काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट संरक्षणका लागि विभिन्न पहलहरू गर्दै आएको छ ।
राष्ट्र बैंकले नोट संरक्ष्णका लागि विभिन्न निर्देशन तथा नीतिहरू सार्वजनिक गर्दै आएको छ । राष्ट्र बैंकले नयाँ नोट सार्वजनिक गरेपछि बजारमा पठाउँछ ।
बजारमा गइसकेपछि आम सर्वसाधारणले जतनपूर्वक नयाँ नोट नचलाउँदा मैला, झुत्रा तथा पुराना हुन्छन् । नयाँ नोट छाप्दा सरकारले वर्षेनी अर्बाैँ रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । त्यसैले राष्ट्र बैंकले नयाँ नोट संरक्षणका लागि विभिन्न व्यवस्था गरेको देखिन्छ ।
के हो सफा नोट नीति ?
राष्ट्र बैंकले नयाँ नोटलाई संरक्षण गर्न विभिन्न समयमा विभिन्न नीतिगत व्यवस्थाहरू गर्दै आएको छ । जसलाई सफा नोट नीति भनिन्छ । ती नीतिहरूले नयाँ नोटको संरक्षण कसरी गर्ने भन्ने उल्लेख गरिएको छ । साथै यस सम्बधमा विभिन्न नीतिगत व्यवस्था गरिएको छ । राष्ट्र बैंकले नयाँ नोट छपाइ गर्दा आर्थिक रूपमा राज्यले ठूलो धनराशि खर्च गर्नुपर्ने हुन्छ । त्यसैले नोटको प्रयोग घटाएर विद्युतीय कारोबार गराउनु पनि राष्ट्र बैंकको लक्ष्य रहेको छ ।
यस्ता छन्, सफा नोटसम्बन्धी नीतिगत व्यवस्था:
राष्ट्र बैंकले मुलुकभर सफा नोट चलनचल्तीमा ल्याउने उद्देश्यले आर्थिक वर्ष २०६७-६८ मा मौद्रिक नीतिमार्फत ‘सफा नोट नीनि’ सुरु गरेको हो । आर्थिक वर्ष २०७३ वैशाख १२ गते सफा नोट नीति जारी गरेको थियो । गत वर्ष (२०७७-२-११) मा संशोधन गरेको थियो ।
यसको मुख्य उद्देश्य भनेकै सर्वसाधारण जनतामा सफा तथा गुणस्तरीय र सफा नोट चलनचल्तीमा ल्याउने, पुराना नोट हटाउँदै जाने तथा नोटको प्रयोग घटाउन सफा नोट नीति ल्याउँदै आएको छ ।
सो नीतिअन्तर्गत पहिलो पटक सबै बैंक तथा वित्तीय संस्थाहरूलाई मिति २०६७ भाद्र १ देखि लागू हुनेगरी नोटका प्याकेटहरूमा एउटा मात्र स्टीच लगाउने व्यवस्थाको गरेको थियो । त्यसैगरी सर्वोच्च अदालतले पनि सफा नोट सम्बधमा अन्तरिम आदेश जारी गरेको छ ।
सर्वाेच्चले २०७२ फागुन ३० गतेको सफा नोटसम्बन्धी अन्तरिम आदेश जारी गरेको थियो । राष्ट्र बैंककले सोही आदेशलाई मध्यनजर गर्दै २०७३ वैशाख १२ गते पुनः सफा नोटसम्बन्धी परिपत्र जारी गरेको थियो ।
सो परिपत्रअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा प्राप्त भएका नोटहरू एटीएमलगायतका मेसिनहरूको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य र अयोग्य गरी तीन वर्गमा छुट्याउनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, एटीएमलगायतका मेसिनहरूको माध्यमबाट चलनचल्तीमा पठाउनयोग्य नोटको प्याकेटमा हरियो रंगको प्रयोग गर्नुपर्ने व्यवस्था छ ।
झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, कीराले खाएको, पानीले भिजेको छापाइ बिग्रेको, नोटमा रहेको अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरू नबुझिने वा बिग्रने गरी रंङ लागेको ÷लेखिएको÷कोरिएको÷मेटिएको÷च्यातिएको वा पूर्वराजाको तस्बिर भएको नोटलाई पुनः निष्काशनका लागि अयोग्य नोटको रूपमा वर्गीकरण गर्नुपर्ने र त्यस्ता नोटलाई चलनचल्तीमा पठाउन नहुने समेत उल्लेख गरेको छ ।
यसरी गरौँ संरक्षण
नयाँ नोट हाम्रो सभ्यताको प्रतीक हो । त्यसैले नयाँ नोटको जतन गर्नु हामी सबैको दायित्व हो । हामीले दैनिक रूपमा किनमेल गर्दा जतनपूर्वक पैसाको कारोबार गर्ने, पैसालाई नदोबार्ने, नखुम्च्याउने तथा स्टीच नलगाउने गर्नुपर्छ । त्यसका साथै चाडबाडमा पैसामा टीका तथा रङ नलगाउने, पानीमा नभिजाउने तथा जतनपूर्वक प्रयोग गर्ने गर्नुपर्छ ।
नोट जतन गर्ने सवालमा सर्वोच्च अदालतले समेत राष्ट्र बैंक, अर्थ मन्त्रालय र सरकारको नाममा बैंक नोटमा स्टीच नगर्न, केरमेट नगर्न, जथाभावि च्यात्न नपाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि नयाँ नोटमा केरमेट गर्ने, फोहोर गर्ने, मैलो बनाउने गर्न पूर्ण रूपमा बन्देज लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया