काठमाडौं- शैक्षिक सत्र २0७९ बाट कक्षा ४, ५ र ९ को नयाँ पाठ्यक्रम लागू हुने भएको छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बिहीबार बसेको ८९ औं बैठकले हाल परीक्षण भइरहेका पाठ्यक्रमहरु कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
कक्षा ४, ५ र ९ का पाठ्यक्रम देशका २८ वटा विद्यालयमा परीक्षण भइरहेको छ । बैठकले प्राविधिक शिक्षातर्फ कक्षा ११ देखि १२ सम्मका नयाँ पाठ्यक्रम स्वीकृत गरेको छ । बैठकले नेपालको संविधानमा मातृभाषाको व्यवस्था गरेअनुरुप थप अन्य मातृभाषाको पाठ्यक्रम पनि बन्न सक्ने र ऐच्छिक विषयको रुपमा पठनपाठन हुनसक्ने गरी व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ।
नेपाल भाषा, मैथिली, भोजपुरी र अवधि गरी चार भाषामा अनिवार्य तथा ऐच्छिक विषयको पाठ्यक्रम बनिसकेको केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले जानकारी दिए । बैठकले जापानी, कोरियन, चिनियाँ लगायतका विदेशी भाषाको पाठ्यक्रम पनि स्वीकृत गरेको केन्द्रले जनाएको छ ।
केही मातृभाषा र धार्मिक प्रवृत्तिका विषय र भाषाको नयाँ पाठ्यक्रम स्वीकृत भएको छ । जसमा गुरुकूल, मदरसा, बुद्धिष्ट विद्यालय (विहार)सँग सम्बन्धित पाठ्यक्रम छन् । ६ विषयको केन्द्रले पाठ्क्रम बनाइरहेको छ भने मातृभाषा या स्थानीय भाषाको विषय भने स्थानीय तहले बनाउने बताइएको छ । छ विषयहरु गणित, नेपाली, अंग्रेजी, स्वास्थ्य शारीरिक शिक्षा तथा सिर्जनात्मक कला, सामाजिक र विज्ञान तथा प्रविधि विषय रहेका छन्।
बालबालिकाले आधारभूत तहसम्म आफ्नो मातृभाषामा पढ्न पाउने व्यवस्थालाई नेपालको संविधान २०७२, शिक्षा ऐन तथा नियमावली, राष्ट्रिय पाठ्यक्रम प्रारूप २०६५, त्रिवर्षीय अन्तरिम योजना (२०६४–२०६७) स्थापित गरेको छ । ०६८ को जनगणनाअनुसार नेपालमा १२३ ओटा भाषा बोलिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया