काठमाण्डौ । महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो नेपाली बजारमा सार्वजनिक गरेको छ। ट्रियो अटोको ‘सफ्ट टप’ भेरियन्ट मूल्य ८ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।
महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयू) संरचनाका माध्यमबाट नेपाल आउने गर्दछ। यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ। नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ। महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ। महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक रु. २ लाख (पेट्रोल अटोको तुलनामा) बचत गर्नसक्ने कम्पनीको दावी छ ।
शुभारम्भ कार्यक्रममा बोल्दै महिन्द्रा इलेक्ट्रिक मोबिलिटीका प्रमुख कार्यकारी अधिकृत सुमन मिश्रले भने ‘नेपालले वातावरणमैत्री साथसाथै दीर्घकालीन दिगोपनको एजेन्डा अपनाएको छ । सरकारले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्दै आएकाले यहाँ हाम्रो विद्युतीय थ्री व्हीलर सवारी साधनको शुभारम्भ गर्ने सही समय भएको छ ।’
ट्रियोले पेट्रोल अटोको तुलनामा ठूलो रकम बचत गरी सवारीधनीको जीविकामा सुधार ल्याउने उनले बताए । जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि ‘हाइड्रोलिक सक एब्जर्भर’ र पछाडि ‘लिफ स्प्रिङ’को प्रयोग गरिएको कम्पनीले जनाएको छ । यो सवारी साधनमा राम्रो रोक्ने शक्ति भएको हाइड्रोलिक ब्रेक पनि उपलब्ध गराइएको छ ।
पूर्ण रूपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज–एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाहरूको विस्तृत जानकारी प्रदान गर्ने कम्पनीको दावी छ । पेट्रोल अटोसँग तुलना गर्दा प्रतिकिमि ०.८ रुपैयाँभन्दा कमको सञ्चालन लागत पर्ने महिन्द्राले जनाएको छ । फूल चार्ज गर्दा आठ युनिट लाग्ने र प्रति युनिट १२ किमिका दरले फूल चार्जमा १२० किमी गुड्ने कम्पनीको दावी छ ।
घरमै १५ एम्पियर सकेटमा जोडेर सजिलै चार्ज गर्न सकिने ट्रियो इलेक्ट्रिकले ८ किलोवाटको ऊर्जा शक्ति र ४२ एनएमको टर्क उत्सर्जन गर्नुका साथै प्रतिघण्टा ५५ किलोमिटर (केएमपीएच) सम्मको स्पीड दिने कम्पनीको दाबि छ। कम्पनीका अनुसार ट्रियो इलेक्ट्रिकमा तीन वर्ष वा ८० हजार किमी वारेन्टी दिइने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया