आरोपमा जेलमा परे । कथित गुरुको आवरणमा बलात्कार, हत्या र यौन अपराध मच्चाउने जमातको यहाँ चर्चा गरिएको छ |

 स्वामी परमानन्द
सन् १९८४ मा युद्धले तहसनहस भएको श्रीलंकाबाट भारत पुगेका रामशंकर तिवारीले सन्तान दिने नाममा महिलामाथि बलात्कार गर्थे र भिडियो बनाएर ब्ल्याकमेल गरेर महिलामाथि यौन शोषण गर्थे । सन् १९९४ मा एक युवतीले परमानन्दले बलात्कार गरेर आफू गर्भवती भएको उजुरी दिएकी थिइन् । सन् १९९७ मा परमानन्द र उनका ६ सहयोगीमाथि १३ बालिका बलात्कारको अभियोग लागेको थियो । एकपटक परमानन्दको आश्रमको बिग्रिएको कम्प्युटर मर्मत गर्ने क्रममा पसलेले आश्रममा तयार पारिएको एउटा अश्लील भिडियो फेला पारेर भाइरल बनाइदिएका थिए । प्रहरीले छापा मार्दा आश्रमबाट अश्लील भिडियोका सिडी तथा अश्लील पुस्तकहरू फेला पारेका थिए । सन् २०१६ मा पक्राउ परेका ६५ वर्षीय बाबा अहिले लखनउमा जेलजीवन बिताइरहेका छन् ।
नारायण साई
आसाराम बापुका छोरा तथा स्वघोषित गुरु नारायण साई भारतमा बलात्कार र यौनकान्ड मच्चाउने कथित गुरुको सूचीमा अग्रपंक्तिमा पर्छन् । आसारामको आश्रममा सन् २००२ देखि २००५ को अवधिमा महिलामाथि दुव्र्यवहार र बलात्कार गरेको अभियोगमा नारायण साई अहिले जेलजीवन बिताइरहेका छन् । उनीमाथि सात किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा अदालतमा अर्को छुट्टै मुद्दा चलिरहेको छ । ती किशोरीमध्ये अधिकांश उनका अनुयायी हुन् ।

गुर्मित रामरहिम सिंह
डेरा सच्चा सौदा नामक एक धार्मिक समूहका प्रमुख गुरु रामरहिम सिंह विवादका पर्यायी नै हुन् । आफ्ना करोडौँ समर्थक रहेको दाबी गर्ने स्वघोषित धर्मगुरु रामरहिमलाई झन्डै १५ वर्ष‌अघि दुई महिलामाथि बलात्कार गरेको अभियोगमा अदालतले गत वर्ष दोषी ठहर गरेपछि सन् २०१७ को अगस्टदेखि उनी जेलजीवन बिताइरहेका छन् । आफूलाई धार्मिक गुरु, अभिनेता, निर्देशक, गीतकार तथा रकस्टार बताउने ‘बाबा’विरुद्ध सन् २००२ मा डेरामा साधकविरुद्ध बलात्कार गरेको आरोप लागेको थियो ।

सन्त रामपाल
सन् २०१४ को नोभेम्बरमा एउटा आश्रममा बसेका अनुयायीले त्यहाँबाट उम्किन ठूलो संघर्ष गरिरहेका थिए । तर, उनीहरूलाई आश्रम नछाड्न कडा निर्देशन दिइएको थियो । उद्धारका लागि खटिएका सुरक्षाकर्मीलाई अवरोध गर्न शिविरको प्रवेशद्वारमा अनुयायीहरूलाई मानव ढाल बनाइएको थियो । प्रहरी र आश्रमका सेनाबीच ठूलै घम्साघम्सी भयो । जब झडप अन्त्य भयो, हजारौँ अनुयायीको लस्कर आश्रमबाट बाहिर निस्कियो । उनीहरूलाई धेरै दिनदेखि रामपालका सहयोगीले बन्धक बनाएका थिए । आश्रममा प्रहरी पुग्दा पाँच महिला र एक शिशु मृत अवस्थामा भेटिएका थिए । आश्रमस्थलभित्र गुरुले महिला र किशोरीमाथि यौन दुव्र्यवहार गर्थे । आफूलाई रामपालको छोराको कोठामा बस्न बाध्य पारिएकी २७ वर्षीया एक महिला अनुयायीले गुनासो गरेकी थिइन् । उनका अनुसार केही युवतीलाई आफ्नो चेम्बरमा लगेर रामपालले यौन प्यास मेट्थे । हत्या, अपराध आरोपमा ६ वटा मुद्दा लागेका रामपाल अहिले जेलजीवन बिताइरहेका छन् ।

स्वामी नित्यानन्द  
सन् २०१० को मार्चमा एउटा आपत्तिजनक भिडियो एक स्थानीय समाचार च्यानलमा सार्वजनिक भयो । भिडियोमा स्वघोषित स्वामी नित्यानन्द सानो पर्दाकी एक नायिकासँग मस्त यौनकार्यमा लिप्त देखिन्थे । सो भिडियोले ती कथित गुरुको वास्तविक कर्तुत पर्दाफास मात्र गरेन भारतमा स्वघोषित गुरुको नाममा कतिसम्म निम्नस्तरको कार्य हुन्छ भन्ने खुलासा भएको थियो । भिडियो सार्वजनिक भएपछि आफूले केवल सहवासको ‘प्राक्टिस’ गरेको भन्दै गुरुले आफ्नो कार्यको बचाउ गरेका थिए । आफू शारीरिक रूपमा अशक्त भएको र लिंग नै उत्तेजित नभएकाले कुनै पनि महिलासँग शारीरिक सम्पर्क गर्न नसक्ने उनले दाबी गरेका थिए । त्यसअघि उनीमाथि आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेको थियो । अनुसन्धानका क्रममा प्रहरीले उनको आश्रमस्थलबाट कन्डम, ड्रग्स, परिवार नियोजनका अन्य साधनलगायतका औषधि फेला पारेको थियो । प्रहरीका अनुसार आश्रममा फेला परेका केही औषधि यौन उत्तेजना बढाउने थिए । जुन २०१२ मा पक्राउ परेका उनी ५२ दिन जेल बसेर  धरौटीमा रिहा भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?