काठमाडौंको ‘दम्भ’ ले मोफसलका कलाकारलाई सकस

काठमाडौं । पोखरामा बस्दै आएका प्रकट पंगेनी ‘शिव’ लाई धेरैले गजलकारका रुपमा चिन्छन् । नजिकबाट चिनेका उनका प्रशंसकलाई उनी नाटक गर्छन् भन्ने थाहा थिएन । लामो समयपछि उनी पोखरामै मञ्चन हुन लागेको नाटक ‘बितेका पल’ मार्फत अभिनयमा फर्कन लागेका छन् । अभिनयबाहेक उनको अर्को पेशा जागिरे हो । पोखराकै एक निजी विद्यालयमा उनको जागिर छ । नाटक गरेर जीवन धान्ने अवस्था नहनु र पैसा कमाउन अरु पेशा गर्नुपर्ने भएपछि उनी ३२ वर्षअघि अभिनय क्षेत्रबाट साइड लागेका थिए ।

काठमाडौंमा खुलेका थिएटर, काठमाडौंमै घोषणा भएर निर्माण गरिने कैयन् फिल्मले नेपाली चलचित्र र अभिनयको बजार निर्धारण गरेको हुन्छ । तर, मोफसलमा रहेर कलाकर्म गर्ने कलाकारको दैनिकी काठमाडौंलाई केन्द्र बनाएर संघर्ष गरिरहेका कलाकारको भन्दा फरक हुन्छ । यद्यपि, औंलामा गन्न सकिने केही कलाकारले मोफसलमै बसेर पनि आफूलाई स्थापित बनाएका छन् ।

कलाकारिता हुँदै साहित्यमा छिरेका अभिनेता प्रकट पंगेनी पहिलेदेखि नै कलाकारितामा रुचि भएपनि पोखरामा अवसर नहुँदा लामो समय कला क्षेत्रमा फर्कन नपाएको बताउँछन् । ‘तुलनात्मक रुपमा मोफसलमा काम पाउन गाह्रो छ, अभिनय गरेरै जीवन धान्ने अवस्था बनिसकेको छैन’, उनी भन्छन्, ‘बरु अहिले पोखरामै थिएटर हल छ, मन लागेको बेलामा अभिनय गर्ने मेसो मिल्छ ।’

पुरानो डुंगा, कबड्डी कबड्डी लगायतका दर्जनौं फिल्ममा अभिनय गरेका अभिनेता तथा गुरुङ फिल्मका निर्देशक माओत्से गुरुङ भर्खरै दीपेन्द्र के. खनालले निर्देशन गरेको चलचित्र ‘चंगा चेट’ मा अभिनय गरेर केही दिनको फ्री छन् । गुरुङ फिल्ममा पनि उत्तिकै सक्रिय माओत्से मोफसलमा बसेर फिल्मकर्म गर्नेमध्येका व्यस्त कलाकार हुन् । काठमाडौं नाटक र फिल्मको केन्द्रका रुपमा विकास भएकाले स्वभाविक रुपमा मोफसलमा केही गाह्रो भएपनि मोफसलका कलाकारले आफूलाई अपडेट गर्दै लैजानुपर्ने तर्क राख्छन् ।

‘चिया गफमा पनि धेरै उठ्ने विषय हो यो विषय, तर म के भन्छु भने हामी आफैले पनि आफूलाई परिमार्जित गर्दै लैजानुपर्छ, आफ्नो ज्ञानको दायरा बढाउँदै लैजानुपर्छ’, गुरुङ अगाडि थप्छन्, ‘हामीले स्थानीय स्तरमै रहेर पनि काम गर्न सक्छौं, म आफै पनि केही फिल्मका लागि मात्र काठमाडौं गएको छु, अरु फिल्म पोखरामै बसेर गरिरहेको छु ।’

जहाँ अभिनय गरेपनि अभिनय नै हो तर सोचको हिसाबले काठमाडौंकेन्द्री कलाकारले आफूले राम्रो अभिनय गर्छु भन्ने सोच्छन् ।

त्यसो त काठमाडौंमै रहेर अभिनयमा होमिएका कलाकारले आफ्नो कला प्रस्तुत गर्ने मौका पाएका छन् । काठमाडौंको क्रेज, यहाँ भएका आधा दर्जन थिएटर, सिनेमा हलका कारण केन्द्रमा काठमाडौंकै कलाकारलाई अगाडि ल्याइन्छ । माओत्से गुरुङ मोफसलमा पनि माहोल सिर्जना गर्न सकिने धारणा राख्छन् । ‘काठमाडौंमा बसेर अभिनय गरिरहेका कलाकार पनि त्यतिकै चर्चामा पुग्नुभएको होइन, चर्चाका लागि उहाँहरुले आफ्नो पूरै जीवन दिनुभएको छ ।’, उनी भन्छन् ।

भनिन्छ, कलाको कुनै भाषा हुँदैन । परिवेशका आधारमा सिर्जना जन्मिन्छ भन्ने नहुन पनि सक्छ । तर, काठमाडौंले छुट्याएको मोफसलले देशका अन्य शहरका कलाकारको मनोविज्ञानलाई नै प्रभाव पारेको रंगकर्मी रमेश रञ्जन झा बताउँछन् । मोफसलबाट आएको कलाकारले पनि काठमाडौंमा आइसकेपछि मोफसललाई हेर्ने दृष्टिकोण धेरैले फेरेको उनी बताउँछन् । ‘हामीले केन्द्र भन्दै आइरहेको काठमाडौंमा पेशा गरिरहेका कलाकारलाई त भविष्यप्रति गाह्रो छ भने मोफसलका कलाकारको अवस्था अझै चिन्ताजनक छ, मोफसलमा मात्र नभएर काठमाडौंमै पनि यो यात्रा कठिन यात्रा हो’, झा भन्छन्, ‘जहाँ अभिनय गरेपनि अभिनय नै हो तर सोचको हिसाबले काठमाडौंकेन्द्री कलाकारले आफूले राम्रो अभिनय गर्छु भन्ने सोच्छन् ।’

काठमाडौंले कलाको बजारलाई यसरी च्यापेर राखेको छ कि, मोफसलका कलाकारलाई केन्द्रीय स्तरका कलाकार बन्न धौ धौ हुन्छ । अझ अर्को कुरा त मोफसलमा अभिनय सिकाउने स्कूल अझै पुग्न सकेका छैनन् । अर्कातिर मोफसलका गतिविधिले पनि काठमाडौंका तुलनामा खासै अगाडि पर्दैनन् । रमेश रञ्जन झाले काठमाडौंका कलाकारमा ‘दम्भ’ भएको बताउँछन् । ‘काठमाडौंको मनोविज्ञान के छ हामी केन्द्र हौं भन्ने छ, तर यही काठमाडौंमा धेरै मोफसलमै आएका छन्, उनीहरुले पनि केही समयपछि मोफसल भुलिदिन्छन्’, उनी अगाडि थप्छन्, ‘मोफसलमा काम गर्न कठिन नै छ, साधनको पनि समस्या छ, काठमाडौंको मनोविज्ञानले पनि असर पारेको छ ।’

यद्यपि केही वर्ष यताको समय हेर्दास्थानीय भाषाका फिल्म निर्माण हुने क्रम बढ्दो छ । यही क्षेत्रमा काम गर्छु भनेर लागिपरेका कलाकार स्थानीय स्तरमै कला क्षेत्रमा केही गर्छु भन्दै जुर्मराएका छन् । स्थानीय स्तरमै विभिन्न छलफल र गोष्ठी हुन थालेका छन् । यसले मोफसलले पनि आफ्नै पहिचान बनाउन सहयोग गर्ने कतिपयको धारणा छ । 

सोचको हिसाबले मोफसलमा काम गर्न केही गाह्रो जस्तो देखिए पनि स्थानीय तहमा पनि कलाकार भने जन्मिरहेका छन् । माओत्से गुरुङ भन्छन्, ‘म आफै पनि फिल्म बनाउँदा यहीँका स्थानीय कलाकारलाई मौका दिएको हुन्छु, बृहद रुपमा एकैपटक ठूलो परिवर्तन गर्न नसकेपनि हामीले मोफसललाई चिनाउने कोशिश गरेकै हुन्छौं ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?