आदरणीय कूर्सीहरू !

दिन दहाडै यहाँ किन मेटिन्छन् मुस्कानका रेखीहरु ?
र दिन दहाडै यहाँ किन संक्रमित हुन्छ त्यसमाथि एउटा उजाडपना ?
कसले इडिट गर्छ त्यो उमंगित मुहारको घरि घरि 
यो जिन्दगीको क्याफेभित्र 
यति कुरूप हुने गरि अनुहारको खाका !

दिन दहाडै गलित हुन्छन् ताकतहरु 
दिन दहाडै चोरी हुन्छन् ओठका मुस्कानहरु
अनि यो जिन्दगीको दिवारभित्र 
दिन दहाडै भक्कानो फुटाएर बिलाप गर्न बाध्य हुन्छन्
ती अभागि खुशीहरु !

यहाँ श्रमहरु चोरी हुन्छन्
यहाँ सपनाहरु खोसिन्छन्
र विपनाहरु चिथरिएर बेकामका हुन्छन्
हेरन ,
पाएको एउटा जूनी पनि यहाँ
छट्पटाएर मर्न विवश छ !

आदरणीय कूर्सीहरू !
आदरणीय सोफाहरू !
समादरणीय पिर्का तथा चकटीहरू !
किन चुपचाप छाै यो घडिमा ,
किन मूर्दाशान्ति छाएको छ 
यस लोकमा 
भन त !
कुनै बेला
चिच्याएर भाषण गर्ने तिम्रा ओठहरुमा 
कस्ले झुण्ड्याइदियो यतिबेला 
ठूला ठूला भोटे ताल्चाहरू !

अनुहारका खुशीहरु एकाएक गायब भए पछि
ओठका मुस्कानहरुले देहत्याग गरेपछि
यहाँ विरक्तिएर रूँदै गरेका छन् 
हेरन , 
थकित आँखाका अभागि इन्द्रेणीहरू !

किन बहिरो भएका छाै
किन मूकदर्शक भएका छाै ?
हिजोका दिनमा सुराकी गर्न लालायित हुने 
र तुरुन्त एक कान मैदान हुने
यो अभागि जिन्दगीका चार दिवार भित्रका
ए , आदरणीय भित्ताहरू !
भन ! 
कस्ले थुनेको छ 
तिम्रा कानहरुमा षड्यन्त्रको टालो !?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?