काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनपछि नेकपा एमाले पत्तासाफ हुने बताएका छन् ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एमाले पत्तासाफ हुने भन्दै उनले भने, “पाँच दलीय गठवन्धन कायम राखेर निर्वाचनमा जान्छौं ,एमाले र केपी ओलीलाई पत्तासाफ बनाउछौं ।” उनले आगामी निर्वाचनबाट कांग्रेस पहिलो, एस दोश्रो र माओवादी तेश्रो पार्टी बन्ने भविष्यवाणी गरेका हुन् ।
निष्ठा, धैर्यता, दूरदर्शिता, इमान्दारिता, सहनशीलता नभएकाहरू एमालेमा फर्किएको उल्लेख गर्दै उनले भने, ‘केपीका भक्तहरु अघि बढ्न सक्लान्, अरुको अवस्था बेहाल हुने निश्चित छ।’ सर्वोच्च अदालतको विवादका सम्बन्धमा अध्यक्ष नेपालले अदालतको विवाद केपी ओलीका कारण सृजना भएको आरोप लगाए ।
केपी ओलीको काम नै सिस्टम भत्काउने र ओली सिस्टम लगाउने भएको भन्दै नेपालले ओपीले न्यायाधीश, पत्रकार सबैको हुर्मत लिने काम गरेको आरोप लगाए । अध्यक्ष नेपालले निर्वाचनहरु नजिकिंदै गएकाले पार्टी काममा सक्रियतापूर्वक लाग्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
नेपालले प्रधानन्याधीशलाई महाअभियोग लगाउने कुरा गलत प्रचार भएको बताएका छन् । उनले यस विषयमा गठबन्धन बीच कुनै छलफल नभएको बताए । ओलीले आफूबाहेक अरुलाई आफ्नो भन्ने प्रवृत्ति नरहेकाले एमालेमा पनि विचलन हुने उनको भनाइ थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया