विद्यालय शिक्षा आर्जन गर्ने ठाउँमात्र नभएर जीवनदर्शन प्राप्त गर्ने स्थान हो । अनि, सामाजिक संस्कारको औपचारिक थालनी पनि हुन्छ विद्यालयबाट । त्यसैले त शिक्षकलाई भगवानसरह मानिन्छ । यी शिक्षकले आफ्नो कार्यकक्षलाई बाख्राको खोरजस्तो राख्न सक्लान् ? के शिक्षक र विद्यार्थीहरु सँगसँगै झाडीमा दिसा पिसाव गर्न जालान् ? झापाको गौरीगञ्ज गाउँपालिका, वडा नं. ५ मा रहेको जनता आधारभूत विद्यालयमा पुग्दा यस्तै भेट्न पाइन्छ ।
१ सय १० जना विद्यार्थी रहेको विद्यालयमा ६ जना शिक्षक र कर्मचारी छन् । सबैका लागि सुरुमा दुईवटा चर्पी थिए । नियमित प्रयोग र मर्मतसम्भार नभएपछि चर्पीको प्रयोग हुन छोड्यो । अहिले शिक्षक, विद्यार्थी सबै नजिकैका बाँसघारीमा जान्छन् दिसा पिसाव गर्नका लागि । विद्यालयको चर्पी बन्द गरिएको छ । खोलेर हेर्दा प्यान फोहर र पातले बन्द भएको छ । सेप्टिक टंकीको ढक्कन फुटेको छ ।
शुक्रबार दिउँसो जाँदा प्रधानाध्यापक विद्यालयमा भेटिएनन् । सुरुमा शिक्षक स्वयम्भू राजवंशीले शिक्षक विद्यार्थीले एउटै चर्पी प्रयोग गर्ने बताए पनि कुराकानीकै क्रममा चर्पी प्रयोग हुन छोडेको स्वीकारे । “बाहिरबाट हेर्दा राम्रै देखिन्छ, तर दिसा पिसाव गर्न मिल्ने अवस्था छैन”, शिक्षक राजवंशीले भने, “चर्पी नै नभएपछि बाहिर जानुको विकल्प छैन ।”
देशैभरि विद्यार्थी भर्ना अभियान सञ्चालन भैरहँदा जनता आधारभूत विद्यालयमा भर्नाको रौनक देखिएन । कार्यालय कोठाभरि थोत्रा पुस्तक, कागजका टुक्रा र धुलोले भरिएको छ । “हाम्रो काम स्कूल सफा गरेर बस्ने होइन । पढाउने काम हो, हामीले पढाएकै छौं”, कुराकानीको क्रममा शिक्षक सकलदेव यादवले भने, “स्कूल सफा राख्ने, चर्पी बनाउने, चर्पीमा दिसा गर्न लगाउने सबै प्रधानाध्यापकको काम हो, उहाँलाई नै भन्नुहोस् ।”
विद्यालयमा भेटिएका निमित्त प्रधानाध्यापक रमेश न्यौपानेले गाउँपालिकामा चर्पीको मर्मतसम्भारका लागि अनुरोध गरिएको बताए । “यस वर्ष स्कूलको भौतिक विकासका लागि गाउँपालिकाले सहयोग गरेमा हामीले चर्पी पनि बनाउने सोंच बनाएका छौं”, निमित्त प्रधानाध्यापक न्यौपानेले भने ।
वडा नं. ५ का अध्यक्ष विजयसिं गनगाईले गाउँपालिकाले विद्यालयको भौतिक पूर्वाधारका लागि यस वर्ष ७५ हजार विनियोजन गरेको भए पनि यो चर्पीका लागि मात्र नभएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया