प्रतिस्पर्धी बन्दै दशैँ : हुनेखानेलाई रमझम, नहुनेलाई ऋणको भार

दशैँ हो कि, यो मेरो दशा….

प्रेम बस्नेतको शब्द रहेको यो गीत हरेक दशैँमा दोहोरिने गीत हो । दशैँ भन्नासाथ धेरैको मानसपटलमा यो गीत आइहाल्छ । गीतमा बस्नेतले भनेजस्तै हुनेखानेलाई दशैँ दशैँजस्तो भएर आउँछ भने भने हुँदाखानेलाई दशैँ आफैँमा बोझ र ऋणको पोको बनेर आउने गरेको छ ।

आफन्तजन भेटघाट गर्ने, रमाइलो गर्ने र भावनात्मक सम्बन्ध प्रबल बनाइराख्ने पर्वका रुपमा दशैँ मनाइँदै आइएको छ । यो सकारात्मक पक्ष हो । यही कुरा नै दशैँको सबैभन्दा बलियो र महत्वपूूर्ण पक्ष हो ।

तर पछिल्लो समय देखासिकी र प्रतिस्पर्धात्मक ढंगले दशैँ मनाउन थालिएपछि धेरैको लागि टाउको दुखाइको विषय बनेको छ दशैँ । यसले समाजको विपन्न वर्गमा ठूलो आर्थिक समस्या निम्त्याउने गरेको छ ।

आर्थिक रुपमा सम्पन्न परिवारहरूलाई जति खर्च गरे पनि रमाइलो लाग्ने दशैँ विपन्न परिवारहरूलाई भने समाजमा देखाउनकै लागि भए पनि चर्को ब्याजमा ऋण काढ्नुपर्ने बाध्यता छ । यसले गर्दा धेरैलाई यो एउटा आर्थिक भार बोकाउने दशाको रुपमा देखिँदै आएको छ ।

दशैँमा महँगो लुगा र गरगहना खरिद गर्ने, दक्षिणामा खर्च गर्ने र मासु तथा मदिराको प्रयोग गर्ने र देखासिकी गर्ने संस्कार बढेकाले यसले समाजमा आर्थिक समस्या बढाएको संस्कृतिविद्हरू बताउँछन् ।

दशैँमा आफ्नो हैसियतभन्दा माथि गएर खर्च गर्नुपर्छ भन्ने कुनै शास्त्र वा ग्रन्थमा लेखिएको छैन । खसी काटे दशैँ नकाटे खल्लो भन्ने कुनै धर्मग्रन्थमा उल्लेख छैन । धर्मग्रन्थ, आस्था र विश्वासमा दशैँ मनाउने हो भने देवीका पाउ पशुको रगतको आहालले धुनु जरुरी छैन् । निधारमा जमरा र रातो टीका मात्र लगाएर पनि दशैँको भरपुर आनन्द लिन सकिन्छ ।

दशैँ हिन्दुहरूको समानता झल्काउने पर्व हो । दशैँप्रति धनी र गरिबको सामाजिक र सांस्कृतिक उचाइ एउटै हुन्छ । सबैको आर्थिक अवस्था एउटै हुँदैन । त्यसैले अरुले दशैँलाई भव्य तरिकामा मनाए भन्दैमा ऋण लिएरै भए पनि भड्किलो तरिकामा मनाउनु राम्रो होइन ।

देखासिकीका कारण पनि कम आयस्रोत भएका परिवारलाई निकै गाह्रो हुनेगरेको छ ।

झन् अहिले कोरोना महामारीका कारण सबै व्यापार व्यवसाय ठप्पतुल्य छन् । घर चल्न ठीक्क मात्रै हुने रोजगारी गुमाएका छन् । साँच्चै उनीहरूलाई दशैँ बोझको रुपमा लाग्नु स्वभाविक हो ।

‘दशैँ आयो
खाऊँला पिऊँला
कहाँबाट ल्याऊँला
चोरी ल्याऊँला
धत्त पापी म त छुट्टै बसौँला’

माथि उल्लिखित पङ्क्तिको अर्थ बुझ्ने हो भने हाम्रो पाँच औँलाले दशैँको अवस्थालाई विश्लेषण गरेका छन् ।

कान्छो औँलामा दशैँको उत्साह छ । उसले भन्छ– दशैँ आयो ।

काइँलो औैँला पनि प्रफुल्लित भएर भन्छ– खाऊँला, पिऊँला ।

गरिबीको चरम अभावमा डुबेको साइलो औँला भन्छ– कहाँबाट ल्याऊँला ?

माइलो औँलाले ‘चोरी ल्याऊँला’ भनी चोर प्रवृत्ति देखाउँछ भने बुढी औँलाले ‘धत्त पापी म त एक्लै बसूँला’ भनी दशैँमा न चोर्ने न देखासिकी गर्ने, बरु आफ्नो हैसियतमा कसैसँग प्रतिस्पर्धा नगरी एक्लै मनाउने अभिव्यक्त गरेको छ ।

बुढी औँलाजस्तै प्रकाशस्ता धेरै परिवारले आफ्नो हैसियतमा कसैसँग प्रतिस्पर्धा नगरी आफ्नो परिवारसँग हाँसीखुसी मनाउन जरुरी देखिन्छ ।

हाम्रो पर्व सबैले मनाउनु पर्छ । प्रतिस्पर्धाभन्दा पनि यसलाई आपसी सद्भाव र सहचार्यको रुपमा विकास गर्दै जाऔँ ।

सबैलाई दशैँको शुभकामना ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?