बैतडीका छोरीबुहारी कम्प्युटर सिक्दै

बैतडी : बैतडीको ग्रामीण क्षेत्रका छोरीबुहारी पनि कम्प्युटरको पहुँचमा पुग्न थालेका छन् । 

नेपाल सरकार महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको रु दुई लाख आर्थिक सहयोगमा वातावरण संरक्षण तथा सामाजिक विकास संघले छोरीबुहारीलाई पनि कम्प्युटरको पहुँचमा पु¥याउनका लागि बैतडीको ग्रामीण क्षेत्रमा कार्यक्रम सञ्चालन गरेको छ । 

संस्थाले बैतडीको दोगडाकेदार गाउँपालिकामा विगत एक महिनादेखि कम्प्युटर कक्षा सञ्चालनमा ल्याएको हो । ‘युवा महिलाका लागि आधारभूत कम्प्युटर शिक्षा’ भन्ने मूलनारासहित चैत २० गतेदेखि कक्षा सञ्चालनमा रहेको वातावरण संरक्षण तथा सामाजिक विकास संघका अध्यक्ष घनश्याम भट्टले जानकारी दिए । 

गाउँपालिकाको वडा नं ३, श्रीकोट र वडा नं ७, देउलेकका गरी २३ महिलाको सहभागिता छ। सरकारी सेवा प्रवेश, लोकसेवा आयोग परीक्षाका लागिसमेत कम्प्युटर शिक्षा आवश्यक रहेको तथा छोरी बुहारीलाई कम्प्युटर शिक्षाको पहुँचमा ल्याउनका लागि उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हाे ।

ग्रामीण क्षेत्रमा रहेका महिलालाई कम्प्युटरको पहुँचमा ल्याउनुका साथै वर्तमान अवस्थामा कम्प्युटर शिक्षा आवश्यक रहेकाले संस्थाले सञ्चालन गरेको कम्प्युटर शिक्षा उपलब्धिमूलक रहेको सहभागी सीता विष्टले बतार्इन् । अाधारभूत कम्प्युटर शिक्षा तालिम तीन महिनासम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?