मनै लोभ्याउने गोसाइँकुण्ड (फोटोफिचर)

गोसाइँकुण्ड यात्रा

४३८० मिटर उचाइमा रहेको कञ्चन गोसाइँकुण्डलाई घामका किरणहरुले स्पर्श गर्दा जुन दृश्य देखिन्छ त्यसले हरकोहीलाई पुलकित बनाउँछ ।

तीनतिरबाट अग्ला–अग्ला पहाडले घेरिएर बीचमा अवस्थित शान्त गोसाइँकुण्ड हेर्दा साँच्चै हामीले कल्पना गरेको भन्दा सुन्दर स्वर्गको आभास हुन्छ ।

नेपालको तीर्थस्थलहरुमध्ये एक महत्वपूर्ण तीर्थस्थल हो गोसाइँकुण्ड । रसुवा जिल्लामा रहेको गोसाइँकुण्डमा १०८ कुण्ड छन् ।

प्राकृतिक सुन्दरताले भरिएको गोसाइँकुण्डको धार्मिक महत्व अझ धेरै छ ।

सारा विश्वभर कालकुट विष फैलिने भएपछि भगवान् शिवले त्यो कालकुट विष खाएको र विष खाएपछि धेरै नै डाहा हुन थालेपछि रसुवाको गोसाइँकुण्डमा आई आफ्नो त्रिशुलले हानेर पानी निकाली आफू त्यही कुण्डमा सुतेर कालकुट विषको डाहा भुलाएको धार्मिक विश्वास रहेको छ ।

कुण्डको बीचमा शिव भगवान् सुतेको देखिने पनि विश्वास रहिआएको छ । तालको बीचमा शिवलिंग पनि रहेको छ, जुन ताल नजमेको बेला भने स्पस्ट देख्न सकिन्छ ।

निकै मनोरम प्राकृतिक दृश्यहरुको साथमा अर्कै संसार पुगझैँ आभास दिने गोसाइँकुण्डको यात्रा रसुवाको धुन्चेबाट सुरु हुन्छ ।

कहिले खोलाको किनारै किनार कहिले जंगलको बाटो त कहिले हाँसिरहेको हिमालसँगै भलाकुसारी गर्दै पुग्न सकिन्छ गोसाइँकुण्ड ।

धुन्चेबाट गोसाइँकुण्डसम्म पुग्दा देउराली, डिम्सा, चन्दनबारी, लौरीबिनायक हुँदै गइन्छ । धेरै पहाडहरुसँग लुकामारी खेल्दै, काठका पुल, खोलानाला उकालो, सम्मबाटो र लौरीबिनायकको ठाडो उकालो उक्लेपछि सुन्दर गोसाइँकुण्ड पुगिन्छ ।

हेर्नुहोस् गोसाइँकुण्डका मनोरम दृश्यहरु : 

 

गोसाइँकुण्डको बीचमा रहेको शिवलिङ्ग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?