काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे नियुक्त भएका छन् । पाण्डे समाजवादीका उपाध्यक्ष समेत हुन् ।
नेकपा एमालेमा आन्तरिक कलह चर्किएपछि गत भदौ २ मा डोरमणि पौडेललाई राजीनामा दिन लगाएर अष्टलक्ष्मी शाक्यलाई एमालेले मुख्यमन्त्री बनाएको थियो । सुरुमा माधवकुमार नेपाललाई साथ दिँदै आएकी शाक्यले अन्तिममा नेपाललाई छोडेर एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेपछि मुख्यमन्त्री बनेकी थिइन् । तर भदौ ९ मा एमाले औपचारिक रुपमा विभाजित भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएदेखि मुख्यमन्त्री बनेकी शाक्यको पद धरापमा परेको थियो ।
बागमती प्रदेशसभामा एमाले विभाजन नहुँदा ५६ जना प्रदेशसभा सदस्य रहेका थिए । तर विभाजनपछि १३ जना नेपालपक्षमा लागे । जसका कारण उनी अल्पमतमा परेकी थिइन् । उनले बुधबार प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेकी थिइन् ।
सुरुदेखि माधव नेपालको पक्षमा रहेका पाण्डेले भने एमाले विभाजन हुँदा पनि नेपाललाई साथ दिए । एमाले अध्यक्ष ओली पार्टीको नीतिविपरीत चलेको भन्दै उनले ओलीलाई साथ नदिएका हुन् ।
को हुन् मुख्यमन्त्री पाण्डे ?
राजेन्द्र पाण्डे विद्यार्थी आन्दोलनसँगै नेकपा एमालेको राजनीतिबाट उदाएका नेता हुन् । एमालेमा आन्तरिक कलह चर्किँदा उनी माधव नेपालको पक्षमा लागेका थिए ।
एमाले विभाजन हुँदा पनि उनले नेपालको साथ छोडेनन् । नेपाललाई साथ दिन उनी अग्रपंक्तिमा लागिरहे ।
नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीमा उनी उपाध्यक्ष छन् भने सो पार्टीको बागमती प्रदेशसभामा संसदीय दलका नेता पनि हुन् पाण्डे ।
२०७४ को निर्वाचनमा उनी धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ ‘क’ बाट बागमती प्रदेशसभामा विजयी भएका हुन् । पाण्डेको जन्म २०१३ जेठ २९ मा धादिङको गजुरी गाउँपालिकामा भएको थियो । उनले ग्रामीण विकासमा स्नातकोत्तर पास गरेका छन् ।
२०३१ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका पाण्डे नेकपा मालेको सहसचिव हुुँदै २०४३ मा जिल्ला पञ्चायत सभापति समेत भएका थिए ।
उनी २०५० सालमा एमालेको बागमती अञ्चल सचिव, २०५५ मा केन्द्रीय सदस्य भएका थिए । एमाले विभाजन हुनुअघि उनी सो पार्टीको पोलिटब्यूरो सदस्य तथा निर्वाचन विभाग प्रमुखको जिम्मेवारीमा थिए ।
२०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा प्रतिनिधिसभामा विजयी भएका पाण्डे संघीय मामिला तथा स्थानीय विकास मन्त्री समेत भएका थिए ।
प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलको सञ्चालक संस्था नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडका अध्यक्ष समेत रहेका पाण्डे चिकित्सा शिक्षामा सुधारको माग गर्दै आएका डा. गोबिन्द केसीको विरोधीका रुपमा समेत चिनिन्छन् ।
नेपाली कांग्रेससहितको चारदलीय गठबन्धनबाट पाण्डे मुख्यमन्त्री बनेका हुन् । कांग्रेस र समाजवादीबीच प्रदेशसभाको बाँकी कार्यकाल अर्थात् आगामी निर्वाचनसम्म आधा–आधा समय मुख्यमन्त्री चलाउने सहमति भएको बताइएको छ । २०७४ मा प्रदेशसभाको निर्वाचन भएको थियो । त्यसको आधारमा अर्काे वर्ष निर्वाचन हुनुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया