काठमाडौंको पुरानो बस्ती हाँडीगाउँमा सत्यनारायणको जात्रा मनाइएको छ । हरेक वर्ष कौलाथ्व पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदाका दिनदेखि यो जात्रा सुरु हुने गर्छ ।
उक्त जात्रामा रथको गजुर मुनि र फेद भने टुप्पोमा हुने भएकाले यस जात्रालाई कतै नभएको जात्रा हाँडीगाउँमा भनिएको हो । यस जात्रालाई नरनारायण जात्रा, चोकादे जात्रालगायत पनि भन्ने गरिन्छ ।
यस जात्रामा तीनवटा रथ हुन्छन्। ब्रम्हा, विष्णु र उमा महेश्वर गरी तीन देवताको प्रतीकको रुपमा उक्त तीन रथलाई पुज्ने गरिन्छ। रथको सबैभन्दा माथि सत्यनारायण भगवानको मूर्ति राखिएको हुन्छ। त्यसपछि तीनतले छाना हुन्छ र अन्तमा गजुर तलतिर फर्काएर राखिएको हुन्छ। रथको माथिल्लो भागलाई क्रमशः हिमाल, पृथ्वी र कछुवा अनि सबैभन्दा तलको भागलाई भगवान विष्णु भनी मानिँदै आएको छ । रथलाई विभिन्न टोलमा परिक्रमा गरिन्छ।
किंवदन्तीअनुसार प्राचीन समयमा भगवान विष्णु मानवको भेषमा हाँडीगाउँ घुम्न आउँदा प्रसव वेदनाले छट्पटिइरहेकी महिलालाई भेट्दछन् । त्यसपछि भगवान विष्णुले ‘तिमी भगवानको नाम लिऊ, तिमीलाई केहि सहज हुन्छ’ भन्दा ती महिलाले नमानेपछि विष्णु रिसाएर हिमालय पर्वततर्फ लागे ।
त्यसपछि १२ वर्षसम्म ती महिला प्रसव वेदनामै रहिन् । पछि विष्णु रिसाएको कुरा स्थानीय पुरोहितले थाहा पाएर हिमालय पर्वत गई भगवान विष्णुसमक्ष याचना गर्दै ‘हामी तपाईँको नामामा यो संसारमा कहिँ नभएको जात्रा गर्नेछौँ, मैनको फूल चढाउँछौँ’ भनेर पुकार गरेपछि ती महिलाको प्रसव वेदना कम भई बच्चा जन्माएको किंवदन्ती रही आएको छ । त्यसबेलादेखि हाँडीगाउँमा यो जात्रा चलिआएको किंवदन्ती पनि रहिआएको छ।
अहिले पनि रथमा चढाएको मैनको फूल गर्भवती महिलाले शिरमा लगाउँदा बच्चा जन्माउन सजिलो हुने विश्वास गरिन्छ।
तस्विरहरूः राजेश खाती
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया