काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा एन.आई.डि.सी. डेभलपमेण्ट बैंक लिमिटेड गाभिई एकीकृत कारोबार कार्यक्रमको शुभारम्भ अर्थमन्त्री डा.युवराज खतिवडाले गरेका छन् । सो कार्यक्रममा माननीय अर्थमन्त्री डा.युवराज खतिवडाज्यले वित्तीय प्रणालीमा चक्रिय सङ्कट आईरहने र त्यसबाट बच्न रणनीतिक उपायहरु अपनाउनुपर्ने बताए । उनले वित्तीय प्रणालीमा हुने अपराध असह्य हुने र गलत कार्य गरेमा सरकारले कसैलाई नछोड्ने विचार व्यक्त गरे । उहाँले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा एन. आई. डि.सी. डेभलपमण्ट बैंक लिमिटेड गाभिए पछि बैंक वित्तीय रुपमा थप बलियो र प्रतिस्पर्धी हुनु पर्ने विचार व्यक्त गरे ।
समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले सरकारी बैंक भएकोले राष्ट्रिय वाणिज्य बैंकले अगुवा बैंकको रुपमा कार्य गर्नुपर्ने बताए । कार्यक्रमका सभापति डा.रवीन्द्र प्रसाद पाण्डेले बैंकलाई नयां पुस्ताको आकर्षणको केन्द्र बनाउन सक्नु प्रमुख चुनौती हो भने । रावा बैंकका संचालक एवं सयुक्त सर्जर समितिका संयोजक श्री निर्मलहरि अधिकारीले मर्जरको शुरुवात देखि हालसम्म भएका सम्पूर्ण गतिविधिका विषयमा विस्तृत जानकारी गराउनु भएको थियो । एन.आई डि.सी. डेभलपमेन्ट बैंक संचालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले मर्जर कार्यमा सहयोग गर्नुहुने सवैलाई धन्यवाद व्यक्त गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र दुई बैंक बीच मर्ज भएपछि वित्तीय क्षेत्रमा पर्ने सकारात्मक प्रभावको बारेमा धारण ब्यक्त गरे । उनले मर्जर पछी यस बैंकको १९१ वटा शाखा कार्यालय, चुक्ता पूंजी ९ अर्ब ४७ लाख, ९५ हजार ७ सय, जगेडा तथा कोषहरु ८ अर्व ३० करोड ५६ लाख ९९ हजार, कुल संपत्ती १ खर्ब ८२ अर्ब ८५ करोड ५७ लाख ४६ हजार, कुल निक्षेप १ खर्ब ५४ अर्व १७ करोड ६३ लाख ४२ हजार, कर्जा तथा सापट १ खर्ब, १५ अर्व ७३ करोड ९ लाख ८७ हजार र खुद नाफा ३ अर्व १२ करोड ६४ लाख ७९ हजार हुनेछ । दुबै संस्था एक आपसमा गाभिएपछि बैंक तथा वित्तीय संस्थाको संख्यामा कमी आई गुणात्मक बृद्धि हुने, बैंकको पूंजीकोष बृद्धि हुन गई बैंकले देशको वित्तीय क्षेत्र तथा समग्र अर्थतन्त्रलाई थप सकारात्मक योगदान दिंदै आगामी दिनमा सबल र सक्षम बैंक बन्ने, सम्पत्तिमा बृद्धि हुने, व्यवसायको आकार बढ्ने, ग्राहकबर्गलाई अझ विस्तारित रुपमा गुणस्तरिय र उत्कृष्ट सेवा प्रदान गर्ने, संचालन लागत घट्न जाने, नेपाल सरकारलाई प्रतिफल दिन सक्ने, वित्तीय पंहुचमा बृद्धि हुनुको साथै संस्थागत सुशासनमा अभिबृद्धि भई समग्र बैंकिङ्ग तथा वित्तीय प्रणालीको सम्बद्र्धन र सो प्रति सर्वसाधारणको विश्वसनीयतामा समेत अभिबृद्धि हुन जाने विश्वास लिएका छौं । सरकारका नीति तथा कार्यक्रम लागु गर्न थप सहयोग पुग्नुका साथै देशमा उत्पादनमुलक, रोजगारमुलक, सेवामुलक एवं भौतिक पूर्वाधारका क्षेत्रहरुमा समेत लगानी गर्न सबल र सक्षम वाणिज्य बैंकको रुपमा देशको समग्र आर्थिक सामाजिक विकास एवं वित्तीय प्रणालीमा सकारात्मक प्रभाव पार्दै नेतृत्वदायी भुमिका निर्वाह गर्न बैंक सफल भई सरकारको आर्थिक समृद्धि प्राप्त हुने कार्यमा सहयोग पुग्ने विश्वास लिएका छौं बताए ।
बि.सं. २०१६ साल असार १ गते देशको औद्योगिक विकासमा योगदान पुर्याउने उद्धेश्यका साथ विशेष ऐन अन्तर्गत स्थापित नेपाल औद्योगिक विकास निगम हाल एन.आई.डि.सी. डेभलपमेण्ट बैक लिमिटेड र देशको आर्थिक, सामाजिक क्षेत्रमा योगदान पुर्याउने उद्धेश्यका साथ बि.सं. २०२२ साल माघ १० गते राष्ट्रिय वाणिज्य बैंक ऐन, २०२१ अन्तर्गत स्थापित राष्ट्रिय वाणिज्य बैंक हाल बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम बैंकिङ्ग कारोबार गर्दै आईरहेका दुई अलग अलग सरकारी स्वामित्वका यी संस्थाहरुलाई एउटै बनाउने सम्बन्धमा नेपाल सरकारको मिति २०७३ माघ १४ गते एन.आई.डि.सी. डेभलपमेण्ट बैक लिमिटेडलाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा गाभ्ने निर्णय भएको थियो ।
कार्यक्रममा नेपाल सरकार अर्थ मन्त्रालयका सचिव श्री राजन खनाल, संचार सचिव एवं बैंकका संचालक समितिका नव नियुक्त अध्यक्ष महेन्द्रमान गुरुङ्ग, अर्थ मन्त्रालयका राजश्व सचिव शिशिर कुमार ढुङ्गाना, राष्ट्रिय वाणिज्य बैंक तथा एन.आई डि.सी. डेभलपमेन्ट बैंक संचालक समितिका सदस्यहरु, रावा बैंक कर्मचारी सघंका अध्यक्ष बेदबहादुर लावती, नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंकका अध्यक्ष गगनसिंह घिमिरे, नेपाल राष्ट्रिय कर्मचारी संघठन रावा बैंकका अध्यक्ष दिपेन्द्र काकी, रावा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे, नायव महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, केशबप्रसाद लम्साल, टेकराज जोशी, उद्धबप्रसाद खनाल, विभागिय प्रमुखहरु लगायत कर्मचारीहरुको भब्य उपस्थिती रहेको थियो । कार्यक्रम नायब महाप्रवन्धक उद्धब प्रसाद खनालले संचालन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया