मेगा र टुरिजम बैंकले वैशाख ३० गतेबाट एकीकृत कारोबार सुरु गर्दै

काठमाडौं । वैशाख ३० गते देखि मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकले एकीकृत कारोबार गर्ने भएका छन् । एक आपसमा गाभिन सम्झौता गरेको झण्डै १६ महिनापछि दुबै बैंकले एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

दुई बैंकले ०७३ माघको पहिलो साता मर्जरमा जाने सम्झौता गरेका थिए ।

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले वैशाख ९ गते तथा कम्पनीले रजिष्ट्रारको कार्यालयबाट वैशाख १२ गते दुर्इ बैंकलाई एक आपसमा गाभिएर एकीकृत कारोबार सुरुवात गर्न अन्तिम स्वीकृती प्रदान गरेका थिए । अन्तिम स्वीकृती पश्चात एकीकृत कारोबारको मिति निर्धारण भएको हो ।

दुबै बैंक मर्ज भएपछि चुक्ता पुँजी बढेर ९ अर्ब ४७ करोड कायम हुने छ । मेगाको प्रति शेयर १०० रुपैयाँ बराबर टुरिजमको ९५ रुपैयाँ कायम गरेर मर्जर निर्णय भएको हो ।

एकीकृत कारोबार लागि वैशाख २८ गते दुबै बैंकद्वारा प्रदान गरिने अतिरिक्त बैंकिङ्ग सेवा तथा २९ गते प्रदान हुने सार्वजनिक बिदाको प्रदान हुने होलिडे काउण्टर सेवा बन्द हुने बैंकले जनाएको छ ।
दुबै बैंकको एटिएम सेवा समेत २८ गतेको नियमित कारोबार समयदेखि ३० गतेसम्म बन्द हुने बैंकले जनाएको छ ।

बैशाख ३० गतेबाट टुरिजम् बैंक मेगा बैंकको नामबाट सञ्चालन हुनेछ भने टुरिजम् बैंकका ग्राहकले आफुँसँग रहेको चेक तथा एटिएम कार्ड मेगासँग प्रतिस्थापन गर्नसक्नेछन् र प्रतिस्थापन नगरेसम्म साविकको चेक समेत स्वीकार गर्ने मेगा बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?