बेलायतको स्थानीय चुनावमा सत्तारूढ र प्रतिपक्षी महत्वपूर्ण स्थानमा पराजित

लण्डन : बेलायतको स्थानीय निर्वाचनमा सत्तारूढ कन्जरभेटिभ र प्रतिपक्षी लेबरले महत्वपूर्ण काउन्सिलहरूमा पराजय व्यहोरेका छन् । बिहिबार इंग्ल्याण्डको १५० काउन्सिलअन्तर्गत ४ हजार ३ सय ७१ सिटमा प्रतिनिधी चुन्न भएको चुनावमा अप्रत्याशित नतिजा अाएको हो । 

हालसम्मको मत परिणामअनुसार प्रतिपक्षी लेबरले ५० सिट जितेको छ भने सत्तारूढ कन्जरभेटिभले ३० सिटमा विजय हासिल गरेको छ । सत्तारूढ वा प्रतिपक्षीले जित्ने अपेक्षा गरिएका ४ काउन्सिलमा तेस्रो पार्टी लिबरल डेमोक्रेटिकले जित हात पारेको छ । ग्रीन पार्टीले २१, यूकीपले २ र स्वतन्त्र उम्मेदवारले ६१ वटा सिटमा अाफ्नो प्रतिनिधित्व पक्का गरिरसकेका छन् । 

लेबर पार्टी प्रि-इलेक्सन अनुमानविपरित लण्डनकै धेरै स्थानमा हारेको छ । लण्डनका महत्वपूर्ण काउन्सिलका रूपमा हेरिने केन्जिङटन एण्ड चेल्सी, वान्डसवर्थ, वेष्टमिनिष्टरमा लेबरले कन्जरभेटिभलार्इ जित सुम्पिएको छ । लण्डन क्षेत्रका ३२ सिटमध्ये लेवरले ११ वटा, कन्जरभेटिभले ५ वटा र लिवरल डेमोक्रेटिकले २ वटा काउन्सिलमा जित हासिल गरेका छन् । ग्रीन पार्टीले पनि लण्डनमा ४ सिट जितेको छ । 

लेबरले प्लेमाउथ र ट्राफोर्डमा जित हासिल गर्दै सो क्षेत्रको ठूलो पार्टी बनेको छ । सो क्षेत्रबाट कन्जरभेटिभ १४ बर्षपछि लेबरसँग पराजित भर्इ बढारिएको हो । बेलायतमा हरेक ४ बर्षमा स्थानीय निर्वाचन हुनेगर्छ । 

लक्ष्य गुरूङ लण्डन बरो अफ बार्नेटको काउन्सिलर, अरू नेपालीले हारे
नेपाली मुलका लक्ष्य गुरूङले लण्डन बरो अफ बर्नेटको काउन्सिलर पदमा जीत हात पारेका छन् । हालसम्मको चुनावी परिणामअनुसार बेलायतको स्थानीय चुनावमा उम्मेदवारी दिएका लक्ष्यबाहेक अरू सवै नेपाली मुलका उम्मेदवारले पराजय व्यहोरेका छन् । 

हार्ट डिस्ट्रिक्ट काउन्सिलको ब्ल्याकवाटर एन्ड हवली वडाबाट उम्मेदवारी दिएकी लिला सेलिङ माबोले नमिठो पराजय व्यहोरेकी छिन् । यस्तै, इलिङ काउन्सिलको होबेइन वडामा कन्जरभेटिभ पार्टीका तर्फबाट उम्मेदवार रहेका सुरेन्द्र ढुंगानाले पनि चुनाव हारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?