नेपाल फर्किएनन् मुख्य प्रशिक्षक अलमुताइरी

काठमाडौं । साफ च्याम्पियनसिपको १३ औं संस्करणसम्म आइपुग्दा यसपालि नेपाल पहिलोपटक फाइनलमा पुगेको थियो । यसअघिका साफ च्याम्पियनसिपमा नेपालले सेमिफाइनलसम्मको यात्रामात्रै तय गर्न सकेको थियो ।

माल्दिभ्समा भएको च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भयो ।

साफ च्याम्पियनसिपमा यसपटक भने नेपालले निकै शानदार खेल खेल्दै यात्रा अघि बढाएको थियो । सुरुवाती दुई खेलमा नेपालले माल्दिभ्सलाई १–० र श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गर्दै शानदार खेल खेलेको थियो ।

तेस्रो खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो । नेपाली टोलीले राउन्ड रोविनको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेको थियो ।

साफ च्याम्पियनसिपको १३ औं संस्करणको उपविजेता बनेसँगै स्वदेश आइपुगेका नेपाली राष्ट्रिय फुटबल टिमको भव्य स्वागत गरिएको छ । ब्याण्ड बाजासहित एन्फा पदाधिकारी र फुटबल फ्यानहरुले उनीहरुको स्वागतमा उर्जा थपेका थिए ।

साफ च्याम्पियनसिपको उपविजेता बनेर नेपाली टोली स्वदेश फर्कीए पनि मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी भने नेपाल फर्किएनन् । अलमुताइरी माल्दिभ्सबाट कतार हुँदै कुवेत प्रस्थान गरेका छन् ।

बिगत ६ महिनादेखी राष्ट्रिय टोलीको प्रशिक्षणमा व्यस्त रहेका र नेपाललाई साफ च्याम्पियनसिपको फाइनलमा पहिलो पटक पुर्‍याएका प्रशिक्षक अलमुताइरी नेपाल नफर्किएपछि नेपाली फुटबल फ्यानहरुले निकै दुख व्यक्त गरेका छन् ।

प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिपको राउन्ड रोविनको अन्तिम खेलमा नेपाल नकर्फने बताएका थिए । यसो त प्रशिक्षक अलमुताइरीले गत साउन ११ गते राजीनामा गर्ने घोषण गरेका थिए । उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङको कारण आफूले राजीनामा दिनलागेको बताएका थिए ।

प्रशिक्षकबाट राजिनामा र एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङको कारण आफूले राजीनामा दिनलागेको बताएपछि नेपाली फुटबल जगतमा तरङ्ग फैलिएको थियो ।

अलमुताइरीले फाइनलपछि फ्यानहरुलाई निरन्तर साथ दिन आग्रह गर्दै स्वागतमा विमानस्थल आउन आग्रह गरेका थिए । “यो मेरो सबै नेपाली समर्थकका लागि विशेष आग्रह हो, जब राष्ट्रिय टोली नेपाल फर्कन्छ । सबै जना विमानस्थल आएर सम्मान गर्नुपर्छ ।”

अलमुताइरीले नेपालको बारेमा बताएका एक छोटो भिडियो क्ल्पि अहिले सामाजिक सञ्जालमा निकै चर्चामा रहेको छ ।

 

 

नेपाली फुटबल फ्यानहरुले सामाजिक सञ्जाल फेसबुकमा अहिले ‘ह्यासट्याग कमब्याक कोच’ भन्दै ट्रेन्ड चलाएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?