युरिक एसिड भएका व्यक्तिहरूलाई चाडपर्वको समयमा सबैभन्दा नमिल्ने भनेकै खानपिन नै हो । अझ दशैँजस्तो महान् चाडपर्वको अवसरमा युरिक एसिड भएका व्यक्तिहरूले खानपिनमा धेरै नै सजग हुनुपर्ने डाइटिसियन बताउँछन् ।
युरिक एसिड भएका व्यक्तिले प्युरिन भएको खानेकुरा जस्तो रातो मासु, गेडागुडी, दुग्ध पदार्थहरूको सेवन गर्दा सजग हुनु पर्ने हुन्छ । चाडपर्वको बेला यस्ता किसिमका खानेकुराहरू बढी सेवन गर्ने हुनाले पनि युरिक एसिड भएका व्यक्तिहरूले खानपानमा अझ बढी सजग हुनु पर्ने डाईटिसियन अनुश्री आचार्य बताउँछिन् ।
आचार्यका अनुसार युरिक एसिड भएका व्यक्तिले चाडपर्वको अगाडि आफूले नियमित परीक्षण गरेको चिकित्सक वा डाइटिसियनसँग परामर्श गरेर खानपिन गर्दा राम्रो हुने उनको तर्क रहेको छ । थोरै दिनको चाडपर्वमा खानपिनलाई व्यवस्थित गर्न नसक्दा हप्तौँ ओछ्यानमा पर्नुभन्दा सजग भएर खानपिन गरेर रमाइलो गर्नु नै राम्रो हुने उनी बताउँछिन् ।
युरिक एसिड भएको व्यक्तिले प्युरिन बढी हुने रातो मासु, गेडागुडी र दुग्ध पदार्थ सेवन नै नगर्न नहुने होइन । चिकित्सक र डाइटिसियनको परामर्श अनुसार थोरै खान भने सकिन्छ ।
कतिपय व्यक्तिलाई युरिक एसिड वंशाणुगत रूपमा पनि देखा पर्ने हुनाले थाहा नहुने किसिमका पनि हुन्छन् । उनीहरूले परीक्षण नगरेको कारण पत्ता नलाग्ने र समस्या भने देखिने किसिमका पनि हुन्छन् । त्यसैले यस्तो किसिमको समस्या भएका व्यक्तिहरू पनि दशैँ तिहारजस्तो चाडपर्वको बेला खानपिनमा सजग हुनुपर्ने बताउँछिन् ।
युरिक एसिड भएका व्यक्तिले पहिला कुन खानेकुरा कति मात्रामा खाँदा शरीरमा बढी समस्या देखियो त्यो खानेकुरालाई कमै सेवन गर्नुपर्ने आचार्य बताउँछिन् ।
चाडपर्वको समयमा युरिक एसिड भएका व्यक्तिहरूको खानपिन कस्तो किसिमको हुनुपर्छ भनेर न्युट्रिसन केयरका निर्देशक एवं डाइटिसियन अनुश्री आचार्यले दिएको सल्लाहको भिडियो अंश ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया